साइबर अपराध बढ्दो : पहुँच पुग्यो, चेतना पुगेन !

 साउन ३१, २०७७ शनिबार १२:५६:२५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - गएको २४ गते शनिबार काठमाण्डौको गोंगबुमा दाङका कृष्णबहादुर बोहोराको विभत्स हत्या भयो । हत्या आरोपमा प्रहरीले चितवनकी कल्पना मुडभरी (पौडेललाई) सार्वजनिक गर्यो । 

प्रहरीका अनुसार यो हत्याको प्रमुख कारण फेसबुकमा आदानप्रदान गरिएको फोटो र त्यसपछि गरिएको ब्ल्याक मेलिङलाई मानिएको छ । उनीहरुबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । 

यस्तै गएको साउन १८ गते सामाजिक सञ्जालमार्फत सम्पर्क गरी पोल्याण्ड लगिदिन्छु भन्दै  १७ लाख रुपैयाँ रकम लिई ठगी गरेर सम्पर्कविहीन भएकी कमलाकुमारी थापालाई प्रहरीले पक्राउ गर्यो । 

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटना बढेको छ । फेसबुक, ट्वीटर, भाइबर र गुगलको प्रयोगको माध्यमबाट जघन्य हत्यादेखि लुटपाट, ठगी लगायतका घटना बढ्ने गरेको पाइएको छ । 

एक वर्षको अवधिमा ९ सय ६० उजुरी 

आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ९ सय ६० वटा साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । जसमध्ये महिलामाथि भएका साइबर अपराधका ५ सय ७७ घटना दर्ता भएका छन् भने पुरुषमाथि ३ सय ८३ घटना दर्ता भएका छन् । अघिल्लो साउन महिनामा १ सय ६३ वटा घटना दर्ता भएकोमा पुरुष सम्बन्धी ६० र महिला सम्बन्धी १ सय ३ वटा दर्ता भएको थियो । 

यस्तै भदौमा ९५ महिला र ५८ पुरुष गरी १ सय ५३, असोजमा ४२ महिला र २८ पुरुष गरी ७०, कात्तिकमा ३६ महिला र ५४ पुरुष गरी ९०, मंसिरमा ५६ महिला र २९ पुरुष गरी ८५, पुषमा ४४ महिला र २९ पुरुष गरी ७३, माघमा  ५८ महिला र ४२ पुरुष गरी १ सय, फागुनमा ४४ महिला र ३० पुरुष गरी ७४, चैतमा १५ महिला र १० पुरुष गरी २५, वैशाखमा १३ महिला र ४ पुरुष गरी १७, जेठमा २९ महिला र १८ पुरुष गरी ४७, असारमा ४२ महिला र २१ पुरुष गरी ६३  वटा मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । 

कतिलाई भयो कारबाही ? 

आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका मुद्दामध्ये २५ वटा मुद्दामा फैसला भई दोषीलाई कारबाही भएको प्रहरीले जनाएको छ । ४७ वटा घटनामा मिलापत्र भएको छ । २६ वटा घटनामा दोषीलाई पक्राउका लागि पत्राचार गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताउनुभयो । यस्तै १ सय ९७ वटा घटनाबारे अदालतमा बहस चलिरहेको छ । 

अपराधमा संलग्न २० देखि ३० वर्षसम्मका धेरै

महानगरीय अपराध महाशाखाले तयार पारेको साइबर अपराध सम्बन्धी घटनामध्ये अपराधमा संलग्न २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात ५० प्रतिशत पाइएको छ । २० वर्ष मुनिका १६ प्रतिशत रहेका छन् भने ३० देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत र ४० देखिमाथिका जम्मा ९ प्रतिशत मात्रै घटनामा संलग्न रहेको पाइएको छ ।

संख्याका हिसाबमै हेर्ने हो आर्थिक वर्ष ०७६/०७७  को साउन महिनामा २० वर्षमुनिका १ सय ४७ जना मात्रै घटनामा संलग्न भएका छन् । यस्तै २० देखि ३० वर्षका ४ सय ८७ जना, ३० देखि ४० वर्षका २ सय ३६ जना, र ४० देखि माथिका ९० जना रहेका छन् । 

विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा  एक लाख रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ । साइबर अपराधबाट मानिस घरबार विहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको  महानगरीय अपराध महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

पहुँच पुग्यो, तर चेतना पुगेन

समाजशास्त्री दिनेश प्रसाईं साइबर अपराध बढ्नुको मुख्य तीन वटा कारण भएको बताउनुहुन्छ । उहाँका अनुसार पहिलो कारण प्राविधिक, दोस्रो सामाजिक र तेस्रो कानुनी कारण हो । 

सामाजिक सञ्जाल गाउँगाउँसम्म पुग्यो, तर मानिसले सही सदुपयोग गर्न जानेनन् । मोबाइल फोनमा नचिनेका मानिससँग कुरा गर्नु हुँदैन, जसलाई पनि साथी बनाउनु हुँदैन भन्ने कुराको जानकारी नभएकाले पनि साइबर अपराध बढेको उहाँ बताउनुहुन्छ । कस्ता जानकारी सेयर गर्ने, कस्ता नगर्ने, पासवर्डको प्रयोग कसरी गर्ने, अरुलाई दिने कि नदिने लगायतका बारेमा जानकार हुनुपर्छ। 

उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय मानिसको काम, क्रोध, लोभ, मोह सबै अभिव्यक्त गर्ने माध्यम फेसबुक बन्दै गएको छ । मानिसको भौतिक दूरी बढ्दै गएको अवस्थामा सामाजिक सञ्जालमा धेरै अभ्यस्त भएकाले पनि समस्या भएको हो । यस्ता कुरामा अभिभावकले पनि आफ्ना छोराछोरीलाई जानकारी गराउनुपर्ने र सजग बनाउनुपर्ने हुन्छ ।’ 

२० देखि ३० वर्ष उमेर समूहका व्यक्ति साइबर अपराधमा धेरै संलग्न हुने पाइएकाले यो उमेरका मानिसलाई सचेत बनाउन उहाँको आग्रह छ । कतिपय व्यक्ति भने कानुनी पाटो थाहा नभएर पनि साइबर अपराधमा संलग्न भएका हु्न्छन् । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलमा नयाँ खाता खोलेर अपराध गर्ने घटना बढेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार व्यक्तिगत रुपमा विभिन्न सावधानी अपनाउन सकियो भने साइबर अपराधबाट धेरै हदसम्म बच्न सकिन्छ । 

·    आफू आफैंप्रति इमान्दार बन्ने र संभावित खतराप्रति सजग रहने

·    नचिनेका व्यक्तिहरुलाई आफ्नो पृष्ठभूमि, पारिवारिक जानकारी तथा परिचय नदिने

·    अनावश्यक रुपमा अपरिचित व्यक्तिहरुसँग सम्बन्ध नबढाउने

·    सकेसम्म रातको समयमा हिँडडुल नगर्ने, रातको समयमा बाहिर जानैपर्ने भएमा साथी लिएर जाने

·     अनावश्यक रुपमा गहना तथा बहुमूल्य सामान तथा सम्पति आदिको प्रदर्शन नगर्ने ।

·    आफ्नो क्रियाकलाप तथा कार्यक्रमहरुको बारेमा आफ्नो परिवारका सदस्यहरुलाई जानकारी दिएर हिँड्ने । 

·    नजिकको प्रहरी तथा सुरक्षा निकायहरुको सम्पर्क नम्बर राख्ने र आवश्यक परेमा तुरुन्त खबर गर्ने । 

·    साथमा आफ्नो परिचयपत्र, रक्त समूह र पुरानो रोगकोबारेमा समेत जानकारी खुल्ने कागजातहरु राख्ने ।

·    सशंकित व्यक्तिले प्रयोग गर्ने गाडी, मोबाइल, टेलिफोन र निजको साथी/संगति एवं हुलियाको बारेमा बढीभन्दा बढी 

जानकारी लिने
·    कुनै पनि आपत विपत परेमा १०० मा फोन गरी जानकारी दिने र सहयोग लिने गर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया