जम्बुमा बेपत्ताको खोजी चल्दै, एकको उद्धार

 असार २७, २०७७ शनिबार १८:१६:११ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परेर बेपत्ता भएका २० जनाको खोजी भइरहेकाे छ । तर लगातारको वर्षाले सडक अवरुद्ध हुँदा कठिनाइ उत्पन्न भएको छ । 

शनिबार पनि बेपत्ताको खोजी काठमाण्डौबाट आएका २५ जनाको उद्धार टोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । लगातारको वर्षाले आएको बाढी पहिरोबाट सिन्धुपाल्चाेकमा अहिलेसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारकाे लागि पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिनुभयो ।   

यसैबीच शुक्रबार बिहान आएको बाढी पहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिनुभयो । 

उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । त्याे घटनामा दुई जना सामान्य घाइते भएका थिए । सिन्धुपाल्चाेकमा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।

जुरे सडक खोल्ने प्रयास

लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । 

बाढीले सम्पूर्ण भाग कटान गरेको झण्डै एक सय ५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माण कार्य भइरहेकाले शनिबार बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इन्जिनियर विजयकुमार महतोले जानकारी दिनुभयो ।

शुक्रबार अपराह्नदेखि सुरु भएको उद्धारकाे काम शनिबार बिहानैदेखि फेरि सुरु गरिएको छ । यो सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोशीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवत जावतमा कठिनाइ उत्पन्न भएको छ ।

 बाढीले बाह्रबिसेको खागदल खोला र भोटेकोशी गाउँपालिका ५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डीई महतोले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया