चार महिनामा सुनचाँदी व्यवसायमा अर्बौं घाटा,व्यवसायी भन्छन्, ‘यस्तो कहिल्यै भएको थिएन’

 साउन १, २०७७ बिहिबार ८:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनाको जोखिमसँगै भएको लकडाउनले अरु क्षेत्रसँगै सुनचाँदी व्यवसाय पनि खस्केको छ ।

लकडाउनपछिको यो चार महिनामा  सुनचाँदीको व्यवसायमा २०/२२ अर्ब घाटा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । महासंघका अनुसार सुनचाँदी व्यवसायमा वार्षिक ६० अर्ब रुपैयाँको कारोबार हुने गरेको छ । तर यसपालि कारोबार पनि घट्ने सम्भावना छ ।

सुनको नयाँ रेकर्ड, छैन कारोबार

गएको चैत १० गतेपछि सुनको भाउले दिनहुँजसो नयाँ रेकर्ड बनाईरहेको छ । चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुन असार मसान्तमा ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । 

लकडाउनका कारण चैत १० गतेदेखि बन्द भएको कारोबार लकडाउन खुकुलो भएसँगै गएको जेठ २५ गतेदेखि खुलेको थियो । 

बजार खुलेको दिन सुनको भाउ तोलामा ८७ हजार ४ सय रुपैयाँ थियो । यसबीचमा भाउ बढ्दै बुधबार तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेकाले नेपालमा पनि सुनको भाउ अझै बढ्ने सम्भावना रहेको भाउ निर्धारण समितिका संयोजक समेत रहेका शाक्यले बताउनुभयो । 

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प भएको छ । अहिले बजारमा दैनिक ५ किलो बराबरको कारोबार पुर्‍याउन पनि मुश्किल छ । सामान्य अवस्थामा पनि २५/३० किलो सुनको कारोबार हुने गरेकोमा कोरोनाका कारण अहिले कारोबार प्रायः शून्य नै छ । तीज नजिकिंदै गरे पनि सुनको माग खासै नभएको व्यवसायी बताउँछन् । 

सुनको मात्रै होइन, अहिले चाँदीको कारोबार पनि ठप्प छ । लकडाउनपछि चाँदीको मूल्य पनि झण्डै दोब्बरले बढेको छ । लकडाउनअघि तोलाको ७ सय २० रुपैयाँ रहेको चाँदी अहिले एक हजार पाँच सय रुपैयाँ पुगेको छ । 

सुनको आयात खुम्चियो

भाउ बढेपछि कारोबार ठप्प भएको सुनको आयात पनि यो आर्थिक वर्षमा खुम्चिएको छ । पहिले वर्षमा २८/३० अर्ब रुपैयाँको आयात हुने गरे पनि यो आर्थिक वर्ष २०७६÷०७७ मा १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा भाउ बढे पछि आर्थिक वर्षको पहिलो चौमासिकमा आयात रोकिएको थियो भने कोरोनाका कारण भएको लकडाउन पछिको चार महिनामा पनि आयात रोकिएको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ । 

सुनको भाउ किन्नै नसक्ने गरी बढिरहेकाले अब पनि आयात घट्ने सम्भावना रहेको महासंघको भनाई छ । 

ग्राहकको रोजाई किन्ने भन्दा बेच्ने

सुनको भाउ बढ्दै गएपछि सितिमिति किन्ने आँट कसैले गरेका छैनन् । उल्टो बेच्नेहरु बढेका छन् । कारोबार नभएकाले ग्राहकले पुराना सुनका गरगहना बेच्दा तोलामा ५ हजार रुपैयाँ  जति नोक्सानी व्यहोर्ने गरेका छन् । बजारमा सुनको माग नभएको र रसायन काट्दा ग्राहकलाई तोलामा ५ हजार रुपैयाँ जति नोक्सानी हुने गरेको व्यवसायी तेजरत्न शाक्य बताउनुहुन्छ ।

उहाँका अनुसार सुनका गहना बेच्ने बढे पनि सबैको खरिद गर्ने सम्भावना भने छैन । सुनको कारोबार नै नभएकाले धेरैलाई त्यसै फर्काउने गरिएको पनि उहाँले बताउनुभयो ।

‘पसल खोल्यो चिया खायो बस्यो’ 

कारोबार र माग दुवै नभए पनि अहिले सुनचाँदी व्यवसायीले पसल खोल्छन् । तर गहना बनाउँदै बेच्दै गर्नुपर्नेमा उनीहरुको समय चिया गफमा नै बित्ने गरेको छ । 

५ दशकदेखि व्यवसाय गर्दै आएका तेजरत्न शाक्य भन्नुहुन्छ, ‘पसल नखोलौँ भने एक जना भए पनि ग्राहक आउलान् भन्ने आश हुन्छ, पसल खोलेर बस्दा कोही आउँदैनन् । चिया खायो बस्यो, दिन बितायो ।’ 

नेपाल सुनचाँदी व्यवसायी महासंघमा अहिले २० हजार भन्दा धेरै सुनचाँदीको पसल दर्तामा छन् । दर्ता भएका पसल विभिन्न ६६ जिल्लामा छन् । झण्डै २ लाख कालिगढले  काम गर्दै आएका छन् । यी कालिगढमध्ये झण्डै डेढ लाख जना भारतीय छन् । ५० हजारको हाराहारीमा नेपाली कालिगढ छन् । 

लकडाउनले भारतीय कालिगढ घर फर्किएकाले अहिले सुनको माग भईहाल्यो भने पनि कालिगढको अभाव हुने महासंघले जनाएको छ ।

तर माग नै नभएकाले भएकै कालिगढ पनि कामबिहीन भएका छन् । व्यापार नभए पछि केहीले पसल नै खोल्दैनन् भने केहीले पसल खोलेर चिया खाँदै समय बिताउँदै गरेका छन् । 

२०२२ सालदेखि सुनचाँदीको कारोबारमा सक्रिय तेजरत्न शाक्य भन्नुहुन्छ – ‘यति लामो व्यवसायिक जीवनमा यस्तो अवस्था कहिल्यै आएको थिएन र भोगेको पनि थिईनँ ।’

अहिलेको समयमा नाफा कमाउने भन्दा पनि बाँच्ने र बचाउने भन्ने नै रहेकाले आफूहरु धैर्य गरेर बसेको उहाँ बताउनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया