चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाकाे आदेश

 साउन ७, २०७७ बुधबार १६:२४:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले भने अमेरिकाको याे कदमले दुवै देशबीचको कुटनीतिक सम्बन्धलाई थप हानी पुर्‍याउने भन्दै विरोध गरेको छ । 

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले असन्तोष व्यक्त गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता लिन चीनले अमेरिकासमक्ष आग्रह गरेको बताउनुभयो । उहाँले अमेरिकाले त्याे कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिनुभएको छ । 

प्रवक्ता वाङले भने, 'यो अमेरिकाले एकपक्षीय रुपमा सञ्चालन गरेको राजनीतिक भड्काउपूर्ण कार्य हो र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लङ्घन हो ।'

प्रवक्ता वाङले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौँ भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ भने । 

ह्युस्टनमा रहेका स्थानीय सञ्चारमाध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए ।

ह्युस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया