कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मीकाे सङ्ख्या दोब्बरले बढायाे

 साउन २०, २०७७ मंगलबार १३:४५:४८ | रासस
unn.prixa.net

दार्चुला – भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । 

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासी बताउँछन् । 

‘विगतमा यतिका भारतीय सुरक्षाकर्मीकाे गाडी यस सडकखण्डमा आउँदैन थिए’, व्यास-२ का मुकेश बुढाथोकीले भन्नुभयो, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गएकाे असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेका थिए ।’ 

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिनुभयो । 

नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भू–भागमार्फत् डोजर ल्याइ आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । 

नेपाली भू–भागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्नुहुन्छ, ‘ठाउँ–ठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।’

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् । 
    
व्यासका स्थानीयवासी भन्छन्, ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।’ भारतीयले अहिले कालापानीभन्दा तल आइ नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवत जावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजिकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । 

नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया