मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना सङ्क्रमण

 साउन २९, २०७७ बिहिबार १३:८:४८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुर जिल्लामा बिहीबार एकैदिन अहिलेसम्मकै धेरै ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हेटौँडा ९ का सात जना, हेटौँडा ५ का चार जना, हेटौँडा ४ का चार जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको चौलागाईंले बताउनुभयो । चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको हो । 

मकवानपुरमा अहिलेसम्म एक सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

प्रहरी पनि जोखिममा

कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुर प्रहरी पनि जोखिममा परेको छ । हेटौँडामा समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै यसको जोखिममा प्रहरी पनि परेको हो । 

हेटौँडाका विभिन्न स्थानमा कार्यरत १६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मातहत रहेको हटिया र बसपार्कमा कार्यरत १३ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । 

बिहीबार १० प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये तीन जना प्रदेश प्रहरी कार्यालय हेटौँडाका रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया