जुम्लामा सुत्केरी र शिशु सहित २४ जनाले जिते कोरोना

 असार २६, २०७७ शुक्रबार ९:०:१६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र अठार दिने शिशुसहित २४ जना कोरोना जितेर घर फर्किएका छन् । 

स्वाब परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका सबै जनाको रिपोर्ट १४ दिनपछि फेरि परीक्षण गर्दा नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरु घर फर्किएका हुन्।  

सिञ्जा गाउँपालिका – ४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । 

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालका निर्देशक डा। मंगल रावलले जानकारी दिनुभयो । 
प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना रहेका र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना जितेर घर फर्किएकाहरुलाई १४ दिनसम्म होम क्वरेण्टीनमा बस्न चिकित्सकले सुझाएका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चिकित्सकहरुको सुझावलाई मनन गर्दै व्यक्तिगत अनुशासन र भौतिक दूरी कायम गर्न समेत अनुरोध गर्नुभएको छ । 

यस पटक कोरोना सङ्क्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वरेण्टीन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया