लकडाउन खुकुलो पारेपछिका दुई महिनामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

 साउन ३०, २०७७ शुक्रबार ११:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउन खुकुलो पारेपछिको दुई महिनामा नेपालमा २० हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएको पाइएको छ ।

सरकारले आर्थिक क्रियाकलाप सञ्चालन गर्नको लागि जेठ २९ गतेदेखि लकडाउन खुकुलो बनाएको थियो । लकडाउनको खुकुलो हुनु अघिल्लो दिन जेठ २८ गते ४ हजार ३ सय ६४ जना कोरोनाका सङ्क्रमित थिए ।

लकडाउन खुकुलो भएकै दिन जेठ २९ गते २ सय ५० जना सङ्क्रमित थपिएपछि ४ हजार ६ सय १४ पुगेको थियो । त्यसयता दुई महिनामा २० हजार ३ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो विवरणअनुसार नेपालमा २४ हजार ९ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

फोटो स्रोत : स्वास्थ्य मन्त्रालय

लकडाउन खुकुलो भएपछि कोरोनाको सङ्क्रमण र जोखिम थप बढ्दै गएको तथ्याङ्कले देखाएको छ । लकडाउन खुकुलो पारेपछिको दुई महिना बित्दा कोरोनाको जोखिम र सङ्क्रमण रोकथाम हुनुको सट्टा बढ्दो छ । जेठको ३२ गते ५ हजार ७ सय ६० जना कोरोनाबाट सङ्क्रमित भएकोमा असार १ गते ४ सय ५१ जना थप भएपछि सङ्क्रमितको संख्या ६ हजार २ सय ११ पुगेको थियो । असार महिनाका ३० दिनमा झण्डै ११ हजारमा सङ्क्रमण पुष्टि भएको थियो । 

असारको ३१ गते १७ हजार १ सय ७७ जना सङ्क्रमित पुगेकोमा साउन १ गते १ सय ६७ जना थपिएसँगै १७ हजार ३ सय ४४ पुगेको थियो । साउनको पहिलो हप्ता सङ्क्रमितको संख्या १८ हजार नाघ्यो । सरकारले साउन ६ गते राति लकडाउन हटाउनुअघि १७ हजार ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १५ गतेसम्म सङ्क्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो । त्यसपछिका हिजोसम्म ५ हजार ४ सय १० जना थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार साउनका २९ दिनमा मात्रै ७ हजार ७ सय ८० जना नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये १६ हजार ८ सय ३७ जना निको भएका छन् । निको हुनेको दर ६७ दशमलव ५ प्रतिशत रहेको छ ।

सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेको थियो । झण्डै चार महिनापछि सरकारले साउन ६ गते रातिदेखि लकडाउन हटाएको थियो । लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । हिजो ५ दशमलव ३३ प्रतिशत पोजेटिभ देखिएका छन् । 

काठमाण्डौसहित पर्सा, रौतहट र महोत्तरी, मोरङ, बाँकेलगायतका जिल्लामा सङ्क्रमण बढ्दै गएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाण्डौका रहेका छन् । काठमाण्डौ, पर्सा, रौतहट र महोत्तरी ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सूचीमा छन् ।

स्वास्थ्य मापदण्ड नअपनाउँदा सङ्क्रमण र जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । मास्क लगाउने र दुई मिटर दूरी कायम गर्ने हो भने पनि सङ्क्रमण फैलनबाट रोक्न सकिने उहाँको भनाइ छ । सङ्क्रमण बढेका जिल्ला र पालिकाले सिल गर्नेदेखि निषेधाज्ञा गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया