बाढी र पहिरोले शुक्रबार मात्रै २१ जनाको ज्यान गयो, १३ जना बेपत्ता

 असार २६, २०७७ शुक्रबार १३:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनसुन थप सक्रिय भएसँगै बाढी पहिरोले धनजनको क्षति हुने क्रम बढेको छ । आज मात्रै विभिन्न जिल्लामा बाढी र पहिरोमा परी २१ जनाको ज्यान गएको छ । १३ जना बेपत्ता भएका छन् । १० जना घाइते भएका छन् । 

लगातार परेको पानीका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ । अरु १२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । 

यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । 

त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ । रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पुर्‍याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ । 

रघुगंगा नदीमा अत्यधिक बहाव बढेकाले बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल तथा आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् । त्यसैगरी अन्नपूर्ण–८, राम्चेको पुम्दीखोलाबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएको खानेपानीको ५ र ६ इन्चको जिआई पाइपमा पनि रघुगंगा नदीमा आएको बाढीले क्षति पु¥याएपछि बेनीबजारमा खानेपानी आपूर्ति बन्द भएको छ । 

रघुगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाए पनि मानवीय क्षति भने नभएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । नदीमा उच्च बहाव आएको र बेलिब्रिजमा क्षति पु¥याउने अवस्था देखेपछि गलेश्वरवासीले मध्यराति नै खबर गरेपछि नदीको आसपासमा रहेका बस्तीबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो ।

कास्कीमा ६ जनाको ज्यान गयो

पहिरोले घर पुरिंदा कास्कीको पोखरा र हेम्जामा ६ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका १८ गोठादीमा पहिरोमा परि ५ जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् । टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ५ जनाको ज्यान गएको कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी सुबास हमालले जानकारी दिनुभयो । ज्यान गुमाउनेको परिचय खुलेको छैन । पहिरोले पुरिएको घरमा हिजो जन्मदिन मनाउन आफन्तहरु पनि आएका स्थानीयले बताएका छन् । घर पूर्ण रुपमा पहिरोले पुरेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ । 

यस्तै कास्कीको हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा उहाँकी आमा हिमकलीको ज्यान गएको कास्कीका डिएसपी सुबास हमालले जानकारी दिनुभयो । यस्तै पोखरा–२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनार बेपत्ता भएको प्रवक्ता हमालले बताउनुभयो ।

लमजुङको सातबिसेमा पहिरोले एकै घरका तीन जनाको ज्यान गयो 

लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभएको छ । पहिरो खस्दै गर्दा भागेका सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमन गुरुङ घाइते भएका पनि उहाँले बताउनुभयो । 

रुकुम पश्चिममा पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गयो

रुकुम पश्चिममा पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ । आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय छोरा हाविलको ज्यान गएको प्रहरीले जनाएको छ । ८ वर्षीया छोरी हिरालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो । आठबिसकोट नगरपालिका–३ मा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो । पहिरो खस्दा तुलबहादुर घरमा नरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा खोजी चल्दै

हिजो सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ताहरुको आज बिहानदेखि खोजी थालिएको छ । हराइरहेका २१ जनाको खोजीको काम सुरु भएको हो । आज स्काभेटर समेत प्रयोग गरेर खोजी भैरहेको तर पानी परेकाले समस्या भैरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हिजो बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । घाइते ६ जनाको काठमाण्डौमा उपचार भैरहेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा १६ घर पूर्ण रुपमा क्षति भएका छन् । 

बिभिन्न ठाउँमा बाढी खतराको संकेतसम्म

​कास्की, नवलपरासी, म्याग्दी र लमजुङका केही ठाउँमा बाढी खतराको संकेतमा पुगेको छ । पोखरा,  वलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्र, म्याग्दीको दर्वाङमा नदीको बाढी खतराको संकेतसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती ठाउँमा ठूलो वर्षा भएकाले बाढी खतराको संकेतसम्म पुगेको हो । सप्तकोशीमा पनि पानीको बहाव बढेको छ ।

गण्डकी प्रदेशसँगै प्रदेश १, प्रदेश २ र ५ का केही ठाउँमा पनि भारी वर्षा भएको छ । भारी वर्षा भएका ठाउँका नदीहरुमा बाढी आउने भएकाले सचेत हुन महाशाखाले अनुरोध गरेको छ । सोमबारसम्मै पानी ठूलो पर्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया