पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना सङ्क्रमण

 साउन १९, २०७७ सोमबार ८:२७:१३ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको रिपोर्टमा ७३ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।

सङ्क्रमितमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् । सङ्क्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्धासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

आइतबार राति सङ्क्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका व्यक्तिहरु हुन्  । मास  ट्रेसिङमा पीसीआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको उपाध्यायले जानकारी दिनु भयो  ।

सङ्क्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको उपाध्यायले जानकारी दिनुभयो  ।

पछिल्लो समय टोलटोलमै परीक्षण गर्न थालिएपछि समुदायमा रहेका सङ्क्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताउनु भयो  । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षीया बालिका र ८ जना महिलासहित ६७ वर्षसम्मका वृद्धा रहेका छन् ।

आइतबार मात्रै यसै वडामा २७ जना सङ्क्रमित थपिएका थिए । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८० जना पुगेको डा. उपाध्यायले बताउनुभयो  ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Bhagwan Ghinire

    Aug. 3, 2020, 8:38 a.m.

    कुनै पनि देशमा जबसम्म नागरिक आफै सजग, सतर्क र होशियार हुँदैनन, तबसम्म राज्यका जुनसुकै संयन्त्र लागेपनि र जतिसुकै नियम लगाएपनि कुनै प्रभाव पर्दैन / आफ्नो र परिवार अनि समाज सुरक्षाको लागि व्यक्ति आफै जिम्मेवार बन्नुपर्छ / संक्रमितहरुमा शिघ्र स्वास्थ्यलाभको कामना !!

  •  0 Reply

तपाईको प्रतिक्रिया