पछिल्लाे २४ घण्टामा १७ सय ५ जना डिस्चार्ज

 असार २९, २०७७ सोमबार २०:५७:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ बाट सङ्क्रमणमुक्त भइ घर फर्किनेको सङ्ख्या एक हजार सात सय पाँच रहेको छ । एकैदिन सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे याे सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिएयताकै उच्च हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले साेमबारसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार दुई सय ९४ पुगेको बताउनुभयो । कुल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएकाे मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप एक सय ४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार आठ सय ५६ नमुना परीक्षणमा एक सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको छ ।     

प्रदेशगतरुपमा साेमबार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । 

देशभरका क्वरेण्टीनमा अहिले २३ हजार चार सय ७० जना रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय १३ रहेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । 

अहिलेसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, वाग्मती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ । 

प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार एक सयभन्दा बढी कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार आठ सय सात जनाकाे मृत्यु भइसकेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये नेपाल पीसीआर परीक्षण गर्ने देशमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रतिदश लाख जनसङ्ख्यामा कोरोनाकाे कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । 

नेपालमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै अहिले सक्रिय सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । 

काठमाण्डाै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थानमा सजगता अपनाइने प्रवक्ता गौतमले बताउनुभयो । उहाँले जिल्ला जिल्लामा क्वरेण्टीनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।' 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया