मन्त्रीको हटलाइनमा गुनासै गुनासा

 साउन १९, २०७५ शनिबार ५:५२:२७ | रासस
unn.prixa.net

काठमाडौं - 'मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन ग¥यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैैनन्' यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाउनुभयो । 

महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँको समस्या सुनेपछि मन्त्री पुनले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई समस्या समाधानका लागि निर्देशन दिने र समस्याको समाधान हुने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्रीको भनाइलगत्तै महतोले खुशी हुँदै भन्नुभयो 'मन्त्रीज्यू यहाँलाई धन्यवाद छ । समस्या समाधान भए धेरै आभारी हुने थिए ।' 

नागरिकका गुनासा सुन्ने र प्रत्यक्षरुपमा समाधान गर्ने ध्येयका साथ मन्त्री पुनले हिजोदेखि हरेक दिन शुक्रबार प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गर्नुभएको छ । 

मन्त्रालय मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद शुरु गरिएको मन्त्री पुनले जानकारी दिनुभयो । 

नागरिकले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा प्रत्यक्षरुपमा मन्त्री पुनसँग संवाद गर्न सक्नुहुन्छ । 

मन्त्रालय मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन उहाँले प्रत्यक्ष संवाद शुरु गरिएको हो । 

मन्त्री पुनलाई तेह्रथुमबाट अर्जुन ढुंगानाले फोन गरेर तमोर जलाशयुक्त आयोजनाको मुआब्जालगायतका विषयमा जिज्ञासा राख्नुभयो । यस्तै दुबईबाट रेखा गैरेले फोन गरेर वैदेशिक रोजगारीमा रहेका युवालाई कहिलेसम्म फर्काउनुहुन्छ र भ्रष्टाचार कहिलेसम्म नियन्त्रण गर्नुहुन्छ भनेर जिज्ञासा राख्नुभयो । 

यस्तै काभ्रेपलाञ्चोकबाट नारायण घिमिरेले फोन गरेर विद्युत् प्राधिकरणका कार्यरत ज्यालादारी कर्मचारीको समस्या कहिले र कसरी समाधान गर्नुहुन्छ भनेर प्रश्न गर्नुभयो । 

मन्त्री पुनलाई टेलिफोन गर्नेमा नमोबुद्ध–४ काभ्रेपलाञ्चोकमा शिव बस्नेत पनि एक हुनुहुन्थ्यो । उहाँले नमोबुद्धमा खानेपानीको चरम अभाव रहेकाले ट्रान्सफर्मरलगायतका समस्या समाधानका लागि आग्रह गर्नुभयो । 

मन्त्री पुनले न्यौपानेको समस्या समाधानका लागि प्राधिकरणको बनेपा वितरण केन्द्रलाई तत्काल निर्देशन दिने र समस्या समाधान हुने विश्वास दिलाउनुभयो । 

संखुवासभाबाट जानीकुमार राईले मन्त्री पुनलाई टेलिफोन गरी भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने वातावरण निर्माणका लागि आग्रह गर्नुभयो । 

गुल्मी रेसुङ्गाका धनेश्वर भट्टराईको गुनासो भने प्राधिकरणको पोल सार्नुपर्नेमा केन्द्रित थियो । उहाँले पोल सार्न र प्रसारण लाइन विस्तारमा ध्यान दिन मन्त्री पुनसँग अनुरोध गर्नुभयो । 

गोरखा पालुङटारबाट लक्ष्मण पन्तले २५ केभीए क्षमताको ट्रान्सफर्मर हटाएर ५० केभीको जडान गरिदिए समस्या समाधान हुने भन्दै मन्त्री पुनसँग आग्रह गर्नुभयो । 

धुलिखेल नगरपालिका–७ का शशि तिमिल्सिनाले रुख काट्दा रुख ढलेर प्राधिकरणको पोल ढलेका कारण विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो । 

कागेश्वरी नगरपालिका–८ का कुमार खातीले ‘हाइटेन्सन लाइन’ का कारण समस्या परेको भन्दै हटाइदिन आग्रह गर्नुभयो । चन्द्रागिरी नगरपालिकाका बासिन्दा माधव ढुंगानाले विगत दुई वर्षदेखि प्राधिकरणले पोल गाँडेपनि तार उपलब्ध नभएका कारण १५ परिवार समस्यामा परेको भन्दै मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । 

यस्तै सशस्त्र जनयुद्धको समयमा विद्युत्को महसुल नतिर्न भनेको तर बक्यौता बाँकी रहेको भन्दै प्राधिकरणले ताकेता गरिरहेकोमा त्यो समस्या किन समाधान नभएको भन्ने प्रश्न गर्नुभयो । 

मन्त्री पुनले प्रत्यक्ष रुपमा सम्वाद गर्ने कार्यक्रम सुरु गरेको जानकारी पाएपछि आज सुरुकै दिनमा देशका विभिन्न स्थानबाट १५ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 

अधिकाशं समस्या प्राधिकरणसँग सम्बन्धित आएका थिए भने केही विषयमा भने नीगित रुपमा नै निर्णय गर्नुपर्ने समस्या टेलिफोन गर्नेले मन्त्री पुनसँग राखेका थिए । 

पहिलो दिन नै नागरिकको तहबाट आफूलाई उत्साहित बनाएको र नागरिकको समस्या बुझ्ने अवसर समेत प्राप्त भएको मन्त्री पुनको भनाइ छ । 

नागरिकले उठाएका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने जानकारी दिदै मन्त्री पुनले भन्नुभयो, ‘नागरिकका तहबाट उठेका समस्या समाधानका लागि पहल गरिएको र त्यसले मलाई थप जिम्मेबार बनाउँछ ।’ 

तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि नागरिकको गुनासो सम्बोधन गर्न पैसा नलाग्ने ११५१ नम्बर जडान गर्नुभएको थियो । 

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया