जताततै गाईजात्रा : कुर्सीको बिजोग, कोरोनाको जोक !

 साउन १७, २०७७ शनिबार ८:४३:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - एउटा टारमा ओली जात्रा ! अर्को टारमा दाहाल जात्रा ! समग्र नेकपामा कुर्सी जात्रा ! कांग्रेसमा घुर्की जात्रा ! सडकमा कोरोना जात्रा ! खेतबारीमा सलह जात्रा ! लेकमा पहिरो जात्रा ! बेसीमा बाढी जात्रा ! न्यायालयमा श्रीमान जात्रा ! प्रहरीमा सुन जात्रा ! यतै जात्रा, उतै जात्रा । जात्रैजात्रामा आयो, यस वर्षको गाईजात्रा । 

गाईजात्रा पहिले पहिले कलाकारले देखाउँथे, नेताले हेर्थे ! तर जमाना फेरिएपछि नेताले जात्रा देखाउन थाले, कलाकार रमिते भएका छन् । 

मौका पाए गाईजात्रा नआउँदै नेता र जनताले त जात्रा देखाउने नै भए । त्यसैले देशमा अहिले अनेक जात्रा चल्दैछन्, रोग जात्रा, भोक जात्रा, शोक जात्रा । कतै आँसु जात्रा, कतै हाँसो जात्रा । चर्चा गरौँ यसपालिका केही जात्रा ।

नेकपामा पाइलट जात्रा

नानीदेखि नै मिल्ने बानी नभएका दुई वामलाई चुनावको बेला एक ठाममा आउनुपर्ने बाध्यता थियो । पहिले एक्लाएक्लै हिँड्दा कुर्सी नभेटिएला भन्ने डर, अहिले सँगसँगै हिँड्दा कुर्सी नपुग्ला भन्ने डर । 

पछि बस्ने कुर्सी जेसुकै होस्, पहिले सत्ताको कुर्सी चाहिँ जोगाउँ भन्ने लागेर चुनावताका दुई वाम एक ठाममा उभिए । दिमागले भ्याएसम्मका सपना र आश्वासन बाँडे । के के न होला भनेर नागरिकले भोट दिए । एक ठाम भएका दुई वाम सत्तामा पुगे ।

पार्टी हाँक्ने कुर्सीमा अटाइनअटाइ भए पनि दुईजना पाइलट मिलेर बस्नै पर्ने बाध्यता थियो । तर सरकार हाँक्ने कुर्सीमा दुई जना पाइलट अटाउने व्यवस्था थिएन । मिल्ने भए गाई कि त्रिशूल गर्न हुन्थ्यो । तर त्यसो गर्न अहिले गाई र त्रिशूल भएको पाँच पैसाको ढ्याक पाइँदैन ।

त्यसैले एउटा पार्टीको दुईटा कुर्सीमा बसेका दुईजना पाइलटहरुले सरकारको कुर्सीमा चाहिँ सँगै बस्ने मौका पाएनन् । चुनाव सकिनासाथ विजय जात्रा चल्यो । त्यो बेला सरकारको कुर्सीमा बस्न लागेका ओली आज हुन् कि भोलि थियो । ओलीपछि सरकार र पार्टी मेरै झोली भन्ने जपेर प्रचण्ड दिन पर्खेर बसे । 

आलोपालोको कुरा पनि बिर्सिए । तर ओली आजकै भोलि होइन, नयाँ मिर्गौला सहित वर्षौवर्षको भोलिसम्म कुर्सीमा रहने देखेपछि नयाँ जात्रा सुरु भयो । अबको पाँच वर्ष त के, अर्को पाँच वर्ष पनि ओलीले नै खालान् भन्ने डर बढ्यो । त्यसपछि अर्का पाइलटलाई छटपटी भयो । पाइलटसँगै कोपाइलटहरुलाई पनि उकुसमुकुस हुन थाल्यो । कसैलाई दोहोरिन नपाइएला भन्ने चिन्ता । कसैलाई एकपटक पनि बस्न नपाइएला भन्ने छटपटी । 

त्यसपछि पाइलट र कोपाइलटहरुबीच मारमुङ्ग्री सुरु भयो । उडिरहेको जहाज खसे पनि खसोस्, पाइलट बस्ने कुर्सीमा मै बस्छु भन्ने हानथाप चल्यो । कहिले यो उसको खेमामा, कहिले उ यसको खेमामाको रमिता चल्यो । दिनदिनै फेरिरहन्छ गुट । तर न फुट, न जुट । न सकिएको छ पाइलटको झगडा, न टरेको छ जहाज दुर्घटना । 

कांग्रेसमा दाइजात्रा

देउवालाई सधैं दाइ हुनु छ । भाइ भएर बस्न सुहाउँदैन । पौडेल कहिलेसम्म भाइ मात्रै भएर बसिरहने, दाइ हुन सकिँदैन । दाइ भाइ हुन नखोज्ने, भाइ दाइ हुन नसक्ने । दाइले पार्टीमा दाईं गरिरहने, भाइ चाहिँ सधैं भुसुनोजस्तो भएर बसिरहन पर्ने ? यो हुनै नसक्ने नमिल्ने कुरा ।

त्यसमाथि कम्युनिष्टहरुले मात्रै झगडा गर्नुपर्छ भन्ने के छ ? उनीहरुले मात्रै गाईजात्रा देखाउन पाउनुपर्छ भनेर कहाँ लेखिएको छ ? झैझगडा र गाईजात्रा त सबैको साझा प्रवृत्ति र संस्कार हो । त्यसमाथि कांग्रेस होस् या कम्युनिष्ट, झैझगडा र विवाद त खान्दानी परम्परा हो । 

यस्ता परम्पराको जगेर्ना गर्नुपर्छ । त्यसैले अहिले कांग्रेसमा देउवा र पौडेल पार्टीको इतिहास र संस्कार जोगाउन लागेका छन् । नेकपाको हाराहारीमा पुग्नेगरी सानेपा, बुढानिलकण्ठ र बोहोराटारमा मच्चिरहेका छन् । 

देउवालाई पौडेलले खुट्टा तान्लान् भन्ने डर छ । पौडेललाई देउवाले खुट्टाले हानिरहलान् भन्ने डर छ । त्यसैले दुवै पक्ष एउटाले अर्कोको खुट्टै भाँच्न तम्सिएका छन् ।

अदालतमा श्रीमान जात्रा

श्रीमान् भनेका श्रीमान् । कसैले मान्दिनँ भने पनि मान्नै पर्ने । नजाने पनि जान्नैपर्ने । उनीहरुको चित्तमा बेलाबेला पित्त मिसिन्छ । चित्तमा पित्त मिसिएपछि हुने, चित्तबाट फुत्त फुत्त पित्त निस्कन्छ । श्रीमानहरु बेलाबेला चाहिनेभन्दा बढ्दा जान्ने छु भन्ने देखाउन खोज्छन् ।

समाजलाई नपच्ने कुरा बलजफती निकाल्छन् । श्रीमानहरुलाई लाग्छ, जालझेल गर्ने मान्छेहरु जेलमा धेरै बसे पनि जेल नै कुरुप हुन्छ । जेलको शोभा बिग्रन्छ । अपवित्र हुन्छ । त्यसैले जेलको रुप फेर्न र पवित्र बनाउन हत्यारा र अपराधीहरु जेलमा होइन, बाहिर बस्नुपर्छ भन्ने कुरा चित्तमा लागेर आदेश नामको कागजमा त्यो कुरा पित्त पित्त झर्छ । 

श्रीमानहरुको चित्तमा बेलाबेला यस्तो लागेपछि न्यायालयमा पनि जात्रा हुन्छ । अहिले भैरहेको यही हो ।

प्रहरीमा सुन जात्रा

चोरले लगेको भए लगेकोलग्यै हुन्थ्यो । कसैलाई वास्ता हुँदैन थियो । प्रहरीले बल्लतल्ल चोर समात्छ, चोरको हातबाट सुन फुत्काउँछ । चोरबाट सुन फुत्काउने प्रहरीलाई सुनकै माला लगाइदिनुपर्ने हो । तर फूलको माला लगाउन पनि कञ्जुस्याइँ गर्छन् । सुन समातिस् भनेर सुनपानीले पनि छर्कन खोज्दैनन् । 

कसैले वास्ता नगरेपछि त आफैंले भने पनि गर्नुपर्यो । त्यसैले सुन समातेपछि प्रहरीले आफ्नो पनि भाग राख्छन् । सुनको भाग लगाएको कुरा कहिले सबैले थाहा पाउँछन्, कहिले कसैले सुईंको पाउँदैनन् । पहिले ३३ किलोको कुरो आयो, अहिले सुन तस्कर भगाएको कुरा । 

त्यसमाथि प्रहरीको छडी जादुको छडीजस्तै हो, छोएपछि सुन पनि पहेलो पित्तल बन्छ । प्रहरीमा सुन जात्रा बेला बेला भैरहन्छ । सुनको कुरा हुँदा प्रहरीले सुन्छ, सुनको कुरा धेरै गरे सुनको कुरा गर्ने जोसुकै होस्, त्यस्ता कुरौटेलाई थुन्छ । त्यसैले सुनजात्राको कुरा धेरै नसुनाऔँ ।

कोरोना जात्रा

कांग्रेस र कम्युनिष्टलाई पार्टी फुट्ला, नागरिकले गाली गर्लान् भन्ने डर छैन । न्यायालय र प्रहरीलाई न्याय, निसाफ र नियमको डर छैन । ठूलाबडालाई केही कुराको नि डर नभएपछि ठूलाबडा बस्ने कुर्सीको बिजोग भएको छ । आफ्नो इज्जत गयो भन्ने कुर्सीलाई लागेको छ । तै पनि कुर्सी निरीह छ, केही गर्न सक्दैन ।

नेता बस्नेदेखि न्याय पाउने ठाउँसम्मका कुर्सीको बिजोग भैरहदा कोरोना चाहिँ जोकजस्तो हुन थालेको छ । किनकि नेपालीले अब कोरोनालाई जोकजस्तै ठान्न थाले । बहादुर नेपालीलाई केहीको डर लाग्न छाडिसक्यो । कोरोनाको डर पचिसक्यो । उल्टै नेपालीको पारा देखेर चाहिँ कोरोना डराएको छ ।

लकडाउनभरि नेपालीले कोरोनालाई घरभित्र पस्नै दिएनन् । बेसारपानी र झारबुटीले नै तर्साए, भगाए । अब चाहिँ सरकारले नै लकडाउन हटाएर कोरोनालाई जताततै पासो थापेको छ । अब कोरोनालाई सडकमा गए पनि डर छ, सरकारी कार्यालयमा गए पनि डर छ ।

सडकमा पहिलेजस्तै गरी ठेलम्ठेल भएर गाडी र मान्छेको ताँती लाग्न थालेको छ । सडकको बीचबाट हिँड्दा कोरोनालाई गाडीले ठक्कर दिने डर, फुटपाथबाट हिँड्दा मान्छेले कुल्चने डर ! सार्वजनिक बसभित्र चढ्दा पनि यात्रुको घुइँचोमा थिचिने डर !

यातायात, मालपोत लगायतका सरकारी कार्यालयमा जाँदा पनि अवस्था उस्तै ! जताततै भीडभाड, होहल्ला, चहलपहल ! मान्छेको ठेलम्ठेलमै परेर आफै मरिएला भन्ने डर बढेपछि कोरोना अहिले बरु आफै आत्महत्या गर्ने कि भन्ने चिन्तन पो गर्न थालेको छ । सुरुसुरुमा कोरोनाको डरले मान्छेले आत्महत्या गरे, अहिले मान्छेसित डराएर कोरोनाले आत्महत्याको बाटो रोजेको छ ।

अन्तिम अपडेट: साउन २४, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया