अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लकडाउनका बेला घरमा थुनिएर बस्नुपर्दा धेरैलाई लागेको थियो, कोभिड १९ नामक महामारीको अन्त्य चाँडै हुनेछ । लकडाउन खुल्दा स्कुल खुल्ने छन्, गाडी चल्नेछन्, मानिसको आवत जावत सहज हुनेछ । केही महिनापछि काम, कमाइ, व्यापार, व्यवसाय पहिलेकै गतिमा फर्किनेछ भन्ने सोचेर धेरैले लकडाउनको समयलाई चाडबाडका रुपमा प्रयोग गरे ।
लकडाउनको अन्त्यसँगै पसल खुले तर ग्राहक आएनन् । अहिले बस चलेका छन् तर यात्रु छैनन् । महामारी नरोकिएका कारण स्कुल खुल्ने कुरै भएन, केटाकेटी घरमै बस्न बाध्य छन् । लकडाउन खुकुलो हुँदै जाँदा अहिले महामारी पनि फैलिँदै गएको छ ।
कोभिड महामारी कहिले अन्त्य होला र जिन्दगी पुरानै लयमा फर्किएला भन्ने चिन्ताले अहिले धेरैलाई सताएको छ । आम नागरिक झैँ स्वास्थ सेवा दिने व्यक्ति र संस्था, अनुसन्धानकर्ता र संसारभरिकै सरकार पनि महामारीको अन्त्य कसरी चाँडै अन्त्य हुन्छ भन्ने चिन्तनमा छन् । तर अहिलेसम्मको इतिहासले हामीलाई भन्छ कुनै पनि महामारीको अन्त्य सजिलोसित भएको छैन ।
महामारीको इतिहासका अध्येताहरु अहिलेसम्म संसारका सबै महामारी दुई तरिकाले मात्र समाप्त भएका उदाहरणहरु दिन्छन् । अहिलेसम्मका धेरै महामारीको अन्त्य मानिसको मनको डरको अन्त्यसँगै भएको छ भने एउटा महामारीको अन्त्य चाहिँ औषधिबाट भएको छ ।
संसारमा फैलेका अनेक महामारीमध्ये एउटा मात्र महामारी खोप वा औषधिबाट अन्त्य भएको छ । औषधिले अन्त्य गरेको एउटा मात्र महामारी हो बिफरको महामारी । संसारबाट सधैँका लागि सन् १९७७ मा अन्त्य भएको बिफरको महामारीले यो संसारमा तीन हजार वर्षसम्म राज गर्यो । बिफर लागेर मरेका मानिसको सङ्ख्या इतिहासले पनि रेकर्ड राख्न सकेको छैन । नेपालमै पनि बिफर लागेर एक जना राजा, रानी र युवराजको मृत्यु भएको कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । बिफर आजभन्दा ५० वर्षअघि सम्म पनि डरलाग्दो महामारी थियो, जुन केही वर्ष बिराएर आइरहन्थ्यो । बिफर लागेका १० जनामा तीन जनाको ज्यान जान्थ्यो, बाँचेकाहरुले छालामा कहिल्यै नमेटिने विरुप दागहरु बोकेर बाँच्नु पर्यो । आज पनि हामी बिफरको महामारीबाट बचेका मानिस भेट्छौँ ।
सन् १९७७ मा संसारबाट बिफरलाई सधैँका लागि बिदाइ गर्ने अन्तिम बिरामी थिए, अफ्रिकाको सोमालियाका अलि माव मालिन । मालिनपछि आजसम्म कसैलाई बिफर लागेको छैन । सन् १९७७ मा बिफरबाट निको भएका मालिनको सन् २०१३ अथवा आजभन्दा सात वर्षअघि कुनै बेला चलेको अर्को महामारी औलो अथवा मलेरिया लागेर मृत्यु भएको थियो ।
