लकडाउन र निषेधाज्ञा गरेर मात्रै काेराेना नियन्त्रण हुँदैन : डा. पाण्डे

 भदौ ४, २०७७ बिहिबार १८:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनस्वाथ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले काठमाण्डौ उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभएको छ । 

उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको सङ्ख्या धेरै हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले साना–ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताउनुभएको छ । 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. पाण्डेले उपत्यकाभित्र अवैध रुपमा एक जनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो । 

भारतबाट आएका धेरै मजदुर र सङ्क्रमित क्षेत्रबाट आएका मानिसलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तीव्रता दिनुपर्ने पनि उहाँको भनाइ छ । उपत्यकाका भित्री, बाहिरी र मुख्य सडकलगायत सबै क्षेत्रमा प्रहरीलाई खटाइ मानिसहरुलाई घरबाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । 

सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौमा अहिलेसम्म क्वरेण्टीनको व्यवस्था नगरिएकाले तत्काल क्वरेण्टीन केन्द्र निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धेरै जनसङ्ख्या भएको ठाउँमा क्वरेण्टीन नबनाइ बस्नुले सरकार गम्भीर नभएको स्पष्ट हुने पनि डा. पाण्डेले बताउनुभयो । सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उहाँको भनाइ छ । 

लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेले बताउनुभयो । एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न उहाँले सुझाव दिनुभयो । १४ दिन निषेधाज्ञा हुँदा समान्य लक्षण भएका सङ्क्रमितहरु निको भइसक्ने र लक्षण देखा परेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा सङ्क्रमण सार्न सक्ने सम्भावना कम हुने बताउनुभयो । 

उहाँले समुदायस्तरमा सङ्क्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात् एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताउनुभयो । निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने र मास परीक्षणमार्फत धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताउनुभयो । 

अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदायस्तरमा पुगेर पुल प्रणालीबाट दैनिक एक लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । यसबाट कुन ठाउँमा सङ्क्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र त्यहीअनुसार व्यवस्थापनको कार्य गर्न सकिने उहाँले बताउनुभयो ।  

आइसोलेशन वार्ड र आईसीयू अहिले नै भरिएको अवस्था भएकाले सङ्क्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उहाँको भनाइ छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत सुझाव दिनुभयो । काठमाण्डौका दुई वटा मेडिकल कलेज, दुई वटा निजी अस्पताल र दुई वटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याइ भेन्टिलेटर, आईसीयू, आइसोलेशन वार्डको सङ्ख्या बढाउनुपर्ने उहाँले बताउनुभयो । 

सङ्क्रमण धेरै बढेको अवस्थामा सबै बिरामीलाई अस्पतालमा राख्न सम्भव नहुने भएकाले त्यसका लागि अहिलेदेखि नै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । सबै पालिकाका सबै वडामार्फत कति मान्छे आफ्नै घरमा बस्छन् र कति मान्छे भाडामा बसेका छन् भन्ने तथ्याङ्क लिएर त्यही अनुसार आइसोलेशन केन्द्रको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । 

यसबाट आफ्नो घरमा बस्न सम्भव नहुनेहरुका लागि आइसोलेशन व्यवस्था गर्न सहज हुने छ । सम्बन्धित वडामा नै रहेका सरकारी भवन, पार्टी प्यालेस, होटललगायतको ठाउँमा आइसोलेशन बेड तयार गर्ने र न्यूनतम स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

जसलाई आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितलाई निको हुने सम्भावना कम भएकाले भेन्टिलेटरको सङ्ख्या धेरै बढाउने भन्दा आईसीयू र आइसोलेशन बेड थप्ने र अक्सिजन प्लान्ट राखेर सेवा दिनुपर्ने बताउनुभयो । कोरोना सङ्क्रमण भएको अवस्थामा शरीरमा अक्सिजनको कमी हुने भएकाले अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । 

विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरी नेपाल ल्याउने काम पनि निषेधाज्ञाको अवस्थामा नै सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । ‘नेपालमा क्वरेण्टीनको व्यवस्था गरी उनीहरुलाई उद्धार नगरे ठूलो क्षति हुन सक्छ’, उहाँले भन्नुभयो । 

भारतसँगको सीमानाबाट पनि धेरै मानिस नेपाल आउने भएकाले त्यसको व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने उहाँले बताउनुभयो । अब पनि तयारी पुगेको छैन भन्ने अवस्था नरहेको उहाँको तर्क छ । कुनै पनि नेपाली नेपाल आउन चाहन्छ भने त्यसको व्यवस्थापन गरी आउन दिनुपर्ने उहाँले बताउनुभयो । त्यो काम पनि निषेधाज्ञाको अवस्थाभित्र नै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सबैले मास्क लगाउँदा ७० प्रतिशत सङ्क्रमणलाई कम गर्न सकिने र मास्कसँगै भौतिक दुरीलाई कायम गर्ने हो भने सङ्क्रमणको अवस्थालाई ९० प्रतिशत कम गर्न सकिने र हात धुने लगायतका काम गर्दा सङ्क्रमणलाई अधिकतम रुपमा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया