तनहुँका १५६ घरपरिवार विस्थापित

 साउन १९, २०७७ सोमबार १६:१८:१३ | रासस
unn.prixa.net

तनहुँ – बाढी पहिरोका कारण तनहुँमा एक सय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । 

त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो हप्ता परेको अविरल वर्षापछि गएको पहिरोका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौँ घरमा क्षति पुगेको छ ।

तनहुँमा चार नगरपालिका र ६ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा मानवीयसहितको क्षति भएको छ । म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका ६ का १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर ज्यान गएको थियो । 

पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी बन्दीपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ३० घरमा आंशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । 

उहाँले भन्नुभयो, ‘पूर्णरुपमा घर क्षति भएकालाई ३० हजार र राहत दिइएको छ ।’ पहिरोले उच्च जोखिम र आंशिक क्षति पुगेकालाई दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभए पनि फलफुल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । 

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्रमध्ये २,४,५ र ८ वडामा पहिरोले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । 

नगरपालिकामा मानवीय क्षति नभए पनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिरोले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानु नगरपालिकाको वडा नम्बर २ र ३ मा गरी १० घरपरिवार पहिरोको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् । 

आँबुखैरेनी गाउँपालिकमा सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । वडा नम्बर १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । 

त्यसैगरी व्यास नगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् । झण्डै ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'यस नगरपालिकामा पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।' ऋषिङ गाउँपालिकामा ६ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

याे वडाको ऋषिङ ८ भैँसीकिली निवासी अम्बरबहादुर थापाको परिवारकाे पाँच जनाको पहिरोमा परेर ज्यान गएकाे थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया