सार्वजनिक गाडीको यात्रा : 'एक सिट छोडेर बस्ने त परको कुरा, उभिएर समेत यात्रा गर्न पाईंदैन'

 साउन ९, २०७७ शुक्रबार ९:५२:५३ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - ‘पढायो पढायो पाठ, सोह्र दुना आठ’ भन्ने उखान यतिबेला सार्वजनिक गाडीलाई ठ्याक्कै मिलेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेको छ, तर कानमा तेल हालेर नसुनेको झैं गर्दैछन् कतिपय गाडीवाला ।

कोरोनाको सङ्क्रमण केही कम हुन थालेपछि गएको असार २६ गते सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गर्यो । त्यसअघि छिटो गाडी चलाउन पाउनु पर्यो भन्दै ज्ञापनपत्र बुझाउने व्यवसायीले सरकारको निर्णयलगत्तै गाडी चलाएनन् । माग र अडान तेर्स्याएर बसे । 

पछि केही कम्पनीका गाडी गुड्न थाले । बुधबारदेखि लकडाउन हटेपछि भने सडकमा सार्वजनिक गाडीको संख्या बढेको छ । सरकारले सिट संख्याको आधा मात्रै यात्रु राख्न तथा स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गरेर मात्र गाडी चलाउन भनेको छ । तर केहीबाहेक धेरै गाडीवालाले यसलाई बेवास्ता गरेका छन् ।

लकडाउन हटेपछि आफ्नो साधन नभएका धेरै जना सार्वजनिक यातायात चढ्न बाध्य छन् । सुरुमा खाली देखेको बस चढ्यो । अर्को बिसौनी पुग्दा नपुग्दै बस भरिभराउ हुन्छ । अझ यात्रुलाई उभ्याएरै पनि यात्रा गराइन्छ । कार्यालय समयको बेलामा त कुनै-कुनै गाडीमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन ।

सिट क्षमताको आधी मात्रै यात्रु राख्न पाइने भएकाले सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाइने नियम बनाएको छ । तर खचाखच यात्रु राख्ने गाडीवालाले दोब्बरसम्म भाडा लिने गरेका छन् ।

आफ्नै अधिकारका लागि आफैं बोलौँ

तपाईं हामीमध्ये धेरै जना सार्वजनिक गाडीमा यात्रा गर्दा दुई पाँच रुपैयाँमा के किचकिच गर्ने भन्दै चुप लाग्छौँ । न्यूनतम १३ रुपैयाँ भाडा हुँदा पनि चुप लागेरै १५ रुपैयाँ भाडा बुझाउने हामी नै हौँ । अहिले त झन् अवस्था नै फरक छ ।

‘चार महिनापछि गाडी चलाएका छौँ दोब्बर भाडा त लागिहाल्छ नि, हामीले चाहिँ तेल खर्च जुटाउन पर्दैन ?’ भन्ने चालक/सहचालक कड्किनासाथ हामी मुन्टो हल्लाउँदै -हो त भन्छौँ, भाडा तिर्छौँ' । तिमीले यसो गर्न पाउँदैनौ भनेर कहिल्यै भन्दैनौँ । यसको फाइदा जहिल्यै सार्वजनिक गाडीले उठाइरहेका छन्, उठाउँदै छन् ।

बाबा गोकर्णश्वरको चक्रपथ चल्ने प्रदेश -३-०१, ००५ ख ९८६५ नम्बरको गाडीका सहचालकले त अझ यात्रुलाई ‘भिड देख्दादेख्दै किन चढेको त ?’ भन्नसम्म भ्याए । उनको कुरा पनि ठिकै हो । भिड देखेपछि यात्रुले पनि चढ्न नहुने हो । तर बल्लतल्ल गाडी चल्न थालेको छ, भनेको बेलामा अर्को आउँदैन । जसरी पनि ठाउँमा पुग्नुपर्ने भएपछि भिडभाड गरेर पनि चढ्नुपर्ने यात्रुलाई बाध्यता छ । 

ट्राफिक प्रहरी भन्छ- ‘कारबाही गरिरहेका छौँ’'

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले तोकेको भन्दा बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गरिरहेको बताएको छ । महाशाखाले यसो भनिरहँदा यात्रुबाट गुनासो भने आउन छोडेको छैन ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिनहुँ ३०/४० वटा सार्वजनिक गाडीलाई कारबाही भइरहेको दावी गर्नु भएको छ । उहाँले भनेजस्तै केही सार्वजनिक गाडी कारबाहीमा परेका पनि छन् । तर उनीहरुलाई कडा कारबाही हुन नसक्दा गल्ती दोहोरिने काम भईरहेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकाल भन्नुहुन्छ-‘सबै ठाउँमा ट्राफिक प्रहरीको भूमिका मात्रै खोजेर हुँदैन । यो सम्भव पनि छैन । यात्रु आफैं सचेत भएर बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्ने गाडीबारे उजुरी दिनुपर्यो ।’

प्रहरीको १०० र ट्राफिक  प्रहरीको १०३ मध्ये जुनसुकै नम्बरमा यात्रुले गाडीको नम्बरसहित मौखिक रुपमै उजुरी दिन सक्ने उहाँले बताउनुभयो । यात्रुको उजुरी परेको केही समयभित्रै यस्ता गाडी कारबाहीमा पर्ने पनि उहाँको दावी छ । 

भाडा बढी लिने र ठेलमठेल यात्रु कोच्ने गाडीलाई दिनभरी होल्ड गरेर मात्रै राखिन्छ । सरकारले नियम अटेर गर्नेलाई इजाजत रद्द गर्नेसम्मको नियम कानुन बनाए मात्रै सार्वजनिक गाडीको बेथिति र कोरोनाको सम्भावित जोखिम कम हुन सक्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • बिध्या कुमार नायक

    July 24, 2020, 12:07 p.m.

    सरकारले भन्यो सिट क्षमताको आधा मान्छे मात्र राख्नु, भाडामा ५०% भन्दा बढी लिनु तर मान्छे उतिकै छ, लकडाउन खुलिसकेपछी कामको हतार, समयमै कार्यालय पुग्नु पर्ने बाध्यता सबैको छ। ड्राईभर र खलासीले नचाहदा-नचाहदै सर्वसाधारण मान्छे बाध्यताले सिट भन्दा धेरै मान्छे बसमा चढ्नु पर्छ। सरकारले नियम बनायो तर सार्बाजानिक बस थपेन, कुनै योजना बनाएन, ठुला ठुला सहरमा कति जनसंख्या छ। दिनहु कति जनसंख्या सार्बजानिक गाडिमा चढछ, कति बसले त्यो जनसंख्यालाई गन्तव्य सम्म पुर्याउन सक्छ, कति बस अझै थपनु पर्छ कुनै कार्ययोजना भएन सरकार।

  •  0 Reply

तपाईको प्रतिक्रिया