रुकुम पश्चिमको खलङ्गामा निषेधाज्ञा

 साउन २७, २०७७ मंगलबार १६:५५:१६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिकाको खलङ्गा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै बुधबार बिहान ४ बजेदेखि भदौ २ गतेसम्म सदरमुकामको खलङ्गामा निषेधाज्ञा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मङ्गलबार सार्वजनिक सूचना निकालेर सदरमुकामको खलङ्गा बजार क्षेत्रमा निषेधाज्ञा गरिएको जनाएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलङ्गा बजार हुँदै शीतलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै वडा नम्बर ६ को कार्यालयभित्रको क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम चार किल्ला उल्लेख गरी पूर्णतया निषेध (क्षेत्र सिल) गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ । अत्यावश्यक कामका लागि पास भएका तथा बिरामी बोकेका एम्बुलेन्स मात्रै सञ्चालन गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।

सिल गरिएको क्षेत्रमा अति आवश्यक सेवा भने सञ्चालन रहने छ । प्रशासनको निर्णय उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । सदरमुकाम खलङ्गा बजारका एक व्यवसायीलाई सोमबार कोरोना सङ्‍क्रमण पुष्टि भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया