लकडाउनकाे प्रभाव : टोलटोलमा शिक्षक

 असार २२, २०७७ सोमबार २१:११:० | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको एक विद्यालयले बारअनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । 

लकडाउनकाे अवस्थामा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन बाग्लुङ नगरपालिका १४ नारायणस्थानमा रहेको जनता धन माविले शिक्षक परिचालन गर्न लागेको हो । सेवा क्षेत्रभित्रका पाँच वटा टोलमा शिक्षकलाई पठाएर विद्यालयले पठनपाठनमा सहजीकरण गर्ने जनाएको छ । 

तत्काल शिक्षक टोलटोलमै पुग्नुबाहेक विकल्प नरहेकाले बारअनुसार टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताउनुभयो । विद्यालयलाई सिकाइ केन्द्र कायम गरेर शिक्षकका पाँच वटा समूह बनाएर काममा लगाइएको हो । 

विद्यार्थीलाई शिक्षक टोलमा आउने विषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ । सम्बन्धित टोलको जिम्मेवारी पाएका शिक्षकले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाइ सहयोग गर्ने वातावरण मिलाइएको उहाँले बताउनुभयो । 

विद्यालयको निर्णयअनुसार कैया टोलमा आइतबार, सारंगीमा सोमबार शिक्षक पुग्ने छन् । मङ्गलबार शिक्षकको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिका विषयमा समीक्षा गर्ने विद्यालयले जनाएको छ । बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठूलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन् भने बिहीबार गार्लुङ र शुक्रबारका लागि नमुना गाउँ, केटीचौर टोल छुट्याइएको छ । 

टोलमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको समूह ठूलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीलाई भेट्ने, उनीहरुलाई पाठ्यक्रम अनुसारका शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका काम तोकिएको छ ।

सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन विद्यालयले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया