कोभिड नियन्त्रण रणनीति बदलौँ

 भदौ २, २०७७ मंगलबार ९:२९:५३ | जीवन सापकाेटा
unn.prixa.net

काठमाण्डाै –  रहस्यमय तरिकाले कोरोना भाइरस मानव जातिमा सङ्क्रामक बनेको पनि आधा वर्ष बितिसक्यो । आजसम्म हामीले आर्जन गरेका ज्ञान, विज्ञान र आविष्कारका सम्पूर्ण उपलब्धिमाथि धावा बोल्दै विश्वभर कोरोनाको सङ्क्रमण फैलिएको छ ।

के यही प्राकृतिक बिपत्तिकै अधीनस्थ मृत्युवरण गर्नैका लागि हामीले यो विश्व व्यवस्था निर्माण गरेका हौं ? चन्द्रमा र मंगल ग्रहको दौड स्पर्धा चलिरहँदा हामीले मानव जातिभित्रका चुनौतीपूर्ण ब्ल्याकहोलहरु जानाजान त छोडेका होइनौँ ? दैनिक आठ घण्टा काम, मनोरञ्जन र आरामका विलासी घोषणापत्र बाँडेर विश्व व्यवस्था निर्माण गर्न किसान, मजदुर र श्रमजीवी नागरिकलाई अठार अठार घण्टा (ओभरटाइम) श्रम पसिना बगाउन बाध्य पार्‍यौं । आज तिनै मानिसहरु किन मारिइरहेछन् ? 

हामीले आफ्नो जिम्मेवारी र दायित्वमाथि निर्मम समीक्षा थाल्नुबाहेक, यो वैश्विक महामारीको पाठ अरु के हुन सक्छ ?

हामीले आफ्नो अस्तित्व रक्षाका लागि मिलेर जे जे गर्‍याैँ, पिँधमा रहेर योगदान गर्नेहरुले पनि कुनै कसर त बाँकी राखेनन्, सतहमा बसेर गर्नेहरुको गैर जिम्मेवारीका कारण नै यो संहार भइरहेको हो भन्न नमिल्ने कुनै कारण बाँकी छ त ? हामीले आफ्नो जिम्मेवारी र दायित्वमाथि निर्मम समीक्षा थाल्नुबाहेक, यो वैश्विक महामारीको पाठ अरु के हुन सक्छ ? यतिबेला हामी कोरोना कहरभित्रै छौं र प्रतिरक्षाका प्रभावकारी दृष्टिकोण, रणनीति, योजना र कार्यक्रम तय गर्नैपर्ने जिम्मेवारीभित्रै पनि छौं । 
हामीले कोरोनालाई कसरी बुझ्यौं ?

सूक्ष्म विषाणु, जुन वैश्विक महामारीको रुपमा फैलिएको छ, के यसलाई त्यही रुपमा बुझ्ने प्रयत्न गर्‍याैँ ? विश्व स्वास्थ्य संगठन जस्तो खर्बौं नागरिकले विश्वास गरेको संस्थाले तयार पारेको दृष्टिकोण, योजना, रणनीति र निर्देशन पालना गरिरहँदा पनि किन दैनिक हजारौंको संख्यामा मानिस मरिरहेका छन् ? हरेक दिन सुरक्षात्मक र उपचारात्मक स्वास्थ्यमा अर्बाैं रकम, लाखौं स्वास्थ्यकर्मी र चिकित्सक परिचालित हुँदा पनि किन प्रक्षेपित मृत्यु न्यूनीकरणमा उपलब्धि शून्यता छ ?

कोभिड विरुद्ध सञ्चालित जति पनि योजना छन् तिनको अनुपस्थितिमा हुने मृत्युदर यत्ति (०.३% आसपास) नै होइन ? किन हामी लकडाउन भित्र छौं ?  विश्वभरिका मानिसको साझा प्रयत्न हिंड्दैछ, पाइला मेट्दैछको खेल साबित भइरहेको छ किन ? 

आरडीटी, पीसीआर, भेन्टिलेटर, मास्क र ग्लोब्स जस्ता शब्दावलीको प्रयोगकै निम्ति कोरोना आतंक सिर्जना भइरहेको छ । आज विद्वान् भनिएका, शासक भनिएका, पत्रकार भनिएका, न्यायमूर्ति मानिएका सुकिला मान्छेहरुसँगै अस्पताल छिर्न नपाएका, आफन्तको शव बोक्न नसकेर एक्लै रोइरहेका तपाईं र म जस्तै मान्छेहरुको आत्मामा लप्लपाइरहेका प्रश्न यिनै होइनन् ? अब पनि ढिला गर्ने समय बाँकी छ र हामीसँग ? हामीले बुझेको कोरोनाको कोर्स करेक्सन गर्ने बेला भएन र ? हामीले अख्तियार गरेको व्यावसायिक रणनीति बदल्न ढिला भएन र ? 

कोरोना भाइरस यही पृथ्वीका अन्य प्राणीहरुले इम्युनिटी आर्जन गरिसकेको भाइरस हो । अब कुनै पनि विश्व नागरिक यो भाइरसबाट भाग्न सक्दैन, लुक्न सक्दैन ।

कोरोना भाइरस यही पृथ्वीका अन्य प्राणीहरुले इम्युनिटी आर्जन गरिसकेको भाइरस हो । अब कुनै पनि विश्व नागरिक यो भाइरसबाट भाग्न सक्दैन, लुक्न सक्दैन । त्यसैले कोरोना प्रत्येक नागरिकको शरीरभित्र प्रवेश गर्छ, गर्छ । चाहे त्यो लाइभ भाइरस होस् वा भ्याक्सिन । यही नै अन्तिम सत्य हो कि हरेक गाउँ, हरेक शहर, हरेक देश र एक एक नागरिकले कोरोना आत्मसात गर्नैपर्र्छ । रणनीतिक गल्ती गरेर हामीले गुजारीरहेको यो समय र अनाहक मरिरहेका मानिसको गिन्ती केवल भ्याक्सिन बेच्नैका लागि होइन र ? पीसीआर र भेन्टिलेटरको कारोबारकै लागि होइन र ?

कोर्स करेक्सन

शुम्भ निशुम्भ वधका बेला फैलिएको रक्तबीजका एक एक कण महाकालीले निलेझैं अर्थपूर्ण रुपमा यतिबेला कोभिड आतंक आत्मसात गर्ने दुई रणनैतिक विकल्प छन् –

१. नियन्त्रणका लागि कोरोनाको पछिपछि दौडिनु ।                    

२. सङ्क्रमणलाई योजनाबद्ध तरिकाले डोर्‍याउनु ।

हामीले लडिरहेको कोभिड सङ्क्रमण विरुद्धको लडाईंको मूल ध्येय जम्मा मृत्यु कम गर्नु र जति सकिन्छ छिटो हर्ड इम्युिनिटी आर्जन गरेर जीवन सञ्चालन प्रकृयालाई सहज तुल्याउनु नै होइन र ? त्यसोभए उच्च जोखिममा रहेका मानिसको जीवनरक्षाका लागि भन्दा कोभिड–१९ को व्यापक परीक्षण, ईथानोल जस्तो विषको प्रयोग र समग्र मानव जातिको स्वभाविक श्वासप्रश्वास प्रकृयामाथि किन बल प्रयोग गरिरहेछौं ? लकडाउन, निषेधाज्ञा, सङ्क्रमितको आइसोलेसनले कोभिड नियन्त्रण हुन सक्छ ? उच्च जोखिममा रहेका मानिसहरुको जीवन जोगिन सक्छ ?  

कोभिड सम्बन्धी सम्पूर्ण जानकारी हासिल नहुँदाको अवस्थामै चीनले अख्तियार गरेको लकडाउनको रणनीति विश्वका धेरै देशले अवलम्बन गरे । जसको प्रतिअसरले समाजका सबै पक्ष अस्तव्यस्त बनेपछि 'live with corona' अर्थात् कोरोनासँगै बाँचौं को नारा लाग्यो र फेरि कोरोना सङ्क्रमण तीव्रत्तर बन्दै गयो । तर विश्व स्वास्थ्य संगठनले रणनीति बदल्ने ईच्छा किन व्यक्त गरेन ?

लकडाउन, भौतिक दूरीको पालना, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ्ग क्वरेण्टीन जस्ता रणनीतिले सङ्क्रमणलाई होइन त्यसको फैलावटको गति नियन्त्रण गर्ने मात्रै हो भन्ने कुरा अब आम मानिसका लागि पनि प्रष्ट भइसेकेको छ । तर आजसम्म पनि हामी त्यही रणनीतिमै किन अल्झिई रहेछौं ? दृष्टिभ्रमले वा व्यावसायिक कुटिल चिन्तनले ?

विश्व कोभिड–१९ विरुद्ध होइन, त्यसको उच्च जोखिममा रहेका अढाई करोड नागरिकको जीवन रक्षाको रणनीति तय गर्न छोडेर किन पौने आठ अर्ब जनसंख्या केन्द्रित रणनीति र कार्यक्रम निर्धारित गरियो ? आज हामीले नगरे पनि भावी सन्ततिले गर्ने प्रश्न होइन यो । 

हामी किन प्रवर्द्धनात्मक स्वास्थ्यका पक्षमा कम र क्लिनिकल पक्षमा ज्यादा काम गरिरहेछौं ? पीसीआर र आरडीटी परीक्षणको कागजी प्रतिवेदनले कहाँनेर कोभिडको कहर कम भएको छ ? आम मानिसको प्रतिरक्षा सुदृढीकरण, आत्मविश्वासको अभिवृद्धि, योजनाबद्ध सङ्क्रमण फैलावटको स्वीकारोक्ति, शारीरिक व्यायाम, सन्तुलित आहार जस्ता पक्षमा आम मानिसलाई डोर्‍याउने, विश्व भाइचारा अभिवृद्धिको हातेमालो गर्ने दिशामा हामीले कति लगानी गरिरहेछौं ? योजनाबद्ध मिडिया आतंक सिर्जना गरेर आम मानिसलाई किन मानसिक विक्षिप्ततातिर धकेलिरहेछौं ?

यतिबेला मानव जातिले चाहेको कुरा पीसीआर, आरडीटी, भेन्टिलेटरको वृहत्तर उत्पादन, बिक्री र प्रयोग होइन । पोषण, हौसला र समभाव हो, आत्मम्मान हो, एकता हो ।

त्यसैले कोभिडको पछि पछि दौडिएर श्रम, सिर्जना, स्रोत क्षयीकरण गर्ने र मानव विनाशको लिला हेरिरहने दुर्दृश्यबाट माथि उठेर सङ्क्रमणलाई योजनाबद्ध तरिकाले डोर्‍याउने रणनीति अख्तियार गर्न जुटौं । यतिबेला मानव जातिले चाहेको कुरा पीसीआर, आरडीटी, भेन्टिलेटरको वृहत्तर उत्पादन, बिक्री र प्रयोग होइन । पोषण, हौसला र समभाव हो, आत्मम्मान हो, एकता हो । सन्त्रास होइन, सहज मृत्यु हो, न्याय हो । आफूले यस धर्तीमा सिञ्चेको एक एक थोपा पसिनाको न्यायोचित मूल्यको बोध हो ।

वडा वडाका दीर्घरोगी, वृद्ध, गर्भवती महिलाहरुलाई समुदायमै प्रबर्धनात्मक स्वास्थ्य सेवाका सुरक्षा घेराभित्र सुरक्षित राखौं । डराएर एक, एक गर्दै मर्नु भन्दा विवेक, योजना र विधिसम्मत तरिकाले शत्रुलाई वशमा गर्नु नै मानव सभ्यताको परिचय हो । मानव शरीरभित्र त्यो उर्जा निहित छ, हामीले अपानाउँदै आएको संस्कृति र जंगलभित्र ती औषध द्रव्य छन् । हाम्रो वेद विज्ञान भित्र त्यो सामर्थ्य छ ।

पश्चिमाहरुले हामीमाथि एउटा तर्क सधैं थोपरिरहेछन् – त्यो हो प्रमाणिकरणको अनिवार्यता । म चुनौती दिन चाहान्छु– को भन्छ, हर्पस जोस्टर भाइरस सङ्क्रमण (जनै खटिरा) बेसारको प्रयोगले निको हुँदैन भनेर ? उनीहरुले प्रमाणित गरुन्, बेसार सर्वाैषधी होइन भनेर । हामी विज्ञानलाई क्रमबद्ध अध्ययनद्वारा प्रमाणित गर्ने ज्ञान र अवधारणा दिने, पीएचडी गर्ने विद्यार्थीका लागि विषय प्रदान गर्ने देवभूमिभित्र संरक्षित जडिबुटीका भण्डारभित्र छौँ ।

नवलपुर जिल्लाको रजहर प्राकृतिक चिकित्सालयमा हालसम्म भर्ना भएका पीसीआर पोजिटिभहरुको सफल उपचार भएको हामीसँग प्रमाण छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्याङ्गजा मातहत सञ्चालित कोभिड सङ्क्रमित व्यक्तिहरुको रिकभरी नतिजा आम विश्व समुदायले मनन गर्न योग्य किन छ ?

यो ज्ञान, विज्ञान र सीपप्रति शंका गरेर पश्चिमाको पिछलग्गु हुने र वैश्विक महामारीसँग सम्बन्धित मूक–अमूक विषयमा भ्रष्टीकरणका समाचार सुन्ने फुर्सद हामीसँग छैन । हामीले चाहने हो भने आफ्नै खुट्टामा उभिएर विना खोप पनि अबको छ महिनाभित्र सिङ्गो देशलाई हर्ड ईम्युनिटी आर्जन भएको अवस्थामा पुर्‍याउने र  छाती चौडा हुने संभावनाभित्र छौं । 

त्यसैले उठौं । नयाँ मौलिक नेपाली रणनीतिमा जुटौँ र कोरोनालाई डोहाेर्‍याऔं । सबै खाले संकिर्णताबाट माथि उठेर कोभिड परास्त गरौँ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जीवन सापकाेटा

जीवन सापकाेटा​ जीवनसिटी अस्पताल, नवलपुरका कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • कृष्णचन्द्र गिरी

    Oct. 14, 2020, 12:59 p.m.

    अत्यन्तै सान्दर्भिक, तार्किक र विश्लेषणात्मक आलेख!

  •  0 Reply

तपाईको प्रतिक्रिया