रेडियोबाट पढाइ प्रभावकारी बन्दै, रेडियो सुन्दै घरमै पढ्न थाले विद्यार्थी

 असार २५, २०७७ बिहिबार २१:३१:५६ | भावुक योगी
unn.prixa.net

बर्दिया – लकडाउनकाे समयमा विद्यार्थीको पठनपाठनलाई लक्षित गरेर बर्दियामा सुरु गरिएको रेडियो पढाइ कार्यक्रम प्रभावकारी बन्न थालेको छ । 

विद्यार्थीहरुले घरमै बसेर रेडियो सुनेर आफ्नो पठनपाठनलाई जारी राखेका छन् । कोरोना भाइरसको त्रासकाे कारण रेडियोबाट सुरु गरिएको पढाइ कार्यक्रम विद्यार्थीहरुका लागि प्रभावकारी भएको शिक्षक र अभिभावकहरुको प्रतिक्रिया छ ।

सधैँ विद्यालयमा शिक्षकको निगरानीमा पढ्दै आएका विद्यार्थी अहिले घरमै अभिभावकहरुको निगरानीमा पढ्न थालेका र आफ्ना बालबालिकालाई घरमै बसेर पढ्नमा सहयोग पुर्‍याउँदै आएको अभिभावकहरु बताउँछन् । 

शनिबारबाहेक हरेक दिन बिहान ठिक १० बजे रेडियोबाट पढाउन सुरु गरिन्छ । विद्यार्थीहरु आफ्नै घरमा कापी कलम लिएर तयारी अवस्थामा बस्छन् । छेउमै रहेको रेडियो खोल्छन् । 

शिक्षकहरु रेडियोबाटै पढाउन थाल्नुहुन्छ । विद्यार्थीहरु सुनेकै भरमा पढ्ने र बुझ्ने प्रयास गर्छन् । यसले विद्यार्थीको सुन्ने क्षमतामा पनि वृद्धि भएको बताइएको छ । ठाकुरबाबा नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखामा रेडियो शिक्षा कार्यक्रमको प्रभावकारिता र सुधारका लागि सुझाव विषयक नगरपालिकास्तरीय प्रधानाध्यापक बैठकमा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।   

कोरोना भाइरसको रोकथाम र व्यवस्थापनकाे लागि गरिएकाे देशव्यापी लकडाउनकाे कारण परीक्षालगायत विद्यार्थीहरूको पठनपाठन प्रभावित भएपछि ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरसँगको सहकार्यमा २०७६ चैत्र २३ गतेदेखि जेठ २ गतेसम्म तयारी कक्षा सञ्चालन गरेको थियोे । गएको जेठ १८ गतेदेखि ‘रेडियोबाट शिक्षा, टोलटोलमा शिक्षक’ कार्यक्रम सञ्चालन गरिएको हो ।

बैठकले लकडाउनको अवस्थामा रेडियो कार्यक्रमलाई निरन्तरता दिँदै निकट भविष्यमा सुरक्षाकाे उपाय अपनाउँदै पठनपाठनको वातावरण तयार गर्न अनुरोध गरेको छ । रेडियोबाट शिक्षा कार्यक्रम निकै प्रभावकारी भएको पाइएको र सहकार्य गर्न आएकोमा खुसी लागेकाे प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगञ्जका शिक्षा संयोजक संजिवकुमार जोशीले बताउनुभयो ।

नमुना रेडियो कक्षा सञ्चालनमा आएपछि घरमा बालबालिकाले अध्ययन गर्ने बानीको विकास भएको र अझ यसलाई प्रभावकारिताकाे लागि शिक्षकहरु टोलटोलमा गइ बालबालिकासँग अन्तर्क्रिया गरेको देख्न सकिन्छ । 

जिल्लाको सबैभन्दा बढी क्षेत्रमा प्रष्ट सुन्न सकिने रेडियो टाइगरबाट पढाइ कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई नगरको शिक्षा शाखाले अनुरोध गरेको छ । 

रेडियो पढाइ कार्यक्रम ठाकुरबाबा नगरपालिकाको मुख्य आयोजनामा प्लान इन्टरनेशनल नेपाल नेपालगञ्ज स्याक नेपाल बाँकेले रेडियो टाइगर बर्दियासँगको सहकार्य तथा बर्दियाका सबै पालिका एवं शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सह-आयोजनामा सञ्चालन भइरहेको छ । 

महामारीकाे अवस्थामा रेडियो नै सबैभन्दा बढी प्रभावकारी भएकोले रेडियोसँग सहकार्य गरी सामुदायिक विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई पढाइमा सहयोग पुर्‍याउने  उद्देश्यले ‘रेडियोबाट शिक्षा, टोलटोलमा शिक्षक, रेडियो पढाइ कार्यक्रम’ काे सुरुवात गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । 

कक्षा ४ देखि १० सम्मका मुख्य विषयहरु आइतबारदेखि बिहिबारसम्म र शुक्रबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि रेडियोबाट पढाइ कार्यक्रम सञ्चालन भइरहेको छ । यसअघि ‘उज्ज्वल भविष्य, एसईई तयारी कक्षा’ भन्ने नारासहित एसईई परीक्षाको तयारी गरिरहेका ठाकुरबाबासहित छिमेकी पालिकाका विद्यार्थीहरुका लागि घरभित्रै बसी अभ्यास गर्न सक्ने गरी रेडियो टाइगर बर्दिया र अनलाइनबाट एकैसाथ विषेश एसईई तयारी कक्षा सञ्चालन गरिएकाे थियाे ।  

यतिबेला बर्दियामा रेडियो टाइगर र रामज्ञानु एफ एमबाट पढाइ कार्यक्रम सञ्चालन भइरहेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया