कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन, ग्राहककाे माग धान्दै

 साउन १६, २०७७ शुक्रबार १९:३८:१२ | रासस
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

याे आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलाशयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ ।

इन्द्रसरोवर जलाशयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८ दशमलव ५२ पानीको सतह थियो भने शुक्रबार अपराह्न ४ बजेसम्ममा १५१८ दशमलव ३५ सतहसम्म मात्र पानी रहेको छ । बिहीबारकाे तुलनामा शुक्रबार १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिनुभयो । कुलेखानी जलाशयमा पानीकाे सतह बढ्दै जाँदा अहिले कुल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युतबाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न सहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले बताउनुभयो । वर्षाका पानीबाट इन्द्रसरोवर जलाशयमा पानीको सतह भरिए पनि विद्युत् उत्पादनको लागि नियमित तीन वटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पन्न नहुने पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया