स्वास्थ्यकर्मी, चाैकीदार र भान्सेलाई काेराेना सङ्क्रमण

 साउन २०, २०७७ मंगलबार २०:२८:४४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलारी गाउँपालिकाकाे क्वरेण्टीनमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्से कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । वडा नम्बर १ को हसुलियामा रहेकाे दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा कार्यरत उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिनुभयाे ।  

स्वास्थ्यकर्मीसहित क्वरेण्टीनमा काम गर्ने व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षण गरिने जनाइएको छ । ‘सङ्क्रमितको कन्ट्याक्टमा आएका कर्मचारीसहित सबैकाे स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउँछौं’, सापकोटाले भन्नुभयाे । 

उहाँका अनुसार सङ्क्रमित पुष्टि भएका स्वास्थ्यकर्मी एक दिन घर पनि गएका छन् । यसैगरी उहाँको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन् । आइसोलेसनमा राखिएका सम्पूर्ण सङ्क्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सापकोटाले बताउनुभयाे ।

‘हसुलियामा रहेकाे आइसोलेसनमा रहेका सङ्क्रमितलाई साेमबार मात्रै निको बनाएर घर पठाउने कार्य भएको थियो’, उहाँले भन्नुभयाे, ‘अरु सङ्क्रमितको रिपोर्ट निगेटिभ बनाउँदा बनाउँदै हाम्रै कर्मचारीको रिपोर्ट पोजेटिभ आयो ।’ सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित अन्यलाई हसुलियाको दीपेन्द्र माविकाे आइसोलेसनमा राखिएकाे सापकोटाले जनाउनुभयाे ।   

कैलारी गाउँपालिकामा मङ्गलबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये चार जना सङ्क्रमितको ‘ट्राभल हिस्ट्री’ भने अन्यत्रबाट काम गरेर आएको रहेको छ ।  उनीहरु बैजपुरकाे क्वरेण्टीनमा थिए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया