नेपाल टेलिकमको वेबसाइट परिमार्जन, वेबसाइटबाटै पाइन्छ यी सुविधा

 साउन १२, २०७७ सोमबार १२:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल टेलिकमले वेबसाइट  www.ntc.net.np  लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको जनाएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिने टेलिकमको दाबी छ । 

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । 

आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमासमेत जानकारी लिन सकिन्छ । रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ । 

नयाँ सिमकार्ड लिनका लागि आवश्यक के वाइ सी फारमसमेत वेबसाइटबाटै भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एन्ड फेमिली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्युम एडेड सर्भिस,  फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी पाइनेछ । 

कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिनेछ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अङ्कहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने टेलिकमको दाबी छ । 

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छन ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ । यहीँबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । । 

        


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया