बिरामीकाे उपचार नगरि फिर्ता पठाउने अस्पताललाई कारबाही गरिने

 साउन २३, २०७७ शुक्रबार १४:३१:२० | केसी लामिछाने
unn.prixa.net

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरि बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारबाही गर्ने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

वीरगञ्जमा सञ्चालनमा रहेका निजी अस्पतालहरुले बिरामी अस्पतालभित्र प्रवेश गर्न नदिइ फिर्ता पठाउने गरेका थिए ।

वीरगञ्ज सङ्घ सरकार मातहतमा रहेको उपक्षेत्रीय स्तरको नारायणी अस्पतालबाहेक एउटा शिक्षण अस्पताल सहित एक दर्जनभन्दा बढी निजी अस्पताल रहेका छन् । निजी अस्पतालले ज्वरो, रुघाखोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै नदिने गरेकाे पाइएकाे छ । अस्पतालको चक्कर लगाउँदा लगाउँदै काेभिड–१९ काे आशङ्कामा उपचार नपाएर धेरैले ज्यान गुमाएकाे घटना सार्वजनिक भएका छन् । 

यही अवस्थालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालालाई कारबाहीको चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सबै अस्पताललाई आफ्नो अस्पतालमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । बिरामीको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्देशन अस्पताललाई दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिनुभयो  ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना नै निकालेर निजी अस्पताललाई निर्देशन दिँदै निर्णयको बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलबाड गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले दिएको निर्देशनमा ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका बिरामीहरुलाई अस्पतालहरुले जाँच तथा उपचार नै नगरि फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अबदेखि जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गरी आफूकहाँ आएका बिरामीहरुको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने’ उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया