रुकुम पूर्व : प्रतिकिलो ४० मा किनेर ८० किलो सलह जलाइयो

 असार २५, २०७७ बिहिबार १९:५९:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – भूमे गाउँपालिकाले ८० किलो सलह किरा किनेर जलाएको छ । किसानबाट प्रतिकिलो ४० रुपैयाँको दरले किनेर सलह किरा जलाएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले प्रदेश ५ सरकारको निर्णयअनुसार प्रतिकिलो २० रुपैयाँ र गाउँपालिकाले आफैले निर्णय गरेर प्रतिकिलो २० रुपैयाँ थपेर सलह सङ्कलन गरेका किसानलाई प्रतिकिलो ४० रुपैयाँ दिइएको बताउनुभयो ।

यसो गर्दा सलह किराले गर्ने नोक्सानी कम भएकाे र किसानहरुलाई पनि प्रोत्साहन भएकाे उहाँले जानकारी दिनुभयो ।  

जिल्लाका विभिन्न ठाउँमा क्षति, भोकमरीको चिन्ता

सलह किराले रुकुम पूर्वका विभिन्न स्थानमा लगाइएको बालीमा ठूलो क्षति पुर्‍याएकाे छ । सुरुमा असार १६ गते भूमे गाउँपालिकामा देखा परेको सलहले  गाउँपालिकाको वडा नं. १ को लुकुम, वडा नं. २ को दहबाङ, गाबाङ, खाबाङ, वडा नं. ३ को झुम्लाबाङ, सीमा क्याङ्सी, वडा नं. ६ को तमारीमा लगाइएको मकै र तरकारी बालीमा क्षति पुर्‍याएकाे छ । 

त्यसैगरी वडा नं. ७ को गुनाम, ८ को कुचिबाङ र वडा नं. ९ को चुनबाङमा सलहले क्षति पुर्‍याएकाे गाउँपालिकाले जनाएको छ ।  पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं. ९ को खाराबाङमा पनि सलहले मकैबाली सखाप पारेको स्थानीय रवीन्द्र ओलीले बताउनुभयो । सलह किराले मकै बालीमा पनि क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।  

सिस्ने गाउँपालिकाको विभिन्न ठाउँमा पनि सलहले क्षति पुर्‍याएकाे छ । गाउँपालिकाको वडा नं. नम्बर १, २, ३, ४, ५ र ६ मा सलहले मकै बालीमा क्षति गरेको किसानहरुले बताएका छन् ।

हुल बाँधेर आएको सलहले मकै बाली नष्ट गरेको सिस्ने गाउँपालिका वडा नं. ५ रुमालबाराका पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । लगाएको बाली किराले सखाप पारेपछि किसानहरु भोकमरीको चिन्तामा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया