दाङमा भेन्टिलेटर र आईसीयू बेड प्रयोगविहीन, बिरामी बुटवल रिफर

 भदौ ५, २०७७ शुक्रबार १०:१४:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेडकाे लागि आवश्यक जनशक्ति नहुँदा प्रयोग विहीन भएका छन् ।

कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेर र १५ वटा आईसीयू बेडहरु भए पनि अहिले जनशक्ति नहुँदा प्रयोग विहीन बनेका हुन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीको आवश्यक पर्ने भए पनि जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिनुभयो ।

गम्भीर अवस्थाका कोरोना सङ्क्रमित बिरामीहरुलाई बेलझुण्डीमा राख्न नसकेर बुटवल रिफर गरिँदै आएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड राखिएको छ तर प्रयोगमा भने आउन सकेका छैनन् ।

जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । यसैबीच प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरिने जनाएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया