'घना बस्तीलाई कोरोना सङ्क्रमणको चपेटामा पर्नबाट जोगाऔँ'

 साउन ३२, २०७७ आइतबार १२:४८:४० | लिलामणि पौड्याल
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । 

गएको डिसेम्बरको अन्तिम हप्तादेखि चीनको वुहानमा यो भाइरसको सङ्क्रमण सुरु भएको थियो । नेपालमा गएको माघ १० गते एक विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखा परेको थियो । उनी चीनको वुहान क्षेत्रमा अध्ययन गरेर नेपाल आएका थिए ।

त्यसपछि अहिलेसम्म नेपालमा २६ हजार बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । ज्यान गुमाउने पनि सय नाघेका छन् । दिनहुँ बढ्दै गएको कोरोना भाइरसको सङक्रमण वीरगञ्ज र काठमाण्डौमा अनियन्त्रित  रुपमा फैलिन सक्ने सम्भावना छ । अरु घना बस्ती पनि कुनै पनि बेला सङ्क्रमणको तीव्र विस्तारको चपेटामा पर्न सक्छन् । अवस्था अलि गम्भीर बन्दै गएको देखिएको छ । 

जोखिममा रहेका समूह जो काममा जान्छन्, उनीहरूको नियमित परीक्षण जरुरी छ । जस्तै डाक्टर, अग्रभागमा रहेर काम गर्ने अत्यावश्यक कर्मचारी तथा सेना र प्रहरी, यातायात, वस्तु वा सेवा आपूर्तिमा संलग्नहरु । कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन (मोबाइल एप्सबाट सजिलै अधिकांश ट्रेसिङ हुन्छ) एकदमै ढिलो भयो । चिनियाँहरुले लकडाउनको एक हप्तामै मोबाइल एप्सबाट कन्ट्याक्ट ट्रेसिङ सुरु गरेका थिए ।

काममा निस्कने सक्रिय समूहसँग पाको उमेर, बालबच्चा तथा दीर्घरोगीलाई सम्पर्क हुन नदिने गर्नुपर्छ, यो सम्भव पनि छ । तर समुदाय, पालिका र स्वयंसेवकको एकीकृत परिचालनबाट मात्र । आफूसँग एकान्तवास सुविधा नभएका सङ्क्रमितको एकान्तवास व्यवस्था र सङक्रमण थाहा भएपछि जानीजानी लापरवाही गरेर रोग सारेमा कानुनी कारबाही गर्ने व्यवस्था हुनुपर्छ । यसमा सङ्घीय, प्रान्तीय तथा पालिका, व्यवसायी र नागरिक सबैका आ–आफ्ना भूमिका छन् । परिचालन गरौं र जिम्मेवार बनाउँ । यसको अगुवाइ र नेतृत्व लिने सरकारले नै हो ।

एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने सबै अनिवार्य क्वरेण्टीनमा बसौँ र राखौँ भन्दै आएको हो । त्यसमा कमजोरी भएकै हो । गाडीको पासमा यात्रा गर्न दिने कुरा नै ठीक होइन । यात्रा एकदम कडा बनाउँदा पहुँच नहुनेहरु अवैध बाटोबाट यात्रा गरे र उनीहरू सम्पर्कमा पनि छैनन् । पहुँच हुनेलाई यात्रामा कुनै समस्या भएन र उनीहरु पनि सम्पर्कमा छैनन् । दुवै वर्ग न क्वरेण्टीनमा बसे न त उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भयो । मैले त यात्रामा कडाइ होइन क्वरेण्टीनमा कडाई गरौँ भनि रहेको हो । तर सुनिएन ।

चिनियाँहरुले हुवेईबाहेक अन्यत्र अन्तरप्रदेश यात्रामा कडाइ होईन कन्ट्याक्ट ट्रेसिङ र क्वरेण्टीनमा जोड दिए । त्यसकारण बेइजिङ जस्तो ठूलो र चल्तीको शहरमा कहिल्यै पनि तीन सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएनन् । कोरोना अधिकतम नियन्त्रण भैसकेको ४ महिनापछि हाम्रा राजदूत बेइजिङ पुगेर १४ दिन क्वरेण्टीनमा बस्नुपर्यो । त्यहाँ छुट कसैलाई छैन ।

५ महिना पहिले पनि सेना, प्रहरी, सरकारी उच्च अधिकारी जोसुकै अनिवार्य क्वरेण्टीनमा बस्नुपर्थ्यो । कोरोनाले पद, पावर र पहुँच चिन्दैन र भन्दैन पनि । जस्तो उनीहरुका प्रहरी प्रमुख कोरोनाको सङ्क्रमित क्षेत्रमा बाढी पहिराे निरीक्षणमा गएमा फर्केपछि १४ दिन क्वरेण्टीनमा बस्थे । हरेक होटल रेष्टुरेन्ट, सपिङ मल, निजी, आवासीय समुदाय, अपार्टमेन्टमा बाह्यमान्छे प्रवेशमा कडाइ गरिन्थ्यो । हरेक प्रवेश र बाहिरिँदा मोबाइलबाट कन्ट्याक्ट ट्रेसिङ र ज्वरो नापिन्थ्यो ।

यो सबै हामी कहाँ स्वयंसेवक र पालिका तथा समुदाय परिचालनबाट सम्भव छ भन्दै आएको हो र म अहिले पनि त्यही भन्छु । मान्छेको आवागमनमा पालिका र समुदायलाई जिम्मेवार बनाउने हो । प्रहरीलाई होइन । न प्रहरीसँग को जोखिममा छ भन्ने सूचना हुन्छ, न को कहाँबाट आएर कहाँ बस्छ जानकारी छ । 

सुरुदेखि पालिका र समुदाय केन्द्रीय नियमन प्रणालीको वकालत गरेकै हो । साङ्गोपाङ्गो बुझाइ पनि भएन कि ? टुक्रामा आंशिक बुझाइबाट स्थिति जटिल नबनोस् । काठमाण्डौ, वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज शहर र घनाबस्ती सङ्क्रमण विस्तारका लागि एकदमै उच्च जोखिममा हुन्छन् । स्थिति भयावह हुन नदिन काम गर्ने प्रणाली अवलम्बन गरौँ । सबै जिम्मेवार बनौँ ।

(चीनका लागि पूर्व नेपाली राजदूत पौड्यालको फेसबुकबाट)

अन्तिम अपडेट: चैत २५, २०८०

लिलामणि पौड्याल

लिलामणि पौड्याल चीनका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया