व्यङ्ग्य - नेपालमा सलहले सकेन, कोरोना ओली र प्रचण्डको वार्ता झैं अन्यौलमा

 असार २७, २०७७ शनिबार ९:३:७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – नेपालमा के के खान पाइन्छ भनेर बुर्कुसी मार्दै आएको सलह साता दिनमै सखाप भयो ।

खान आएको सलहलाई मान्छेले नै खाए । खान नसक्नेले सलहको टाउको, पखेटा र खुट्टाको मूल्य तोके । मान्छेको आक्रमण र मोलतोल छल्दै पहाड उक्लिएको सलहलाई प्रकृतिले पनि देखि सहेन । हावापानीले सखाप भए ।

नेपालका मान्छे, ठाउँ र हावापानीसँग नसकिने रहेछ भनेर सलहको सातो गयो । आफ्ना आफन्त, नातागोता र छरछिमेकीको एकै चिहान भएको खबर सुनेपछि नेपाल आउन ठिक्क परेका सलहले पनि नेपाल भ्रमण रद्द गरे । 
नेपालमा टिक्न नसकेर सलहले हार माने पनि सलहभन्दा पहिले नै नेपाल आएर रजगज गरिरहेको कोरोना भने अझै रनभुल्लमा छ ।

नेपालीहरु आफूसँग डराएका हुन् कि होइनन् भनेर उसले अझै भेउ पाउन सकेको छैन । सरकारमा बस्नेदेखि सडकमा कुद्नेसम्मको पारा देखेर कोरोना छक्क परेको छ । 

पहिले पहिले कोरोना सङ्क्रमित दुईजना थपिए रे भनेको सुन्दा पनि जिब्रो टोके । श्रीमान श्रीमती सँगै सुत्न पनि डराए । तर अहिले नेपालीलाई कोरोना केही नै होइन जस्तै लागेको छ ।

कोरोना नेपाल प्रवेश गर्नेबित्तिकै सरकार पनि डरायो, नागरिक पनि डराए । सबै घरभित्रै थुनिए । थरिथरिका परिकार बनाए । झुलको प्वाल र तारा गनेर बसे । फिल्मका डाइलग, गीतका तुक्का कण्ठ पारे । दाह्री, कपाल र नङ पालेर रुपरंग फेरे । बाहिरफेर हिँड्ने लुगा र जुत्तामोजा मिल्काए । 

पहिले पहिले कोरोना सङ्क्रमित दुईजना थपिए रे भनेको सुन्दा पनि जिब्रो टोके । श्रीमान श्रीमती सँगै सुत्न पनि डराए । तर अहिले नेपालीलाई कोरोना केही नै होइन जस्तै लागेको छ । दिनमा ५÷६ सय कोरोना सङ्क्रमित थपिंदा पनि ए त्यति मात्रै भनेर टाउको हल्लाउँछन् । मरेको मान्छे सुन्दा पनि ए मरेछ भनेर ख्यालख्याल ठान्छन् । टोलटोलमा कोरोना आइसक्यो भन्दा पनि कोरोनासँग कुम जुधाउँला झैं गरी बाटोमा लखरलखर हिँड्छन् । 

नेपालका मान्छे कोरोनासँग डराएका छैनन् भनौं भने कतिले आत्महत्या गरिसके । कति जना अझै घरभित्रै छन् । स्कुल, कलेज, सिनेमा हल, नाटकघर, होटल, जिम, बस, पौडी पोखरी लगायत धेरै कामकाज बन्द छन् । चिउँडोमै भए पनि प्रायः सबैले मास्क लगाएर हिँड्छन् । जाँडरक्सीको तलतल मेट्नकै लागि भए पनि स्यानिटाइजर दल्छन् । अंगालो मार्दै, हात मिलाउँदै, टाँसिंदै हिँडे पनि भौतिक दूरीको ख्याल गरौं भन्छन् । 

पानी नभए पनि बाटोबाटोमा हात धुनको लागि भन्दै पानीको भाँडो र साबुन राखिएको छ । कोरोनासँग लड्न र बच्न भनेर हुने जति सबै गरिएको छ । त्यसमाथि घण्टा घण्टामा रेडियोले कोरोनाका खबर दिन्छन्, अनलाईनले पीपीइले शरीर ढाकिएका डाक्टरका अन्तरिक्ष यात्री जस्ता फोटा छाप्छन् । स्वास्थ मन्त्रालयका प्रवक्ता कनकान गरेर हरेक दिन क्यै न क्यै भन्छन् । यी सबैथोक हेर्दा नेपाली कोरोनाबाट सचेत छन् ।

सत्ताको खेलमा लागेका नेताहरु ठान्छन् – प्रधानमन्त्री हटाउन भन्दै होटल रेस्टुँरा धाउँदा कोरोना लाग्दैन । त्यही होटल, रेस्टुँरामा खान जानेलाई चाहिँ कोरोना लाग्छ । 

तर सरकारदेखि सडकसम्म हेर्ने हो भने धेरैलाई कोरोनाको डर नै छैन । देशमा कोरोनाको संकट सकिएझैं गरी नेताहरु सबैथोक बिर्सेर सत्ता जोगाउने र भत्काउने खेलमा छन् । दिनहुँजसो भेटघाट र छलफल भैरहन्छ । अरुलाई भौतिक दूरीको ख्याल गर्नु भने पनि उनीहरु कानमै मुख जोतेर एकअर्कासँग कानेखुसी कुरा गर्छन् । बैठक बोलाउँछन्, स्थगित गर्छन् । छलफलमा बस्छन्, फल आफैंलाई राख्छन्, छल अरुलाई दिन्छन् । 

सत्ताको खेलमा लागेका नेताहरु ठान्छन् – प्रधानमन्त्री हटाउन भन्दै होटल रेस्टुँरा धाउँदा कोरोना लाग्दैन । त्यही होटल, रेस्टुँरामा खान जानेलाई चाहिँ कोरोना लाग्छ । 

निजी गाडीमा हिँड्नेलाई त पहिलेदेखि नै कोरोना लाग्दैनथियो । अब सार्वजनिक गाडीमा हिँड्नेलाई पनि कोरोना नलाग्ने भएको छ । 

प्रधानमन्त्रीको जयजयकार गर्दै सडकमा नारा लगाउनेलाई पनि कोरोना लाग्दैन । प्रधानमन्त्रीको बिरोध गर्दै उफ्रनेलाई पनि कोरोना लाग्दैन । नारा जुलुस गर्नेदेखि कोरोनाको सातो जान्छ । भोजभतेर र घुमफिर गर्नेलाई पनि कोरोना लाग्दैन । कोरोनाबारे नेपालीका धारणा, बुझाई र पारा देखेर कोराना रनभुल्लमा छ ।

सलहजस्तो भाग्ने कि केही दिन पर्ख र हेरमा बस्ने भन्ने निचोडमा पुग्न नसकेर कोरोना ओली र प्रचण्डको वान टु वान वार्ता जस्तो कहिल्यै निस्कर्षमा नपुगेर अप्ठेरोमा फलेको फर्सि झै यतै कतै अड्किरहेको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया