मोटरसाइकल किन्ने सुवर्ण अवसर, कुन कम्पनीका कस्ता छन् अफर ?

 असार २०, २०७७ शनिबार १२:३४:३७ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउन खुकुलो बनाएपछि जोर/बिजोर प्रणाली लागू गर्दै निजी सवारी साधन चलाउन छुट दिइरहेको छ । बजार पसल, सरकारी तथा निजी कार्यालय, विभिन्न व्यवसाय खुलेका छन् । तर निजी सवारी साधन आफूसँग नहुनेका लागि भने कामका लागि आउजाउ गर्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले मोटरसाइकल किन्न चाहने ग्राहकलाई विभिन्न छुटको व्यवस्था गरेका छन् ।

टीभीएस 


टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ नगद छुट दिएको छ । यससँगै शून्य फाइनान्समा मोटरसाइकल र स्कुटर किन्ने अफर पनि ल्याएको छ । ग्राहकले अहिले डाउनपेमेन्ट मात्र तिरेर टीभीएसका मोटरसाइकल र स्कुटर लान सक्छन् । किस्ता भुक्तानीको तालिका भने ६ महिनापछिबाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना अनुसार किस्ता तिर्ने तालिका सुरु नहुन्जेलसम्म ग्राहकले मासिक ९९ रुपैयाँ मात्र तिरे हुने कम्पनीले बताएको छ । 

बजाज

बजाज मोटरसाइकलको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले खरिदकर्ताकाे लागि फाइनान्समा तीन प्रकारको योजना ल्याएको छ ।

योजना अनुसार ग्राहकले बजाजका मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट, २० प्रतिशत डाउनपेमेन्ट र ५० प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल किन्न सक्छन् । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउनपेमेन्ट गरेर बजाजको बाइक किन्न सक्छन् ।  

होण्डा 


नेपालका लागि होण्डा कम्पनीका मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले एक रुपैयाँको डाउनपेमेन्टमा बाइक किन्न सक्ने जनाएको छ । कम्पनीका अनुसार ग्राहकले एक प्रतिशत ब्याजदरमा होण्डा मोटरसाइकल किन्न सक्छन् ।

होण्डाकाे लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई नयाँ कर्जा सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले कागजपत्र पूरा गरी कर्जा आवेदन दिएको २९ मिनेटमा नै कर्जा स्वीकृत गर्ने गरी नयाँ कर्जा योजना ल्याएको हो ।

होण्डाका मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई स्याकार फाइनान्सले कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यसरी कर्जा लिन चाहने ग्राहकलाई ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा नै कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले ४० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गर्नुपर्नेछ भने बाँकी रकमलाई कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । अहिले होण्डाले नेपाली बजारमा होण्डा सीडी १००, सीबी साइन, युनिकर्न, एक्सब्लेड, हर्नेट, सीबीआरका विभिन्न सिरिज, स्कुटरमा डियो, एभिएटर, ग्राजिया र एक्टीभाजस्ता मोडल बिक्री गर्दै आएको छ । यसका अलावा होण्डाका विभिन्न पर्फमेन्स बाइकसमेत बिक्री गर्दै आएको छ ।  

यामाहा

यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता मोरङ अटोवर्क्स (एमएडब्ल्यू) इन्टरप्राइजेजले यस कम्पनीको मोटरसाइकल किन्दा फाइनान्सतर्फ विशेष सुविधा दिइरहेको छ । शून्य ब्याजदरमा शून्य प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल किन्न सकिने व्यवस्था गरेको छ । यस्तै ग्राहकले यामाहाको मोटरसाइकल किन्दा १० हजार रुपैयाँको नगद छुट पाउन सक्छन् । कम्पनीले देशभर आफ्ना आधिकारिक शो रुममा एक्सचेन्ज अफर पनि दिइरहेको छ ।  

बीएमडब्ल्यू बाइक

नेपालका लागि बीएमडब्ल्यू बाइकको आधिकारिक वितरक टर्क मोटर्सले आफ्ना काठमाण्डाै, बुटवल, चितवन, पोखरा र बिर्तामोड शो रुमबाट ६५ हजार रुपैयाँ बराबरको छुट दिइरहेको छ । कम्पनीले ‘अनलक योर लकडाउन अफर’ कार्यक्रम अन्तर्गत यो छुटको व्यवस्था गरेको हो ।

यो कार्यक्रम अन्तर्गत दुई वटा योजना छन् । एउटा बीएमडब्ल्यू एड्भेन्चर प्याकेज, बीएमडब्ल्यू र अल्पाइनस्टारको आधिकारिक ज्याकेट, ट्राउजर, ग्लोब्स तथा बीएमडब्ल्यू मोटराडका एसेसरिज पाइने हो भने अर्को एजीभी हेल्मेट, फुल इन्स्योरेन्स र तीन वर्षसम्मको अनलिमिटेड किलोमिटर अर्थात् सर्भिसिङ उपलब्ध गराइने छ । कम्पनीको मोटरसाइकल किन्नेका लागि सहज फाइनान्स र एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।  

भेस्पा र अप्रिलियाका स्कुटर  

नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगर्ड ब्रदर एण्ड सन्स प्रालीले भेस्पा र अप्रिलियामा पाँच हजार रुपैयाँ नगद छुट दिइरहेको जनाएको छ । साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता उपलब्ध गराउने जनाएको छ ।

साथै दुई वर्षको सडक दस्तुर पनि कम्पनीले नै तिरिदिने अफर गरेको छ । कम्पनीले ल्याएको यो योजनामा सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने छ भने ग्राहकले घरमै बसेर स्कुटर अनलाइन बुकिङ गर्न सक्छन् ।   

२५० सीसीको डर्ट मोटरसाइकलमा ५० हजार रुपैयाँ नगद छुट

कायो डर्ट मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक शुवानी इन्टरनेशनलले नयाँ अफर ल्याएको छ । कम्पनीले डर्ट मोटरसाइकल के ६ मा नगद छुट स्किम सार्वजनिक गरेको हो । कम्पनीले कायो के ६ किन्ने ग्राहकलाई ५० हजार रुपैयाँ नगद छुटको स्किम ल्याएको हो । नेपाली बजारमा ६ लाख ५० हजार रुपैयाँ तोकिएको यो मोटरसाइकलमा नगद ५० हजार रुपैयाँ छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी ग्राहकमध्ये एक जनाले लक्की ड्रमार्फत एक लाख रुपैयाँसम्म क्यास ब्याक जित्न सक्नेछन् ।

सुजुकी  

नेपालका लागि सुजुकीको मोटरसाइकलकाे आधिकारिक डिलर विशाल ग्रुप भिजी सुजुकीले नगद वा एक्सचेन्ज डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १५ हजार रुपैयाँसम्म नगद छुट दिने व्यवस्था गरेको छ । कम्पनीले आवश्यकताअनुसार ग्राहकलाई होम डेलिभरीको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Saroj Kumar yadav

    July 18, 2020, 9:13 a.m.

    मलाई टिभिएस या बजाजको बाइक चाहिन्छ , फोन हो 9845001319

  •  0 Reply

तपाईको प्रतिक्रिया