त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

 साउन ३०, २०७७ शुक्रबार ८:१६:१४ | रासस
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ को गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । 

खानीबाट ढुङ्गा निकाल्ने स्काभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । उहाँ सम्पर्कविहीन भएपछि बेहोस हुनुभएकी उहाँको पत्नीलाई राति नै नौखण्डैको स्वास्थ्यचौकी पुर्याएर उपचार गरिएको छ ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया