गृह मन्त्री थापा राहत लिएर बाजुरामा, साउनयता चार सय ५४ जना विस्थापित

 भदौ २, २०७७ मंगलबार १९:४:४७ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाढी पहिराेका कारण विस्थापित भएकाहरुलाई राहत दिनका लागि गृह मन्त्री रामबहादुर थापा बाजुरा पुग्नुभएको छ । गएकाे साउन २६ गते आएकाे बाढी र पहिराेमा परेर विस्थापित भएकालाई हेलिकप्टरमार्फत राहत पुर्‍याउनुभएकाे हाे । 

मन्त्री थापा हप्ता दिनदेखि सम्पर्कमा आउन नसकेका गौमुल गाउँपालिका सिम र अजय टेट्की गाउँमा राहत लिएर पुग्नुभएकाे हाे । बाढी पहिराेका कारण  पुल बगाएपछि ती गाउँ सम्पर्कमा आउन सकेका थिएनन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका बाढी पहिराे पीडितका लागि तत्काल राहत उपलब्ध गराउनका लागि पहल गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरेपछि गृह मन्त्री थापा आफै राहत लिएर बाजुरा पुग्नुभएको हो ।

बाजुरा जिल्लामा गएकाे साउन १ गतेदेखि आएकाे बाढी पहिराेका कारण अहिलेसम्म चार सय ५४ जना विस्थापित भएका छन् । एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् ।

यस्तै बाढी पहिराेका कारण ६१ घरमा पूर्ण र २३ घरमा आंशिक क्षति पुगेको छ । ६० घरधुरी विस्थापित भएको विपद् व्यवस्थापन समन्वय समितिको प्रतिवेदनमा उल्लेख छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: चैत २६, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया