रेबिजविरुद्धको खोप लगाउने बढे

 असार ३१, २०७७ बुधबार १५:५४:३० | रासस
unn.prixa.net

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय  रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । लकडाउन खुकुलो भएसँगै अस्पतालमा सामान्य अवस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । 

सामान्य अवस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारकाे लागि आउने गरेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो । लकडाउनकाे सुरुवाती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, 'निजी सवारी साधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।'

कोभिड–१९ को उपचारकाे लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाेले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, 'कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाेले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।'

अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणकाे लागि आइरहेका छन् । अस्पतालले भने आवश्यक भए/नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पीसीआर परीक्षणकाे लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारकाे लागि आवश्यक शय्या पनि बढाइरहेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया