किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन जना पक्राउ

 असार २२, २०७७ सोमबार २१:३३:१३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - किर्ते गरेको आरोपमा प्रहरीले दुई जना वडा सचिवसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १ का वडा सचिव ५५ वर्षीय धनबहादुर केसी, १३ का वडा कार्यालयका तत्कालीन सचिव ५४ वर्षीय लिलाजित नेपाली र त्यही वडाका ४९ वर्षीय हुकुमबहादुर जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जबर्जस्ती करणी घटनाका पीडित पक्षका एक किशोरीको जन्ममितिमा किर्ते गरी सच्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । 

जबर्जस्ती करणी मुद्दाका अभियुक्त मणिकुमार पुनलाई बढी सजाय गराउने मनसायले पीडित किशोरीको जन्ममिति २०५९/१०/१२ भएकोमा दुई वर्ष उमेर घटाइ २०६१/१०/१२ बनाएको पाइएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) शीर्षकमा मुद्दा दर्ता गरी, जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

पीडित पक्षले किशोरीको उमेर घटाएको भन्दै पीडक पक्षले अदालतमा उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया