रुकुम पश्चिममा पीसीआर परीक्षण सुरु

 असार १८, २०७७ बिहिबार १५:४१:१५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा पहिलो पटक कोराना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकाले वडा नम्बर २ को जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएकाे हाे । 

जनताको स्वास्थ्यलाई प्राथमिक महत्त्व दिएर स्थानीयस्तरमै प्रयोगशाला मेसिन सञ्चालन गरिएको प्रदेश सांसद गोपाल शर्माले बताउनुभयो । सांसद शर्माका अनुसार, अब स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नुपर्ने र शङ्काकैबीच जनता त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । 

बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनुभयो ।

केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै पालिकाको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्रमुख शर्माले जनाउनुभयो । कोरोना सङ्क्रमण भए/नभएको पत्ता लगाउन सङ्कलन गरिएको स्वाब सुर्खेत, जुम्लालगायतमा रहेको प्रयोगशालामा पठाउँदा धेरै दिन कुर्नुपर्ने बाध्यता हटाउन चौरजहारीमै प्रयोगशाला स्थापना गरिएको नगरप्रमुख शर्माले भनाइ छ । 

पहिलो पटक पीसीआर विधिबाट गरिएको परीक्षणमा स्थानीय डण्डप्रसाद शर्मा, राजेन्द्र शर्मा, निरज शर्मा र निरञ्जन सत्यालको रिपोर्ट नेगेटिभ आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी जानकारी दिनुभयो । 

अधिकृत केसीले चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशालाको सफल परीक्षणका भएको र अब यहीँबाट परीक्षण भइ र रिपोर्ट छिटो आउने बताउनुभयो । मेसिन खरिद र प्रयोगशाला सञ्चालनका लागि पूर्वमन्त्री तथा सङ्घीय सांसद जनार्दन शर्मा, प्रदेश सांसद गोपाल शर्माले विशेष पहल गर्नुभएको चौरजहारी नगरपालिकाले जनाएको छ । 

मेसिन जडान र परीक्षणको काममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निरेश थापा, निर्देशक धर्मराज गोसाईँ र प्रयोगशाला प्रमुख विवेक पुनलगायतको टिमले महत्वपूर्ण सहयोग गरेको नगरपालिकाले उल्लेख गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया