आज हामी स्वदेश फर्कंदैछौं नि !

 साउन १८, २०७७ आइतबार ११:१६:३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – धेरैबेर रोकेर राखेको सास फेर्न पाए जस्तो ! घोर तपस्यापछि बरदान पाएजस्तो !

लामो समयको उकुसमुकुसपछि आज समीरलाई दुबईको ४५ डिग्रीको तातो घाममा पनि शितल महसुस भएको छ । हिजो दूतावासले जारी गरेको घर फर्किनेहरुको सूचीमा आफ्नो नाम पनि परेकोमा निकै खुसी हुनुभएको छ, समीर ।

‘आज त हामी नेपाल फर्किने हो नि, निकै खुसी लागेको छ’ दुबईमा रहेका समीरले फोनबाट सुनाउनुभयो, ‘नेपाल एअरलाइन्सको ८ बजेको फ्लाइटमा हामी नेपाल आउँदैछौँ ।’

मोरङको मिक्लाजुङ गाउँपालिकाका समीर राईले चार महिनासम्म सकसपूर्ण दिन कटाउनुभएको छ । आकाशमा उडेका जहाज हेर्दै निकैपटक सुस्केरा हाल्नुभएको छ । दुबई नगएको भए यति कठोर बसाइ हुने थिएन । 

‘गाउँघरमै दुःखजेलो गरी कमाएर यति धेरै जिम्मेवारी कसरी पूरा गर्छस् त कान्छा ?’ गाउँमै बस्दा समीरलाई कसैले यसो भनिदियो । त्यसपछि समीरलाई लाग्यो, अब विदेश जानुपर्छ ।

विदेश गयो भने केही नभए पनि ३०/४० हजार रुपैयाँ त कसो नकमाइएला र भन्ने ठानेर समीर राई यूएई हानिनुभयो ।

भन्न त यूएईको दुबई सहरलाई सपनाको सहर भन्ने गर्छन् । आधुनिक विकासको चमत्कार देखिने यस सहरमा धेरै नेपालीलाई सपना देखाउने एउटा कम्पनी छ । त्यो कम्पनी हो ट्रान्सगार्ड । त्यही कम्पनीमा काम गर्न २०१९ मे १७ तारिखमा समीर यूएई पुग्नुभएको थियो ।

मनमा सुन्दर सपना थिए । काँधमा गरुङ्गो जिम्मेवारी । दुईटैलाई सँगसँगै लिएर चलिरहेका थिए दिनहरु । कमाइ ठिकै थियो । महिनाको १५ सय दिर्हाम । खाने बस्ने कम्पनीकै । तलब पनि समयमै आउँथ्यो । समीरका सपना झन् झांगिन थाले । बहिनीलाई पढाउने सपना, घर बनाउने र घरजम गर्ने सपना ..... यस्तै यस्तै ।

समीर राई

कहिले सपनामा डुब्दै त कहिले विपनामा तैरिंदै कसरी नौ महिना बिते समीरलाई पत्तै भएन । यसै क्रममा चीनको वुहानबाट सुरु भएको कोरोनाले यूएईलाई पनि छोयो । पुरै यूएईमा लकडाउन गरियो । 

कोरानाको त्रास भन्दा पनि लकडाउन भए जागिर गुम्ने चिन्ता थियो धेरै नेपालीलाई । नभन्दै त्यस्तै भयो । हजारौं नेपाली कार्यरत ट्रान्सगार्ड कम्पनीको एउटा निर्णयले त्यहाँ कार्यरत हजारौं नेपालीको मनमा हलचल ल्याइदियो ।

कोरोनाको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भए । त्यसैमा पर्नुभयो समीर पनि । 

यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरेर कामदार सप्लाई गर्छ । 

समीरलाई भने कम्पनीले डब्लु बी प्लाजा भन्ने होटेलमा किचेन स्टाफको रुपमा खटाएको थियो । प्लाजाको काम नभएपछि उहाँलाई कम्पनीले काममा राख्न नसकिने बतायो । यो खबरले उहाँका आँखा रसाए । मनमा अँध्यारो छायो । मनको त्यो अँध्यारोमा सपनाहरु पनि धमिला देखिन थाले ।

‘एकाएकको यस्तो निर्णयले म त छाँगाबाट खसेजस्तै भएको थिएँ, यस्तो होला भन्ने मैले सोचेकै थिइनँ’ समीर भन्नुहुन्छ । त्यसपछि समीरको दैनिकी नै बदलियो ।

‘कम्पनीले टर्मिनेट गरेर राखिदियो, एटीएमदेखि सबै आवश्यक कुराहरु ब्लक गरिदियो, त्यसपछि त कहीँ जान पनि नसकिने, केही गर्न पनि नसकिने भयो’ समीर आफ्नो छटपटी सुनाउनुहुन्छ, ‘त्यसपछिका दिनहरु खाडीको तातो हावामा आकासमा उडेको जहाज हेर्दै बिते ।’ 

चार महिनादेखिको छटपटी

नेपालको पूर्वी जिल्ला मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्छ समीरको घर । उमेरले २५ नाघ्यो । परिवारमा बुवाआमा, दाइ, भाइ र बहिनी छन् ।

दाइ पनि केही समय वैदेशिक रोजगारीमा गएर अहिले घर फर्किनुभएको छ । अहिले घरखर्च चलाउने अभिभारा समीरकै काँधमा थियो । तर जागिर गुमेपछि त्यो अभिभारा पूरा गर्न निकै सास्ती भयो समीरलाई ।

‘बहिनीले एसईई दिई, पास भएपछि कलेज पढ्छु दादा भन्थी, राम्रो कलेजमा पढाउने रहर थियो’, गला अवरुद्ध पार्दै समीर भन्नुहुन्छ, ‘अब त जागिर नै छैन कसरी पढाउने होला ?’

सम्झेर ल्याउने हो भने समस्याका चाङ छन् । तर समीरलाई हिम्मत हार्नुहुन्न भन्ने ज्ञानले ढलमल हुन दिएको छैन । 

काम खोसिएपछि कम्पनीले दिएको एकोमोडेशनमा बस्दै आउनुभएको थियो । अप्रिलदेखि अहिलेसम्म एउटा कोठामा खुम्चिएर बस्नु पर्यो । बेरोजगारीले मानिसको दिमागमा अनेक चिन्ता पैदा गर्छ । ‘खाली दिमाग सैतानका घर’ भनेजस्तै लामो समय एउटा कोठाभित्र केही नगरेर बस्नुपर्दा मन बुझाउन पनि निकै गाह्रो हुन्छ । समीरलाई पनि त्यस्तै भयो ।

कहिले जीवनदेखिको निराशा त कहिले भविष्यप्रतिको चिन्ता । तर घर परिवारप्रतिको आफ्नो जिम्मेवारीले समीरलाई दुःखमा पनि संघर्ष गर्न सिकायो ।

यो लामो बिदामा समीरले आफ्नो घरपरिवार सम्झिनुभयो । आफू पढेको, पढाएको विद्यालय सम्झिनुभयो । अनि परदेशमा पीडा हुँदा देशको माया कति लाग्दो रहेछ भन्ने कुरा अनुभव गर्नुभयो ।

समीर वैदेशिक रोजगारीमा जानुअघि गाउँकै विद्यालयमा शिक्षण पेशा गर्नुहुन्थ्यो । दुर्गम गाउँ । राहतको शिक्षक पनि नआएपछि समीर पढेको मनोहर विद्यालयले पढाइदिन आग्रह गर्यो । समीर पनि १२ कक्षा सकेर घर जानुभएको थियो । न्यूनतम तलब (पकेट खर्च) मा समीरले त्यहाँ १३ महिना पढाउनुभयो । 

‘पेशा त राम्रो थियो, तर राम्रो पेशा भएर मात्र जिन्दगी नचल्ने रहेछ’ समीर भन्नुहुन्छ, ‘जिम्मेवारी धेरै थियो कमाइ थोरै, अनि विदेश जाने निर्णय गरेँ ।’

त्यसपछि समीर काठमाण्डौमा एक म्यानपावरलाई ८१ ह्जार रुपैयाँ बुझाएर यूएई पुग्नुभयो ।

बल्ल घर फर्कन पाइयो 

कम्पनीले दिनुपर्ने ‘लिभ स्यालरी’बाट काटेको पैसाले नै अहिलेसम्म खाना खुवाइरहेको थियो । जसोतसो दिनको दुई छाक खाना त पाइन्थ्यो । तर रुच्दैनथियो । 

‘मनमा धेरै कुरा खेलेपछि खाना पनि रुच्न छाड्दो रहेछ’ यो समीरको तीतो अनुभव हो ।

‘अब त घरमा गएर आफ्नै दालभात ढिंडो गुन्द्रुकको स्वाद लिइन्छ’ समीरले घरको याद गर्नुभयो ।

योबीच घर फर्कने प्रक्रियाको लागि अनेक झमेला भए । कम्पनीले टर्मिनेट गरेर राखेपछि समीरले सुरुमै आवुधाबीमा रहेको नेपाली दूतावासमा मेल गर्नुभयो । दूतावासले केही दिन पर्खन आग्रह गर्यो ।

यूएईमा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फिर्तीको लागि उडान हुने भएपछि, कतै आफू पनि परिन्छ कि भनेर समीरले फारम भर्नुभयो । 
तर सूचीमा आफ्नो नाम परे पनि फर्कन भने पाउनुभएन । 

‘सुरुमा नाम मात्र निकाल्यो, तर त्यसबाट पनि प्राथमिकतामा परेका भनेर अरुहरुलाई नै पठायो, आफू भने जान पाइएन’, समीर बताउनुहुन्छ ।

ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई छुट्टै जहाज चार्टड गरेर नेपाल पठाउने भनेर दूतावासलाई श्रमिकको नामसमेत पठाइसकेको थियाे । श्रमिकलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिन्छु भन्ने कम्पनीको प्रस्ताव दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । तर सरकारले छुट्टै उडानको लागि अनुमति नदिएकाले अहिले समस्यामा परेका (दीर्घरोगी, गर्भवती, शल्यक्रिया गर्नुपर्ने बिरामी, घरपरिवारका सदस्यको मृत्यु भएका, लामो समयदेखि तलब नपाएका आदि) लाई मात्र पठायो ।

भोलि भोलि भन्दाभन्दै महिनौं बस्नुपरेको पीडाले उहाँलाई दूतावासका आस्वासनमा पत्यार लाग्नै छाडेको थियो । बरु यति धेरै नेपालीलाई नेपाल पठाउँदा पनि आफू कसरी जान पाइएन भन्ने कुराले पिरोल्थ्यो ।
तर अगस्ट पहिलो दिन उहाँको लागि खुसी लिएर आयो । दूतावासले जारी गरेको घर फर्किनेहरुको सूचीमा टर्मिनेट भएर बसेका अरु साथीहरुसँग आफ्नो नाम पनि परेकोमा खुसीको सीमा नै रहेन समीरको ।

अबका दिनहरु गाउँघरमै सुखदुःखका साथ बिताउने योजना बनाइसक्नुभएको छ समीरले । 

‘बाँकी रहेका सपना गाउँघरमै दुःखजेलो गरेरै भए पनि पूरा गरौंला भन्ने लागेको छ’, घर फर्किने हतारोमा रहेका समीरले भन्नुभयो, ‘अरु त त्यस्तै हो, घर फर्किन पाइयो, यो नै ठूलो कुरा हो ।’
 

अन्तिम अपडेट: साउन २०, २०७७

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया