गाईजात्रामा मनोज गजुरेलको बहुरुप

 साउन २४, २०७७ शनिबार ८:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  कोरोनाको कारण यसवर्ष गाईजात्रा हुने नहुने अन्योल भैरहेको बेला मनोज गजुरेलसहितका कलाकारहरुले फरक ढंगले गाईजात्रा प्रस्तुत गरेका छन् । अघिल्ला वर्षहरुमा स्टेजमा हुने गाईजात्राको प्रस्तुति यसवर्ष डिजिटल माध्यमबाट भएको हो  । 

'कोभिड-१९ को त्रास र पीडाबीच आशा र हौसलाको कोसेली-२०७७ सालको गाईजात्रा' नाम दिएर टेलिभिजन र यूट्युब च्यानलमार्फत गाईजात्रा प्रस्तुति भएको हो । 

गाईजात्रामा गजुरेलसँगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी, धुर्मुस सुन्तली, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, सुमन कार्की, शिवशंकर रिजाल, रवि डंगोल, यमन श्रेष्ठ, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, पशुपति शर्मा लगायत दुई दर्जनभन्दा बढी कलाकारहरुले समसामयिक विषयमा व्यङ्ग्यात्मक प्रस्तुति गरेका छन् । 

हरेक वर्षको गाईजात्रामा भिन्नाभिन्नै रुपमा देखिँदै आएका मनोज गजुरेलले यस वर्षको गाईजात्रामा  मुख्य ६ भूमिकामा देखिएका छन्। 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम, भारतका विवादस्पद टेलिभिजन पत्रकार अर्नब गोस्वामी, को–पाइलट प्रचण्ड, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुजारीको भेषमा स्वामी मनोजानन्द तथा आदिकवि भानुभक्त अनि चालीस वर्षपछिको स्वयं मनोज गजुरेलको भूमिकामा उनले राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसंगतिमा व्यङ्ग्य गर्दै सामाजिक सन्देश पनि दिएका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसको क्यारिकेचर गर्दै उनले स्वास्थ्यसम्बन्धी सन्देश दिएका छन् । साथै महामारीको बेला स्वार्थको राजनीतिक गर्ने विश्वका शक्ति राष्ट्रहरुलाई पनि व्यङ्ग्य गरेका छन् । 

टेड्रोससँगै मनोजको भारतीय टिभी पत्रकार अर्नब गोस्वामीको क्यारिकेचर पनि आकर्षक छ । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अर्नबले यसलाई अतिरञ्जित बनाएर नेपालको सार्वभौमिकतामाथि प्रहार गर्दै भ्रम छरेको विषयलाई मनोजले रोचक तरिकाले व्यङ्ग्य गरेका छन् । 

यसमा उनलाई अर्का कलाकार सुमन कार्कीले साथ दिएका छन् । सुमन नेपालका पत्रकार ऋषि धमलाको भूमिकामा छन् । चर्को स्वरमा बोल्ने र अरुलाई बोल्न नदिएर आफ्नै कुरा लाद्न खोज्ने अर्नबको प्रवृत्तिलाई यो क्यारिकेचरमार्फत व्यङ्ग्य गरिएको छ । 

मनोजको अर्को आकर्षक प्रस्तुति हो, पाइलटको भूमिकामा पुष्पकमल दाहाल प्रचण्ड । यसमा उनलाई अर्का चर्चित कलाकार सीताराम कट्टेलले साथ दिएका छन् । कट्टेल केपी शर्मा ओलीको भूमिकामा छन् । 

दुवै पाइलटको रुपमा जहाजभित्र छन् । नेकपाभित्रको आन्तरिक विवादलाई यो प्रस्तुतिले रोचक र व्यङ्ग्यात्मक रुपमा दुरुस्तै उतारेको छ । जहाजको ककपिटमा बसेर दुई पाइलट एकआपसमा दोषारोपण गर्छन् । क्यारिकेचरमार्फत दोषारोपण मात्रै गर्ने र जनभावनाको कदर नगर्ने हो भने कुनै न कुनै बेला दुर्घटना हुन सक्छ भन्ने सचेत गराइएको छ । 

मनोजले सीतारामसँग मिलेर ओली र प्रचण्डको भूमिकामा यसअघि पनि धेरै प्रस्तुति गरिसकेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर पनि धेरैपटक गरिसकेका छन् । यसपटक पनि उनले ट्रम्पको क्यारिकेचर गरेका छन् । 

कोरोना सङ्क्रमण बढ्दै गर्दा ट्रम्पले हृवाइट हाउसमा हिन्दु पुजारी बोलाएर स्वस्ति शान्ति गरेका थिए । ट्रम्पको त्यही स्वस्ति शान्तिलाई मनोजले क्षमा पूजाको रुपमा नक्कल गरेका छन् । यो प्रस्तुतिमा उनको डबल रोल छ, ट्रम्प र पुजारी । 

यस्तै यसपटक मनोज गजुरेल आदिकवि भानुभक्त आचार्यको रुपमा पनि देखिएका छन् । यस क्यारिकेचरमा चालीस वर्षपछिको समाज, प्रविधि र कमेडीको अवस्थालाई देखाउन खोजेको मनोजले बताए । यसमा उनले कोरोनापछि विश्वले एकजुट भएर आर्थिक विकास गरेको कल्पना पनि गरेका छन् ।

कोरोना महामारीको कारण यसवर्ष स्टेजमा गाईजात्रा प्रदर्शन हुन सकेन । त्यसैले मनोज र उनको टिमले टेलिभिजन र यूट्युबको डिजिटल माध्यमबाट गाईजात्रे प्रस्तुति गरेको हो ।

स्टेज र डिजिटल माध्यममार्फत हुने गाईजात्रामा के फरक हुँदो रहेछ त भन्ने उज्यालोको जिज्ञासामा मनोजले भने, ‘स्टेजमा लाइभ हुने भएकाले मज्जा हुन्छ, तर परिस्थितिले यसवर्ष टिभी र यूट्युबमार्फत प्रस्तुति गर्दा पनि मज्जा भयो । स्टेजमा दर्शक सीमित हुन्थे, तर अहिले टिभी र यूट्युबमार्फत संसारभर पुग्न पाएका छौं ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया