‘६ महिनापछि पर्यटक ल्याउन अहिल्यै व्यवसाय खोल्नुपर्छ’

 भदौ ४, २०७७ बिहिबार १०:१:५६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीका कारण पुरै ठप्प भएका विभिन्न पेसा व्यवसायमध्ये पर्वतीय पर्यटन क्षेत्र पनि एउटा हो । नेपालमा विदेशी पर्यटक ल्याउने मुख्य क्षेत्र ठप्प हुँदा देशमा विदेशी मुद्रा आर्जनसँग सम्बन्धित व्यवसायी र मजदुर समस्यामा परेका छन् ।

विदेशी पर्यटक आउँदा सम्बन्धित व्यवसायी, मजदुरसँगै अप्रत्यक्ष रुपमा कृषि, हस्तकला लगायतका अरु धेरै क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । यो क्षेत्रको समस्यासँगै संसारमै उत्कृष्ट मानिएको र नेपालमा पर्यटक आउने मुख्य माध्ययम कहिलेसम्म ठप्प राख्ने ? यो व्यवसाय चलायमान बनाउँदै लैजाने कुनै उपाय छ कि ? यसै विषयमा भोजेन्द्र बस्नेतले पर्यटन व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीसँग गर्नुभएको कुराकानीको सम्पादित अँश । 

पर्वतीय पर्यटन व्यवसायको अवस्था कस्तो छ ? 

कोरोना महामारीका कारण पर्वतीय पर्यटन व्यवसाय पूर्ण रुपमा बन्द छ । लकडाउन तथा त्रासका कारण सबैजस्तो क्षेत्र समस्यामै छ । त्यसमा पनि पर्वतीय पर्यटन व्यवसाय पुरै ठप्प छ । नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडि अर्थात माघ/फागुनमै चिनियाँ पर्यटक आउने सिजन पनि चीनमा बढेको महामारीका कारण प्रभावित भयो भने अन्तर्राष्ट्रिय उडान बन्द र लकडाउन पछि त यो क्षेत्र ठप्प हुने नै भयो । लकडाउनपछि पर्वतीय क्षेत्रमा पर्यटक घुमाउने कम्पनीका कार्यालयमा ताला झुण्डिएका छन् । मजदुरहरुले रोजिरोटी गुमाएका छन् भने सम्बन्धित होटल, पसल लगायत पनि सुनसान भएका छन् । 

पर्वतीय पर्यटन व्यवसाय ठप्प हुँदा प्रभाावित भएको क्षेत्र कुन–कुन हुन् र कति जतिको क्षति भएको अनुमान गर्न सकिन्छ ? 

क्षतिको त अनुमान लगाउन पनि मुश्किल छ । हिमाल आरोहणको एउटा मुख्य सिजन (चैत–जेठ) पुरै ठप्प भयो । आरोहणसँगै पर्यटकहरु धेरै घुम्न आउने (भदौ–कात्तिक) पनि ठप्प हुने पक्का छ । यसबाट पर्यटन व्यवसायी, होटल व्यवसायी, एअरलाइन्स, सडक यातायात व्यवसायी, मजदुरदेखि किसानसम्ममा प्रभाव परेको छ । सिधा हेर्दा विदेशबाट पर्यटक सम्पर्कमा ल्याउने, उनीहरुलाई घुमाउने, खानपान र बासस्थानको व्यवस्था गर्ने मानिसहरु प्रभावित भएको देखिए पनि यसको सम्बन्ध धेरैतिर छ ।

पर्यटकका लागि खुवाउन उत्पादन गर्ने किसानदेखि पर्यटकहरुलाई हस्तकलाका सामग्री बेच्ने मानिस, ट्याक्सी/रिक्सा सञ्चालक र बाटोमा पानी बेच्ने मानिसलाईसम्म प्रभाव परेको छ । यसैले यसको क्षति अनुमान गर्नै मुश्किल छ । व्यवासायीसँगै झण्डै आठ लाख मजदुर सिधै समस्यामा छन् । अप्रत्यक्ष रुपमा समस्यामा पर्ने धेरै छन् । 

सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा भएको थियो । कत्तिको उत्साह थियो ? 

सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । सरकारको तयारी केही अपरिपक्व देखिए पनि हामी व्यवसायीहरुले त्यसमा साथ दिएका थियौं । हाम्रो तर्फबाट प्रचारदेखि लगानी थप्ने काम पनि भैरहेको थियो । व्यवसाय नै ठप्प हुँदा त्यो थपिएको लगानी तथा प्रचारप्रसारका लागि गरिएको लगानी समेत डुब्यो । सरकारले गरेको लगानी पनि खेर गएको छ ।

यो वर्ष पर्यटक धेरै आउँछन् भनेर हिमाली क्षेत्रका व्यवसायीहरुले पनि लगानी थप्नुभएको थियो । जस्तो खुम्बुमा पर्यटकका लागि भनेर लगिएको धेरै खानेकुराको उपभोग्य म्याद सकिएर नोक्सान भएको व्यवसायीहरुले गुनासो गरिरहनुभएको छ । यस्तै होटलहरु थपिएका थिए वा सुविधा थपिएका थिए । त्यो सबै लगानी डुबेको छ । हामीले मनाउन लागेको भ्रमण वर्षमै महामारी आउँदा पर्वतीय पर्यटनको क्षेत्र थप जोखिममा पर्‍यो । 

विश्वव्यापी महामारी बढिरहेकै छ । अब कहिलेसम्म यस्तो अवस्थामा रहने ? विकल्पको बारेमा छलफल सुरु भएको छ कि छैन ? 

यो व्यवसाय कहिलेसम्म ठप्प हुने भन्ने अनुमान लगाउनै मुश्किल छ । पर्वतीय पर्यटन भनेको विदेशी पर्यटकमा आधारित हो । केही आन्तरिक पर्यटकहरु पनि घुम्न जानुहुन्छ तर त्यो नगन्य छ । जति पनि लगानी भएको छ त्यो विदेशी पर्यटकलाई नै लक्षित गरिएको छ ।

अहिले नै विदेशबाट मानिसहरु घुम्न आउँछन् र यो व्यवसाय सञ्चालनमा आउँछ भन्ने आशा गर्ने ठाउँ छैन । यो भदौ–असोजको सिजन अब ठप्प हुने नै भयो । अर्को सिजन फागुन चैतमा सुरु हुने हो । त्यो सिजनमा पर्यटक आउने आशा गर्दा पनि छ/सात महिना त पुरै ठप्प हुन्छ । 

अब विकल्पको कुरा गर्दा आजको भोलि विदेशबाट पर्यटक आउँछन् भन्ने छैन । आन्तरिक पर्यटकलाई घुमाउने एउटा विकल्प हुन सक्छ । तर यहाँ पनि लकडाउनका कारण अर्थतन्त्रमा समस्या आएकोले मानिसहरु कतिको घुम्न निस्कन्छन् भन्ने हो । यस्तै कोरोनाबारेमा जुन बुझाइ र नयाँ मानिसप्रति गर्ने व्यवहार छ, त्यसका कारण पनि मानिसहरु तत्कालै घुम्न निस्कने संभावना छैन । महामारीका बीच त्यो उपयुक्त पनि हुन्न । त्यसैले अहिले नै यो व्यवसाय पूर्ण सञ्चालन गर्ने विकल्प देखिएको छैन । अब व्यवसायी तथा यो क्षेत्रका मजदुरहरु व्यवसाय नै छाडेर अरु व्यवसायतर्फ लाग्ने खतरा भने बढ्दै गएको छ । 

तर तपाईँहरुले त सरकारसँग एअरलायन्स लगायत पर्यटन व्यवसाय खुलाउनुपर्छ भनेर सरकारसँग माग गर्नुभएको छ नि ? 

हो हामीले माग गरेका छौं । सुरक्षाका मापदण्ड अपनाएर होटलहरु खोल्न पाउनुपर्छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्छ । आरोहण लगायत हिमाली क्षेत्रमा घुमघाम खुलाउनुपर्छ भन्ने माग हामीले गरेकै हो । तर यसको अर्थ सबै खुलाएर एकाएक विदेशवाट पर्यटक आउँछन् उनीहरुलाई घुमाउन लगिहाल्छौं, हिमाल आरोहणमा पठाइहाल्छौँ भन्ने हाम्रो कुरा हैन । 

अहिले सुरु भएको सिजन अब खेर गैसकेको छ । छ महिनापछि सुरु हुने सिजनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्छ । अब यहाँ घुम्न पठाउँछौं भन्नासाथ विदेशीहरु आइहाल्दैनन् । उनीहरुले पनि योजना बनाउनुपर्छ । यहाँको व्यवसाय चलायमान भएको थाहा पाउनुपर्छ । यता यात्रा तय गरेर बिदा मिलाउनुपर्छ । केही महिनामा यी प्रक्रिया पूरा गरेर बल्ल पर्यटकहरु नेपाल आउने हुन् । 

त्यसैले ६ महिनापछि नेपालमा पर्यटक ल्याउनका लागि पनि अन्तर्राष्ट्रिय उडानहरु नियमित बनाउनुपर्छ । होटलहरु खुलाउनुपर्छ । त्यसमा स्वास्थ्यका मापदण्ड पूरा गरेर केही व्यवसाय सुरु होला वा नभए पनि अर्को सिजनका लागि तयारी गर्न पनि यी क्षेत्रहरु खुलाउनुपर्छ भन्ने हाम्रो माग हो । 

तर खुल्ला गरेपछि केही पर्यटक आउलान् पनि । अहिले नै पर्यटक आए भने चाहिँ सुरक्षित यात्राको संभावना कतिको छ ? 

अब सधैंभरी कोरोनाको त्रासमा रहेर कहिलेसम्म देशलाई ठप्प बनाउने ? विकल्पहरु खोज्नुपर्छ । कोही विदेशी घुम्न आउँछु भन्छ भने उसको देशबाट आउनुभन्दा केही दिन अघिको पीसीआर रिपोर्ट, यहाँ आएपछि सुरक्षित रुपमा होटलमा लगेर केही दिन क्वरेण्टीन र पुनः पीसीआर परीक्षण गरी उ संक्रमणमुक्त छ भनेपछि सुरक्षित यात्रा गराउँदै पर्वतीय क्षेत्रहरु घुमाउन सकिन्छ ।

यो काम सरकारले तोकेका स्वास्थ्यका मापदण्डहरु पूरा गरेर गर्न हामी व्यवसायीहरु तयार छौं । यो महामारी वर्षौंसम्म जाला के हाम्रो दैनिकी नै ठप्प पारेर बस्ने ? यो हुँदैन सुरक्षित हुँदै हाम्रो दैनिकी चलाउनुपर्छ । सङ्क्रमणको जोखिम कम गर्न सरकारले तोकेका काम गर्न तयार छौं तर सरकारले पनि व्यवसायीहरुका समस्या सुन्नु र समाधान खोज्नुपर्छ । 

अहिलेको समस्याले गर्दा आउँदा दिनमा नेपालमा पर्वतीय पर्यटकहरु घट्ने संभावना चाहिँ कतिको छ ? 

विश्वव्यापी समस्या भएकोले कोरोना प्रभाव बिश्वकै पर्यटन व्यवसायमा परेको छ । यो नेपालमा पर्दैन भन्ने हैन । नेपालमा सबै वर्गका पर्यटक आउने भएकोले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावका कारण यहाँ आउने पर्यटक पनि घट्न सक्छन् । तर महामारीबाट दैनिकी सामान्य बन्दै गएपछि यस अघि आएको संख्यामा पर्यटक आउने कुरामा त्यत्ति धेरै शंका गर्नु पर्दैन ।

अहिले हामीसँग सम्पर्कमा रहेका पर्यटकहरु तिमीहरुको देश कहिले घुम्न पाइएला भनेर सोधिरहन्छन् । कतिपयले त आफ्नो बुकिङ रद्द नगरी अर्को सिजनका लागि सारेका पनि छन् । नेपाल पर्वतीय पर्यटनका लागि विश्वमै उत्कृष्ट र छुट्टै विशेषता भएको क्षेत्र हो । त्यसैले पर्यटक आउनै रोकिन्छ भन्ने छैन । तर छ महिना पनि आउने पर्यटकको तयारीका लागि अहिलेदेखि नै यो क्षेत्र चलायमान बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो । 

लकडाउनबाट तपाइँहरुको व्यवसायमा परेको प्रभावमा सरकारको साथ कस्तो छ ? 

महामारी नियन्त्रण तथा राहातमा आम नागरिकको जस्तो गुनासो छ, हाम्रो पनि त्योभन्दा फरक छैन । महामारी नियन्त्रणमा प्रभावकारी काम भैरहेको छैन भने व्यवसाय जोगाउनेतर्फ पनि काम भएको छैन । बजेट र मौद्रिक नीतिले केही आशा जगाएको भए पनि त्यसको कार्यविधि बनाउने तथा कार्यान्वयनको चरणमा लैजाने काम अझै भएको छैन । त्यसैले सरकारले अहिलेसम्म नीति वा राहातमा कुनै काम गरेको छैन ।

हामीले यो व्यवसाय जोगाउन सरकारसँग सहुलियत व्याजमा ऋण मागेका छौं । छलफलको चरणमा भए पनि त्यो कार्यान्वयनको चरणमा गएको छैन । यो क्षेत्रका मजदुरहरु ज्यादै समस्यामा हुनुहुन्छ, उहाँहरुको रोजीरोटीका लागि पनि सरकारसँग छलफल गरेका छौं, तर सरकारले गम्भीर रुपमा लिएको छैन । 

मजदुरहरुको कुरा गर्दा अघि तपाइँले प्रत्यक्ष अप्रत्यक्ष आठ लाखभन्दा धेरै मजदुर भन्नुभयो । त्यसमा पनि हिमाल आरोहण, हिमाली क्षेत्रको गाइड लगायतका क्षेत्रमा आबद्ध मजदुर विशिष्ट क्षमता र सीप भएका हुनुपर्छ । उनीको अवस्था कस्तो छ ? कतै पेसाबाटै पलायन हुने त हैन ? 

एकदमै, यो हाम्रो मुख्य चिन्ता पनि हो । हामी व्यवसायी र मजदुर एकअर्कामा निर्भर छौं । मौसमी काम गर्ने मजदुरहरु एउटा, दुईवटा मौसममा बेरोजगार भैसक्नुभएको छ । यसबाट उहाँहरुको गासबास, सन्तानको शिक्षा धेरैतिर प्रभाव परेको छ । व्यवसाय सुरु भैहालेमा पनि उहाँहरुले आफ्नो जीवनयापनलाई पहिलेको अवस्थामा ल्याउन निकै समय लाग्छ ।

हिमाली क्षेत्रमा जान सक्ने क्षमता भएका मजदुरहरु पेसाबाट विस्थापित भएमा अहिले पर्वतीय पर्यटनका लागि नेपाल विश्वमा सुरक्षा, रोमाञ्चकता लगायतका हिसाबले जसरी प्रख्यात छ त्यो हुँदैन भने व्यवसाय राम्रोसँग अघि बढाउन पनि सकिंदैन । 

त्यस्ता मजदुरहरुको हितका लागि पर्यटन व्यवसासी तथा व्यवसायीहरुको संथाका तर्फबाट पहल भैरहेको छ । तर व्यवसायी नै व्यवसायबाट विस्थापित हुने खतरा भएकोले हामीले राहात लगायतका काम प्रभावकारी बनाउन सकेका छैनौं । यसका लागि सरकारसँग छलफल त गरेका छौँ, तर सरकारले पनि मजदुरहरुको महत्व नबुझेको हो वा जिम्मेवारी नठानेको हो अहिलेसम्म उनीहरुको पक्षमा काम भएको छैन । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया