बिहीबारदेखि ४ दिन याे वर्षकै बढी पानी पर्ने, यी नदीमा बहाव बढ्न सक्ने

 असार २४, २०७७ बुधबार १९:२०:७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालका चार वटा प्रदेशमा आउँदाे चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्मकै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभयो । 

'मनसुन सुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ', श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ । 

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

सरकारले यस वर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानी पर्ने सम्भावना छ मात्रै नभनी कुन–कुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । 

नेपालमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँ–ठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्‍याइसकेको छ । मनसुनको सुरुवातमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कुल आठ सय चार वटा विपद्का घटनामा एक सय १४ जनाको ज्यान गएकाे छ ।  

यस वर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँ–ठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । त्यस कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ । 

यी नदीमा बहाव बढ्न सक्ने

शुक्ररबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ । 

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताउनुभयो । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ । 

प्राधिकरणले यी चार प्रदेशबाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ । यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ । 

जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेल/पहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । पानीको स्रोतको व्यवस्थापन नभएको र परेको पानी बग्ने बाटो नष्ट भएकाले जथाभाबी रुपमा क्षति पुर्‍याउन सक्ने हुँदा थप सचेत बन्नुपर्ने उहाँको सुझाव छ । पर्वत र बझाङमा जङ्गलबाट खसेको पहिरो त्यसको एउटा उदाहरण हो । 

विपद् जोखिम व्यवस्थापन विज्ञ डाक्टर कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्‍याउन सक्ने भएकाले थप जोखिम बढेको बताउनुभयो । उहाँले आवश्यक समन्वयमा क्षति र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया