नागरिकको सुरक्षा र उपचारमा खटिनेलाई नै कोरोनाको जोखिम

 साउन १९, २०७७ सोमबार १३:२९:२२ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपदमा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् । 

एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा परेकाको उद्धार र उपचार ।  अरुको उपचार र उद्धारमा खटिरहेका उनीहरु अहिले आफैँ जोखिममा छन् ।  

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण बढ्दो

अग्रपङ्क्तिमा बसेर काम गर्ने सुरक्षाकर्मी, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको जोखिम उच्च देखिएको छ । प्राकृतिक विपदमा परेकालाई उद्धार गरेर फर्किएका एक प्रहरीलाई सङ्क्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयका अरु केही प्रहरीमा पनि कोरोना भेटिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका ७२ प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जना ट्राफिक प्रहरीमा पनि सङ्क्रमण पाइएको छ । अहिले महाशाखाका कर्मचारी र ट्राफिक प्रहरीलाई क्वरेण्टीनमा राखिएको छ ।  

काठमाण्डौसहित देशभर अहिलेसम्म दुई सय ५३ जना सुरक्षाकर्मीमा कोरोना देखिएको छ । जसमध्ये एक सय तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक सयभन्दा धेरै डाक्टरसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । डाक्टर र स्वास्थ्यमर्कीमा सङ्क्रमण देखिने सम्भावना अझै बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

उहाँले सुरक्षित हुने गरी मास्क र पन्जा लगाउन तथा स्वास्थ्य सुरक्षाका सामग्री अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । 

उहाँका अनुसार अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । 

सुरक्षाकर्मीमा जोखिम बढेपछि सुरक्षा निकायलाई सावधानी अपनाउन परिपत्र गरिएको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायत भन्नुहुन्छ, ‘परिस्थति नै यस्तै छ । यस्तो बेला सुरक्षाकर्मीलाई फिल्डमा नखटाइ हुँदैन तर सबैलाई पीपीई सेट पनि सम्भव नहुँदा जोखिम थप बढ्यो ।’

अहिले फिल्डमा खटिने ट्राफिक प्रहरी र केही प्रहरीले मास्क, पन्जा र भाइजर लगाउँछन् । केहीले भने पीपीई सेट लगाउँछन् । तर सबैलाई पीपीई सेटलगायतका सुरक्षाका सामग्री पुगेको छैन । 

अग्रपङ्क्तिमा खटिनेलाई विशेष उपचार

कोरोनाको जोखिम थप बढ्दै गएपछि सरकारले कोरानाको परीक्षण बढाउँदै अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई प्राथमिकतामा राखेर उपचार गर्ने जनाएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले मापदण्डसमेत परिवर्तन गरेको छ । 

मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन विशेष उपचारको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाले बताउनुभयो । 
उहाँले अग्रपङ्क्तिमा काम गर्नेलाई लक्षण देखिए तुरुन्त उपचार गरिने र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षणको व्यवस्था गरेको बताउनुभयो । 

यस्तै सुरक्षा निकायका चालक, मेसमा काम गर्ने सबैको स्वास्थ्य परीक्षण गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो । 

अवस्था जटिल रहेकाले यस्तो बेला आफैँ सचेत हुन स्वास्थ्य मन्त्रालयले पटक–पटक आग्रह गर्दै आएको छ । कोरोना भाइरसले जसलाई पनि आक्रमण गर्न सक्ने हुँदा व्यक्ति आफै सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउनुहुन्छ । 

नागरिकको सुरक्षाका लागि खटिनुपर्ने भएकाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षाका सामग्री लगाएर सेवामा खटिनुपर्ने उहाँको भनाइ छ । 

कम्तीमा व्यक्तिसँग दुई मिटरको दुरी कायम गर्न, उचित तरिकाले मास्क लगाइ राख्न, बेलाबेलामा साबुन पानीले हात धुन र स्यानिटाइजर लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया