पसल खुल्यो, ग्राहक आएनन् : नाम चलेका केही मल बन्द

 असार ३१, २०७७ बुधबार १४:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्लाहीका रञ्जित साहको काठमाण्डौका पाँच ठाउँमा कपडा पसल छ । चार महिना अघिसम्म एकछिन बस्न नपाउने उहाँ अहिले फुर्सदिलो हुनुहुन्छ ।

हिजो–आज उहाँको दैनिकी गुनासो गरेरै बित्न थालेको छ । बिहानको खानपिन गर्ने अनि मास्कलगायत सुरक्षाका सामग्री लगाएर व्यापारिक केन्द्रमा जाने र साथीभाइसँग बात मार्ने । यसैगरी बितेको छ, उहाँको दिन । 

कोरोनाको कहर र लकडाउनको कारण बन्द गरिएको पसल झण्डै एक महिनाअघि खुल्यो । पसलमा सामान पनि राखिएकै छ, बेच्ने कर्मचारी पनि छन् तर किन्ने मान्छे छैनन् ।

‘पसल त खोलेँ, कर्मचारीलाई पनि बोलाएँ तर खै ग्राहक ?’, साह भन्नुहुन्छ, ‘जसोतसो कर्मचारीलाई काममा फर्काइयो, अब उनीहरुलाई कसरी तलब खुवाउने भन्ने चिन्ता थपियो ।’

कमाइ होला भन्ने आशामा पसल खोलेका साहजस्ता धेरै व्यापारीको हरेक दिन निराशामा बदलिन थालेको छ । 

कारोबार नभएपछि सिभिल मल फेरि बन्द, अरु मलको अवस्था पनि दयनीय

सरकारले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर व्यापारिक कारोबार गर्न अनुमति दिएसँगै बजार पसल खुले । तर पसल खोले पनि कारोबार नभएपछि व्यापारीले ताल्चा र साँचो नै घरबेटीलाई बुझाउन थालेका छन् । 

साढे तीन महिनापछि खुलेको काठमाण्डौको सिभिल मलको हालत पनि यस्तै छ । ग्राहक नपुगेपछि सिभिल मलका पसल फेरि बन्द गरिएको छ भने काठमाण्डौ मल पनि खुलेको छैन । 

अहिले खुलेका पिपुल्स प्लाजा, लबिङ मललगायत मलमा पनि व्यापारी हाइ काढेर बसेका छन् । बिहान पसल खुल्न हतारिँदै पुगे पनि दिनभरि कारोबार नहुँदा उनीहरु निराश छन् ।

सिभिल, काठमाण्डौ मललगायतका मलमा एउटा सटरको २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म भाडा बुझाउनु पर्छ । तर कारोबार भने मुस्किलले पाँच–दश हजार रुपैयाँ मात्रै हुने गरेको छ । 

साना व्यापारी पनि मारमा

ठूला मलमा मात्रै होइन, साना पसल र व्यवसाय गर्दै आएका व्यापारी पनि कारोबार नहुँदा कसरी टिक्ने भन्ने चिन्तामा छन् । 

कम आय भएकाको किनमेल गर्ने बजार भनेर चिनिएको भृकुटीमण्डपमा बजार खुले पनि ग्राहक नपुग्दा बजार सुनसान छ । लकडाउन खुकुलो भएसँगै बजार खुल्न थाले पनि कारोबार शून्यजस्तै छ । दिनभरि कुर्दा पनि ग्राहक नपुगेपछि त्यहाँका व्यापारीलाई एकातिर भाडा कसरी बुझाउने भन्ने चिन्ता छ, अर्कोतिर गुजारा कसरी चलाउने भन्ने अत्यास थपिएको छ । 

गएको असार १ गतेदेखि नै बजार खुलाउने भनिए पनि १५ गतेदेखि मात्रै पसल खुलेको थियो । केही व्यापारी गाउँघर गएकाले भृकुटीमण्डपका सबै पसल पूर्णरुपमा भने खुलिसकेका छैनन् । 

खुलेका पसल पनि ग्राहक नपुगेपछि बन्द हुन थालेको भृकुटीमण्डपमा व्यापार गर्ने साना व्यवसायीको सङ्गठन काठमाण्डौ निम्न व्यापारी सङ्घका सहअध्यक्ष चिन्तामणि प्रसाईँले बताउनुभयो । 

लत्ता कपडा, श्रृङ्गार र इलेक्ट्रोनिक सामानसहित भृकुटीमण्डपमा अहिले झण्डै १३ सय वटा पसल छन् ।  

धादिङ घर भइ अहिले कलङ्कीमा व्यापार गर्दै आउनुभएका श्रीकृष्ण पराजुली अहिले व्यापार पाँच प्रतिशत पनि नभएको बताउनुहुन्छ । 

‘बिहान बेलुका फाट्टफुट्ट ग्राहक आए पनि दिउँसोको समयमा कारोबार ठप्प छ, सङ्कट झन् बढ्दै गएकोले भाडा कसरी तिर्ने भन्ने अन्योल छ’, उहाँले भन्नुभयो । 

कोरोना महामारीअघि भ्याइनभ्याइ हुने पसलमा पनि अहिले व्यापारी दिनभरि ग्राहकको बाटो हेरेर बेलुका रित्तै घर फर्कन्छन् । फलफुल तथा खाद्य वस्तुको केही कारोबार भए पनि अहिले लत्ताकपडा, गरगहनालगायतको कारोबार ठप्पजस्तै छ । 

भाडा छुट र सहुलियत ऋण दिन माग

अवस्था दिन प्रतिदिन ओरालो लाग्दै गएकोले व्यापारीले पूरै भाडा छुटको माग गरेका छन् । भाडा छुट, व्यवसाय गर्न सहुलियत ऋणलगायत माग राख्दै व्यापारी अहिले चरणबद्ध आन्दोलनमा छन् । 

सरकारले मौद्रिक नीतिमा आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप अगाडि बढाउने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउनुहुन्छ । उहाँका अनुसार यतिबेला उद्योगी व्यवसायीको मुख्य चुनौती भनेको घर भाडा र बैंकको व्याजदर हो । भाडा छुटका लागि सरकारले बेवास्ता गरिरहेको पनि उहाँको आरोप छ । 

अहिले लकडाउन अवधिभरको बैंकको व्याजदर शतप्रतिशत छुट, किस्ता तथा ब्याज तिर्ने अवधि कम्तीमा एक वर्ष पछाडि सार्नुपर्ने, कर्जाको ब्याजदर बढीमा आठ प्रतिशत कायम गर्नुपर्ने र लकडाउनभरिको भाडा पूरै छुट दिन माग गर्दै व्यापारी आन्दोलनमा छन् । 

परिस्थिति नै जटिल भएकोले अहिले व्यापारी र घरबेटी दुवै चपेटामा परेका छन् । काठमाण्डौ उपत्यकाका मुख्य शहर असन, इन्द्रचोक, न्युरोड, लगनखेल, मङ्गलबजार, विशाल बजारलगायत ठाउँमा सबैजसो पसल खुले पनि ग्राहक नहुँदा भाडा तिर्नै मुस्किल परेको व्यापारीको गुनासो छ ।

भाडा छुट र ब्याजमा छुटको माग गर्दै आन्दोलन गरिरहेका व्यापारी यतिबेला ‘पर्ख र हेर’ को अवस्थामा छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया