बर्दियामा नेपालकै पहिलो वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने

 असार २४, २०७७ बुधबार १९:४६:२३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनको लागि ओभरहेड ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनको लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको यो नेपालको पहिलो योजना हो । 

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डीपीआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । गौमुखि इन्जिनियरिङ सर्भिस प्राली ललितपुरले ‘ओभरहेड ब्रिज’ को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको हो ।

खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ‘ओभरहेड ब्रिज’ ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । ‘ओभरहेड ब्रिज’ निमार्णको लागि झण्डै नौ करोड रुपैँया लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै आर्थिक वर्ष २०७७÷०७८ देखि निमार्ण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो ।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणको लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवत जावत बढी हुने गर्छ । 

खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगायतका संरक्षित वन्यजन्तुहरु नियमित रुपमा नेपाल–भारत आवत जावत गर्ने गर्छन् ।

वन्यजन्तुको आवागमनलाई मध्यनजर गरी खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बन्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एसियाकै निकै महत्त्वपूर्ण जैविक मार्ग मानिन्छ । 

खाता जैविक मार्गको महत्त्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषणा गरेको छ । नेपालमा वन्यजन्तु ओहोर दोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । 

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुखबिरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जङ्गलमै हिँडेको महसुस गर्ने छन् । करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि वन्यजन्तु निवार्धरुपमा एक वनबाट अर्को वनमा आवत जावत गर्न सक्ने छन् । त्यस्तै सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनीकरण हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत कम हुने संरक्षणकर्मीहरु बताउँछन् ।

वन्यजन्तु ओहर दोहर गर्ने खाता करिडोरमा वन्यजन्तुमैत्री संरचना निमार्ण गर्न संरक्षणकर्मीहरुले विगतदेखि नै माग गर्दै आएका थिए । वन्यजन्तु ओहोर दोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्रि सडक बनाउनका लागि वहुसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको संवाद समूह बर्दियाले सरोकारवाला पक्षहरुसँग विभिन्न समयमा संवाद अन्तक्र्रिया गर्दै आइरहेको थियो । 

संवाद समूहले सरोकारवाला पक्षहरुसँग राखेको सामूहिक अन्तक्र्रियात्मक कार्यक्रममा खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्री अण्डरपास वा ओभरपास निर्माण गर्नुपर्ने मागअनुसार निर्णय गरी सम्बन्धित कार्यालयमा पठाएको संवाद समुह बर्दियाका सदस्य अर्जुन सुवेदीले बताउनुभयो ।

तयार पारिएको ओभरहेड ब्रिज डीपीआर नमुना स्क्याचसहित मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीसहितका जनप्रतिनिधि, संरक्षणकर्मी, संवाद समूह बदिया, सञ्चारकर्मीहरुका बीच प्रस्तुत गरिएको थियो । सहभागीहरुले पहिलो प्राथमिकतामा स्काई ओभर ब्रिजको माग गरेका थिए भने विकल्पमा ओभरहेड ब्रिज बनाए पनि ९० मिटरको बनाउन माग गरेका छन् । 

डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, तराई भूपरिधि कार्यक्रम, डब्ल्यूडब्ल्यूएफ नेपाल, संवाद समूह बर्दियालगायतले वन्यजन्तुमैत्री संरचनाको लागि प्रयास थालेका थिए । छिमेकी देश भारतमा समेत नरहेको यो ओभरहेड ब्रिज निर्माण कार्य सम्पन्न भएपछि सामुदायिक वनले पर्यटकहरुका लागि नजिकै भ्यु टावर बनाएमा पर्यटकीय केन्द्र बन्ने पनि जनाइएको छ । 

दुई वर्ष अघि बर्दियामा भएको जैविक मार्ग संरक्षणको सवाल र दिगो समाधानका उपाय सम्बन्धी अन्तक्र्रियामा प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिबद्धता जनाउनु भएको थिए ।  

अन्तिम अपडेट: चैत ५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Amit Adhikari

    Feb. 4, 2022, 2:45 p.m.

    यो त नागरिकको आँखामा छारो हाल्ने काम हो , यस्तो सानो बनाएर काम छैन, खात देखि पूल सम्म बनाउनुपर्छ / थोरै बनाए, नेपालीको टिकटक हुन्छ , त्यसैले यो खातभन्दा नि अम्बासे देखि कर्णालीसम्म पुरै अन्डरग्राउण्ड बनाउनुपर्छ है /

  •  0 Reply

तपाईको प्रतिक्रिया