बिफरपछि मानव सभ्यतालाई अति नै तर्साएको र सताएको अर्को महामारी हो प्लेग । कहिले प्लेग र कहिले ब्ल्याक डेथ नाम पाएको यस महामारीले संसारलाई दुई हजार वर्षसम्म आतङ्कित पार्यो । मानिसलाई दुई हजार वर्षसम्म आतङ्कित बनाएको प्लेगले इसा पूर्व र छैठौँ शताब्दीमा कतिको ज्यान लियो भन्ने स्पष्ट इतिहास पनि भेटिँदैन । तर चौधौँ तथा उन्नाइसौँ शताब्दीमा चलेको प्लेगको महामारीले करोडौँ मानिसको ज्यान लियो । महामारीको इतिहासका अध्येताहरु भन्छन्– सन् १३३१ मा चीनमा सुरु भएको यो महामारीमा परेर चीनको आधा जनसङ्ख्या कालको मुखमा पुग्यो ।
त्यसको १५ वर्षपछि सिल्क रोडको व्यापारिक बाटो भएर व्यापारीहरुसँगै प्लेगको महामारी युरोप, अफ्रिका र मध्यपूर्वका देशहरुमा पुग्यो र फैलियो । सन् १३४७ देखि ५१ सम्मका चार वर्षमा प्लेगले युरोपको एक तिहाइ जनसङ्ख्यालाई कालको मुखमा धकेल्यो । मध्यपूर्वका देश र अफ्रिकामा लाखौँ मानिस प्लेगबाट मरे ।
चौधौँ शताब्दीकाे प्लेग कसरी रोकियो भन्ने स्पष्ट जानकारी अहिले पनि भेटिएको छैन । तर पाँच सय वर्षपछि सन् १८५५ मा फेरि पनि प्लेगको महामारी चीनबाटै सुरु भयो र संसारभर फैलियो । उन्नाइसौँ शताब्दीमा आएको प्लेगको महामारीले भारतमा मात्रै एक करोड २० लाख मानिसको प्राण लियो । भारतको मुम्बईमा महामारीले लाखौँ मानिस मरेपछि रोग फैलिन नदिन वरपरका गाउँहरु आगो लगाएर नष्ट गरिएका थिए । त्यसपछि यो महामारी आफै शिथिल हुँदै गयो ।
तर प्लेग सधैँका लागि अन्त्य भएको छैन, कमजोर मात्र भएकाे छ । प्लेग कसरी थामियो भन्ने कुरामा अध्येताहरुका बीच अलग–अलग मत छन् । एक थरि भन्छन्– काला रङ्गका मुसाहरु खैरा भएपछि प्लेग आफै कमजोर भयो । अर्कोथरि मुम्बई वरपरका गाउँ जलाएपछि यो कमजोर भयो भन्ने मत राख्छन् र केही अध्येताहरु प्लेगलाई मानिसमा विकसित भएको रोग प्रतिरोधी क्षमताले जितेको तर्क गर्छन् ।
प्लेगसँगै त्यसको अघि र पछि पनि यो संसारमा अनेक महामारी फैलिए । सय वर्षअघि फैलिएको स्पेनिस फ्लुमा परेर संसारमा पाँच करोडदेखि १० करोडसम्म मानिस मरेको इतिहास भेटिन्छ । सन् १९१८ मा संसार पहिलो विश्व यद्धकाे उत्कर्षमा थियो । तर गोलीले भन्दा महामारीले धेरै सिपाही मर्न थालेपछि पहिलो विश्व युद्धमा जाने सिपाही भएनन् । फलतः स्पेनिस फ्लु महामारी पहिलो विश्व युद्ध रोक्ने एउटा मुख्य कारण बन्न पुग्यो । विश्व युद्धकाे समाप्तिपछि पनि स्पेनिस फ्लुले मानिसलाई आजसम्म सताइरहेकै छ तर अब यो महामारीको रुपमा छैन । हामीलाई लाग्ने रुघाखोकीका रुपमा बर्सेनि आइरहन्छ ।
बितेको सय वर्षमा पनि एक दर्जनभन्दा धेरै महामारी फैलिएका छन् र ती कुनै पनि महामारी बिफर जसरी औषधिले उन्मूलन भएका छैनन् तर सबै रोग स्वास्थ विज्ञानको नियन्त्रणमा छन् । अहिलेको कोरोना जस्तै महामारीका रुपमा फैलिएको हङकङ फ्लु, सार्स, मर्स सबै रोगका भाइरस यो संसारमा जीवित छन् । श्वासप्रश्वास बाहेकका झाडापखाला, हैजा, एचआईभी, औलो, डेङ्गी जस्ता यो शताब्दीमा चलेका महामारीमा परि मर्नेको सङ्ख्या पनि अर्बकाे छेउछाउ पुगेको छ ।
यी सबै रोगका किटाणु र जीवाणु मानिसको शरीरमा आज पनि छन् तर कुनै बेला महामारी मानिएका यी रोगहरु आज जीवित भए पनि खोप, औषधि र आनीबानीका कारण मान्छेको नियन्त्रणमै छन् । इतिहासका अध्येताहरु यी धेरै महामारी कसरी रोकिए भन्ने प्रश्नको जवाफ खोज्दा एउटै मतमा पुगेका छन् । त्यो मत हो, यी महामारीको अन्त्य मानिसको मनबाट डरको अन्त्यसँगै भएको छ ।
महामारीले बिरामी पार्नुअघि महामारीको त्रासले मानिसलाई थला पार्छ । इबोला र अहिलेको कोरोना यसका ज्वलन्त उदाहरण हुन् । सन् २०१४ मा इबोलाका कारण दक्षिण अफ्रिकामा ११ हजार मानिस मर्दा पनि विश्व स्वास्थ सङ्गठनले इबोलालाई महामारी भनेर घोषणा गरेको थिएन तर त्रास संसारभर फैलिसकेको थियो । इबोला महामारीको घोषणा हुनासाथ युरोपमा महामारीको त्रास डढेलो जसरी फैलियो । काला जातिका मानिस बिरामी भएर अस्पताल जाँदा डाक्टर र नर्सहरु इबाेला लाग्ला भनेर परपरै तर्कन्थे । अथवा युरोपमा इबाेला रोग पुगेको थिएन तर त्रास फैलिसकेको थियो ।
अहिलेको कोरोनाका सन्दर्भमा त्रासको महामारीको यही उदाहरण लागू हुन्छ । चीनको वुहानबाट सुरु भएका कारण नेपालमा पहिले पहिले चिनियाँ नागरिक देख्दासमेत मानिस तर्सन्थे । युरोपमा कोरोना फैलिएका बेला फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालमा लकडाउन नै सुरु भयो ।
विदेशबाट र भारतबाट घर फर्केका नेपालीलाई कोरोना सङ्क्रमणको बिउ ठानियो । उनीहरुलाई आफ्नै घर, छिमेक र समाजले हेँलाहोचो, अपमान र दुर्व्यवहार गर्यो । बाहिरियाहरुले रोग सार्छन् भनेर लकडाउनका बेला टोलमा पस्ने बाटाहरु बन्द गरिए, काठमाण्डाै पस्ने नाकामा र अस्पतालमा काम गर्ने स्वास्थकर्मीहरु अपमानित भए । आफ्नै छिमेकीसमेत शत्रु र आफन्तसमेत टाढाका मान्छे ठानिए । अथवा कोरोना महामारीको लक्षणभन्दा धेरै छिटो महामारीको डर फैलियो । तर अहिले त्यो डर कम हुँदै गएको छ । कोभिड १९ का खोप र औषधिका उपायहरुमा तीव्र काम भइरहेका छन् । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा इतिहासका अध्येताहरु भन्न थालेका छन्, यो महामारीको अन्त्य पनि मनको डर सकिएपछि हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गोपाल गुरागाईं चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ।
Yogi Yam
Aug. 25, 2020, 8:23 a.m.एकदम सकारात्मक विचार भएको खबर / यो लेख पढेर सबैको मनमा हौसला र बाँच्ने उत्साह आउँछ / आज सामाजिक संजाल र र टेलिभिजन अनि पत्रिकामा नेगेटिभ खबर सुन्दा सुन्दा वाक्क भएकाहरुलाई यस्तो खबरले उत्साह दिन्छ / धन्यवाद ! .