'जाेखिम टरिसकेकाे छैन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस्'

 साउन ९, २०७७ शुक्रबार १७:३८:३ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकी देश भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि लकडाउन खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले लकडाउन खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । 'सङ्क्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर निस्कनु हुँदैन', उहाँले भन्नुभयो, 'निस्कन परे कोभिड–१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ ।' 

उहाँले घरबाहिर निस्कन परे मास्क, स्यानिटाइजर र भाैतिक दुरी कामय राख्नुपर्ने बताउनुभयो । सरकारले कोभिड–१९ को कारणले गरेको लकडाउन यही साउन ७ गतेदेखि अन्त्य गरेको हो । लकडाउनकाे अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भिडभाड हुन थालेको छ । 

यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानिटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउनसमेत विज्ञले सुझाव दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सङ्क्रमित बढ्नु, भारतबाट अझै मानिसहरु नेपाल भित्रने जस्ता गतिविधि भइरहेकाले जोखिममा नै रहेको देखाउने बताउनुभयो । 

'लकडाउन खुल्यो अब त सङ्क्रमण हुँदैन भनेर ढुक्क हुनुहुँदैन, साथीभाइलाई पनि सङ्क्रमण हुन सक्दछ, त्यसैले सधैँ टाढा रहने गर्नुपर्दछ', मन्त्रालयका प्रवक्ता डा. अधिकारीले भन्नुभयो, 'बाहिरबाट आएका मानिसलाई निको भयो, आफूलाई पनि सङ्क्रमण लागेर निको भइहाल्छ भनेर पनि ढुक्क हुनु हुँदैन, आफूलाई सङ्क्रमण लागे घरपरिवारका वृद्ध, बालबालिकालाई सङ्क्रमण लाग्न सक्दछ ।'

मन्त्रालयले कोभिड–१९ को महामारी र व्यवस्थित लकडाउनमा जनस्वास्थ्यका मापदण्ड–२०७७ मा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्नुपर्ने, घरबाहिर जाँदा मास्कको प्रयोग र सार्वजनिक स्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने जस्ता सावधानी अपनाउने कुरा उल्लेख छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर सागरराज भण्डारीले उपत्यकामा भिडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताउनुभयो । उहाँले उपत्यकामा विदेशबाट आउने र लकडाउनमा बाहिर गएका मानिस पनि भित्रने क्रम बढेकोले सङ्क्रमण बढ्ने खतरा रहेको औँल्याउनुभयो । 

केही दिनअघि मात्र उपत्यकामा समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर अग्रपङ्क्तिमा काम गर्ने बैंक, सरकारी कार्यालयका कर्मचारी गरी झण्डै पाँच हजार पाँच सय जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । 

अस्पतालका कार्यकारी निर्देशक डा. राजभण्डारी आफू बच्न र अरुलाई बचाउन पनि भिडभाड, जमघट भएको स्थानमा जान नहुने बताउनुहुन्छ । उहाँका अनुसार बाहिर निस्केका मानिसका घरपरिवारमा वृद्ध, दीर्घ रोगी, गर्भवती महिला, बालबालिका पनि रहने हुनाले उनीहरुमा सङ्क्रमणको बढी जोखिम हुने गर्दछ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा एक पङ्क्तिको सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाएर, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्ने छ ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया