‘लगानीकर्तालाई निराश हुन नदिनु नै हाम्रो मुख्य लक्ष्य हो’

 भदौ २, २०७७ मंगलबार १०:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दैछ । रिलायन्सले ६३ लाख कित्ता शेयर जारी गर्न लागेकोमा तीन लाख १५ हजार कित्ता सामुहिक लगानी कोषलाई, तीन लाख १५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र ५६ लाख ७० हजार कित्ता सर्वसाधारणको लागि रहेको रिलायन्स इन्स्योरेन्सले जनाएको छ ।

आईपीओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन । आईपीओका लागि फारम लिने तथा बुझाउनका लागि सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । रिलायन्सले आईपीओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । स्थापनाको छोटो समयमै ठूलो उपलब्धी हासिल गरेको कम्पनीको दावी छ । कम्पनीले जारी गर्न लागेको आईपीओ र अन्य विषयमा उज्यालो अनलाइनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीसँग गरेको कुराकानी :

रिलायन्स इन्स्योरेन्सको आईपीओ भदौ ४ गतेदेखि जारी हुँदैछ, किन जारी गर्दैहुनुहुन्छ ?

हामीले संस्था स्थापनाको बेलामा नियामक निकायबाट स्वीकृत लिँदा चुक्ता पूँजी न्यूनतम दुई अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने सर्त पाएका थियौं । यो सर्त पूरा गर्ने भएपछि मात्रै हामीले लाइसेन्स पाएर संस्थाको कारोबार सुरु गरेका हौं ।  पहिलो कुरा त नीतिगत रुपमा पनि हामीले शेयर जारी गर्नैपर्ने थियो । अर्को कुरा हाम्रो कम्पनी शेयर निष्कासनको लागि सहज अवस्थामा पुगेपछि आइपीओ जारी गरेका हौं । आईपीओ जारी गर्दा कम्पनी र लगानीकर्तालाई पक्कै राम्रो हुन्छ, कम्पनी थप बलियो हुन्छ भन्ने भएर नै हामीले निर्णय गरेका हौं । 

कसरी र कहाँबाट भर्ने आईपीओ ?

भदौ ४ गतेदेखि खुल्ने शेयर छिटोमा भदौ ८ गते बन्द हुनेछ भने ढिलोमा भदौ २२ गतेसम्म खुल्नेछ । लगानी गर्न चाहनेले सि आस्वाको माध्यमबाट शेयर भर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय संस्थामा भएको खातालाई सि आस्वासँग जोड्नुभएको छ भने निकै सजिलो तरिकाले भर्न सकिन्छ । यस्तै मेरो शेयरमामा डिम्याट खाता लिंक गरेर पनि शेयर आवेदन भर्न सकिन्छ । पछिल्लो समय अरु आईपीओ भर्दा जुन प्रक्रियामार्फत आवेदन दिनुभएको छ, हाम्रोमा पनि त्यै प्रक्रिया नै हो  । 

धेरैजना शेयरबजारमा आकर्षित हुन थालेका छन्, तर अझै पनि शेयरबजारमा लगानी गर्दाको फाइदाबारे अन्योलमा रहेको पनि देखिन्छ । शेयरमा लगानी गर्दाका फाइदा कसरी बुझाउने ?

शेयरमा लगानी गर्नु भनेको सम्पत्तिको उत्तम व्यवस्थापन हो । केही केही अवस्थामा बाहेक सम्पत्तिको उत्तम व्यवस्थापनले घाटा गर्दैन फाइदा नै हुन्छ । उदाहरणको लागि रिलायन्सको आईपीओ एक सय रुपैयाँमा भर्दा त्यसले भोलि ठूलो प्रतिफल दिन सक्छ । शेयरमा लगानी गर्नु भनेको पनि सम्पत्तिको वृद्धि गर्नु हो ।

रिलायन्सका शेयरधनीले एक सय रुपैयाँमा एक कित्ता शेयर किन्नुहुन्छ, भोलि कम्पनीको कारोबार बढ्दै जाला, तपाइँले लगानी गरेको रकम र पाइने प्रतिफलबीचको सम्पत्तिलाई फेरि अर्को ठाउँमा पनि लगानी गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्दा यसका बहुआयामिक फाइदा छन् । अर्को कुरा रिलायन्स इन्स्योरेन्सले थप प्रगती गर्दै गयो भने आखिर त्यसको अंश शेयर लगानीकर्तामा पनि पुग्ने हो । 

आफूसँग भएको रकम यत्तिकै राख्नु भन्दा शेयरमा लगानी गर्नु उत्तम हो भन्नु खोज्नुभएको  ?  

हो तपाइँ हामीसँग भएको सम्पत्ती/रकम यत्तिकै राखिरहने हो भने पैसाको मूल्य घट्दै जान्छ । सम्पत्तीलाई पनि लगानीको माध्यमबाट खेलाउन सकियो भने पैसाले पैसा तान्छ , महत्व झनै बढ्छ । अहिले हामीले सम्पत्तिको केही भाग शेयर लगानीका छुट्यायौं भने पनि त्यसले केही समयमै राम्रो प्रतिफल दिन पनि सक्छ । 

नागरिकले जुन संस्थाको शेयरमा लगानी गर्छन, त्यो संस्थाको वित्तीय अवस्था त पक्कै हेर्छन्, तपाइँहरुको कम्पनीको वित्तीय अवस्था के कस्तो छ ?

हामी अहिले स्थापनाको ३२ औं महिनामा प्रवेश गरेका छौं । यो समयमा हामीले बीमा समूहको सफलताको लागि हेरिने २/४ वटा सूचकमा आफूलाई अब्बल बनाइसकेका छौं । प्रिमियम संकलनलाई निकै महत्वका साथ हेरिन्छ, यसमा हामीले निकै राम्रो फड्को मारेका छौं  । 

स्थापना वर्षको पहिलो आठ महिनामा हामीले आठ करोड रुपैयाँ संकलन गरेका थियौं । आर्थिक वर्ष २०७५/७६ हामीले ७६ करोडको हाराहारीमा प्रिमियम उठायौं । गएको आर्थिक वर्षमा हामीले एक अर्व ४२ करोड रुपैयाँ संकलन गरेका छौं । यो बृद्धिदरलाई निकै उत्साहपूर्ण मानिन्छ  । जीवन बीमाको सन्दर्भमा लाइफ फन्डलाई पनि महत्वका साथ हेरिन्छ । यो पनि चार करोड रुपैयाँबाट सुरु भएर, २०७५/७६ मा ४१ करोड र गएको आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

खुद नाफाको सन्दर्भमा पनि हाम्रो निकै राम्रो प्रगती छ । सुरुको वर्षमा हामी झण्डै नौ करोड रुपैयाँ नाफामा थियौं । आर्थिक वर्ष २०७५/७६ मा हाम्रा शाखा विस्तार, व्यापार बृद्धिको लागि गरिएका क्रियाकलापले गर्दा हाम्रो नाफा दुई करोड २६ लाख रुपैयाँ रहेको थियो ।  गएको वर्षमा हामी लगभग चार करोड १३ लाख रुपैयाँ नाफाको आधार सृजना भइसकेको छ । यसरी हेर्दा हामीले स्थिर बृद्धि र महत्वपूर्ण प्रतिफलमा अगाडि जाने अवस्थामा प्रवेश गरिसकेका छौं । 

लगानीकर्ताले जे आधार हेरेर लगानी गर्न खोज्छन्, त्यो आधार तपाइँहरुसँग छ ?

यो नयाँ संस्था हो, यसलाई सुधारोन्मुख बाटोमै लगिरहेका छौं । हाम्रा हरेक तथ्यांकले देखाइरहेका छन् कि हामीले राम्रो मार्गमा हिँड्ने प्रशस्तै आधार बनाइसकेका छौं । लगानीकर्ताले जे हेरेर लगानी गर्नुहुन्छ, ती कुरा हाम्रो कम्पनीमा पक्कै पनि छन् । लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्थामा रिलायन्स इन्स्योरेन्स कम्पनी पुगेको छ ।

बीमा समूहको शेयर कारोबार र बृद्धिमा निकै हलचल हुने गरेको छ, यो विषयमा के भन्नुहुन्छ ?

यो सामान्य कुरा नै हो । कुनै पनि कम्पनीको शेयर एकैपटक धेरै बढ्छ भने एकैपटक धेरै घट्नुलाई अनौठो मान्नु हुँदैन । माग र आपूर्तिको सिद्धान्तले शेयर बजारमा पनि काम गरेको हुन्छ । कहिले नाफा र कहिले घाटा सामान्य विषय हो । तर घाटातर्फ मात्रै जान थाल्यो भने हामीले सोच्नैपर्छ । 

मैले रिलायन्सको कुरा गर्दा रिलायन्सले अरु १९ वटा संस्थालाई भन्दा कसरी आफूलाई भिन्न रुपमा राख्न सक्छ भन्ने कुराले पनि यसको हलचलमा भूमिका खेल्छ । नाफाका हिसाबले रिलायन्स सधैं नाफामा मात्रै रहला भन्न सकिन्न । तर संस्थागत सुशासन, यसका पोलिसी, दिने सेवा, हाम्रा प्रडक्टमा अरु भन्दा भिन्न हुन सक्छौं । संस्थाका यी तमाम सकारात्मक पक्ष हेर्दा हाम्रो शेयरमा ठूलो हलचल नआएर सामान्य हिसाबको बृद्धि हुँदै जान सक्छ । 

आईपीओको प्रसंगपछि अब हामी जीवन बीमाका अन्य पक्षको कुरा गरौं, जीवन बीमामा नागरिकको आकर्षण कस्तो छ ?

पछिल्लो समय जीवन बीमामा नागरिकको आकर्षण निकै बढेको छ । नागरिक बीमाको बारेमा सचेत भएसँगै जीवन बीमा गर्ने क्रम पनि बढ्दो छ । बीमा गर्ने मात्र होइन पोलिसीलाई पनि सयममै नवीकरण गर्ने क्रम झनै मजबुत भएको छ  । अझ यस्ता महामारीका बेला त जीवन बीमाको महत्व झनै बढ्ने गरेको छ । जीवनको सुरक्षा र परिवारका सदस्यको सहजताको लागि बीमा गर्नैपर्ने रहेछ भन्ने चेतना निकै बढेको पाएका छौं । हाम्रै कम्पनीले स्थापनाको छोटो समयमा संकलन गरेको प्रिमियमले पनि जीवन बीमामा नागरिकको आकर्षण प्रष्ट हुन्छ । 

नागरिकको आयमा भइरहेको बृद्धिले पनि बीमामा आकर्षण थपेको छ । आम्दानी बढ्ने बित्तिकै मानिसले विभिन्न क्षेत्रमा हात हाल्न खोज्छ । नेपालीको आम्दानी विस्तारै बढ्दै गएसँगै जीवन बीमा गर्नेहरु पनि बढ्दै गएको परिस्थितिले देखाएको छ । 

महामारीसँगै खतरा आउन सक्ने देखेर एकातिर बीमा गर्नेहरु बढ्लान, तर महामारीमा आम्दानीमा आएको गिरावटले बीमा गर्नेहरु घट्नेदेखि लिएर वार्षिक शुल्क तिर्न अप्ठेरो पर्नेसम्मको अवस्था आउने जोखिम कत्तिको छ ?

एकदमै सही कुरा उठाउनुभयो । महामारीले गर्दा नागरिकको आय आर्जन घटेको छ, व्यापार व्यवसाय ठप्प छ, नागरिकले जम्मा गरेर राखेको पैसा दैनिक जीवन चलाउनमै खर्च गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा जीवन बीमा गर्नेहरु घट्न सक्ने र वार्षिक शुल्क तिर्न अप्ठेरो हुन पनि सक्छ । महामारी लामो समय रह्यो भने हामीलाई यसले पक्कै चिन्तित बनाउँछ । तर यो कम हुँदै जान्छ या समाप्त नै हुन्छ भन्ने अपेक्षाका साथ नै विश्व चलिरहेको हुनाले अहिले नै आत्तिनुपर्ने छैन । तर खतरा नै छैन भन्ने अवस्था पनि रहेन । 

तपाइँहरु नयाँ कम्पनी भएकाले पनि चुनौतीहरु पक्कै छन् । धेरै पुराना कम्पनी भएको क्षेत्रमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ, ग्राहकको लागि अरु भन्दा रिलायन्स इन्स्योरेन्स कम्पनी के आधारमा फरक/राम्रो छ ?

पहिलो कुरा रिलायन्स इन्स्योरेन्स कम्पनी नेपालीहरुले नै स्थापना गरेका स्थानीय ब्रान्ड हो । संस्थापकहरु स्थायित्व लिएर संस्थालाई भिन्न ढंगले चलाउनुपर्छ भनेर आउनुभएको छ । व्यवस्थापनलाई पनि हामीले भिन्न तरिकाले सञ्चालन गरिरहेका छौं । भिन्नता हामीले हरेक कुरामा ल्याउन खोजिरहेका छौं । हाम्रा स्किमलाई हामीले अरुको भन्दा भिन्न बनाउन खोजिरहेका छौं । बीमा शुल्कमा अझ धेरै प्रतिष्पर्धी हुन खोजिरहेका छौं । बीमाका ग्राहक बनाउने नाममा हुने गलत प्रवृत्तिको अन्त्यको लागि हामीले काम गरिरहेका छौं । 

फरक फरक आम्दानी भएका ग्राहकको लागि फरक फरक स्किम हामीसँग छन् ।  जबर्जस्ती होइन, नागरिकको मन जितेर र यसका फाइदा बुझाएर बीमा गराउनुपर्छ भन्ने हाम्रो धारणा हो । हामी जहिले पनि ग्राहक केन्द्रित भएर सोच्छौं । 

नेपालको पुरै बीमा बजारमा हामी मात्रै यस्तो कम्पनी हौं, जसले चौबीसै घन्टा ग्राहकलाई सेवा दिन सक्छौं, ग्राहक सेवा केन्द्र चौबीसै घन्टा खुला रहन्छ । सबैभन्दा ठूलो कुरा भनेको हामीले संस्थागत सुशासनलाई उच्च महत्व दिएका छौं, यो नै एउटा संस्थाको लागि सबैभन्दा ठूलो कुरा हो । 

जीवन बीमालाई कतै कतै अझै पनि नकारात्मक ढंगले हेर्ने, अभिकर्तालाई विभिन्न लाञ्छना लगाउने क्रम रहेको छ, यसलाई चिर्नको लागि तपाइँहरुको दायित्व के रहन्छ ?

यसमा संस्थाको जिम्मेवारी नै सबैभन्दा ठूलो कुरा हुन आउँछ । व्यवसायी हिसाबले कारोबार गर्ने हो भने यस्ता लाञ्छना सायद निकै कम आउँछन् होला । प्रतिष्पर्धाको नाममा गैर व्यवसायिक क्रियाकलाप गर्दा नै अरुले भन्ने बाटो पाउँछन् र टिप्पणी पनि हुन्छन् ।

त्यसैले हरेक कम्पनीले व्यवसायिक कारोबार गर्ने, ग्राहक तान्नकै लागि संस्थागत जिम्मेवारी र दायित्व बिर्सने गर्दा समस्या आउन सक्छ । रिलायन्स इन्स्योरेन्स जस्तोसुकै अवस्थामा पनि संस्थागन सुशासन, जिम्मेवारी तथा दायित्वबाट पछि हट्दैन । यसले गर्दा बीमाको स्वस्थ बजार स्थापनामा योगदान पुग्न सक्छ । 

 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया