मनमनमा राष्ट्रकवि

 भदौ ६, २०७७ शनिबार ९:९:५० | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - गएको भदौ २ गते नेपाली साहित्य, गीत/संगीत र सिंगो देशकै लागि दुःखद दिन रह्यो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको देवासनको खबरले सबैलाई दु:खित बनायो । 

पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण तराईसम्मका मात्र होइनन्, विदेशमा रहेका र नेपाली भाषा साहित्यलाई माया गर्ने सबैलाई यो खबरले स्तब्ध तुल्यायो । 

कोरोनाको कहरकाबीच पनि कयौं मानिसहरु श्रद्धाञ्जलि अर्पण गर्न बाहिर निस्किए । टाढा हुनेहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जलि दिए । राष्ट्रकविलाई एक मन सबैले सम्झिए । सामाजिक सञ्जालका भित्ताहरु राष्ट्रकविमय भए । राष्ट्रिय सम्मानका साथ उहाँको भौतिक शरीरको अन्त्येष्टि गरियो । 

उमेरले दोस्रो शताब्दीमा लाग्नुभएका कवि माधवप्रसाद घिमिरे नेपाली साहित्य क्षेत्रको एक भिमकाय खम्बा भएको जगजाहेर नै छ । जुन भौतिक रुपमा ढलेको छ, तर त्यसको छाप र प्रभाव सधैं जीवित रहनेछ । वि.सं. १९७६ असोज ७ गते लमजुङमा जन्मिनुभएका राष्ट्रकवि जीवनभरि भाषा, साहित्यको सेवामा समर्पित रहनुभयो ।

वि.स. १९९२ सालमा ‘ज्ञानपुष्प’ शीर्षकको पहिलो कविता गोरखापत्रमा छपाएर अविरल साहित्य यात्राको थालनी गर्नुभएका कविको यात्रामा अवरोधहरु आए होलान्, तर यात्रा रोकिएन । 

गाह्रो समयको बाबजुत गन्तव्य बिर्सिनुभएन र कठिनाइहरुले कर्तव्य विमुख बनाएन । वि.स. २००४ सालमा पत्नी गौरीको निधनले शोक काव्य ‘गौरी’ जन्मायो । जीवनसंगिनी वियोग, दुई छोरीहरु हुर्काउने जिम्मासँगै आफू पनि सम्हालिनु त्यति सहज थिएन होला सायद । 

तर उहाँले जीवनसाथीको वियोगको पीडा सहनुभयो र जीवन र कर्मबाट हार मान्नुभएन । वि.सं. २००५ मा महाकालीसँग दोस्रो बिहे गर्नुभयो । आफूभित्र भएको कवित्व, उर्वर सिर्जनशीलतालाई मर्न दिनुभएन र कालान्तरमा नेपाली भाषा साहित्यको महान हस्तीको परिचय स्थापित गर्न सफल हुनुभयो । 

आफ्ना रचनाहरुमा प्रकृति, राष्ट्र र मानवता प्रतिबिम्बित गर्न रुचाउने उहाँका सिर्जनाहरुले सधैं राष्ट्रभक्तिलाई प्रमुख स्थान दिएको पाइन्छ । शोककाव्य ‘गौरी’मार्फत जीवनसाथी गुमाउनुपर्दाको पीडा, विह्वल मानवीय संवेदनाको उत्कृष्ट रचनाको सुन्दर रुपमा पस्किनुभयो भने ‘गाउँछ गीत नेपाली’ मार्फत जन्मभूमिको भक्तिभाव र सुन्दरताको वर्णन प्रस्तुत गर्नुभयो । 

राष्ट्रिय एकतालाई बलियो बनाउने हेतुले रचिएको गीत ‘नेपाली हामी रहाैँला कहाँ नेपाललै नरहे’ सधैं कालजयी रहनेछ । यो गीतमार्फत उहाँले दिनुभएको सन्देश सधैं अविस्मरणीय रहने छ । आफू बाँच्न राष्ट्र बचाउनुपर्छ भन्ने कुरा सम्झाइ रहनेछ । ‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ले आफ्नो गाउँ र देश छोडेर गएकाहरुलाई पाखा र पखेराको याद बिर्सन दिने छैन । जन्मभूमि छोडेर जहाँ गए पनि गीतले डाँडा खोला र हिमालहरु नेपालीहरु भएकै ठाउँमा पुग्नेछन् ।    

उसो त माधव घिमिरेका हरेक सिर्जनाहरु राष्ट्रियता, मानवता र विश्व बन्धुत्वको भावनाले भरिएका पाइन्छन् । उहाँका रचनाहरुले नेपालीलाई सधैंभरी स्वदेशको माटोलाई माया गर्न सिकाउँछन् र एक मुठ्ठी माटोको महत्व सम्झाइ रहन्छन् ।

व्यक्तिगत लाभको लागि फलानो र ढिस्कानो वादको पगरी गुथ्न लछारपछारमा लागेका लेखक/साहित्यकारहरुको हुलमा माधव घिमिरे यस्तो नाम हो, जसलाई कहिल्यै कुनै वादले डगमगाउन सकेन । र सधैं प्रकृति प्रेम र राष्ट्रियताले भरिएका सिर्जनाहरुमा आफूलाई प्रस्तुत गर्नुभयो ।

आलोचकहरुले उहाँका रचनाहरुमा प्रगतिवाद पाइँदैन, परिवर्तन र उत्पीडनका आवाज समेटिएनन् भन्ने आलोचना गरे पनि उहाँले यो गुनासोलाई खासै वास्ता गर्नुभएन र सधैं सबै वादभन्दा माथि राष्ट्रवादलाई नै उच्च स्थान दिनुभयो । आफ्ना रचनाहरुमा उहाँले प्रकृतिको सुन्दरतालाई स्थान दिनभयो । 

देश प्रेमलाई स्थान दिनुभयो, माया प्रेमलाई स्थान दिनुभयो । यही बाटोलाई पछ्याइरहनुभयो । मौसमी हुरीमा कहिल्यै विश्वास गर्नुभएन । आफ्ना रचनाहरुमार्फत मानवीय सम्बन्ध र राष्ट्रियतामा प्राणवायु थप्दै जानुभयो । 

आलोचकहरुले जेजस्तो तर्क गरे पनि उहाँको कृति ‘मालती मंगले’ले समाजका तल्लो वर्गको पीडा बोकेकै हो ।  माधवप्रसाद घिमिरे ‘छोटो दौड’ जित्नेतर्फ कहिल्यै लाग्नुभएन, सधैं आफूलाई ‘म्याराथन धावक’को रुपमा उभ्याउनुभयो । आफ्नो जीवन र आफ्ना रचनाहरुलाई सदावहार बनाउनुभयो । परिवर्तनलाई आत्मसाथ र स्वीकार पनि गर्नुभयो । उहाँका सबै गीत, कविता, गीति नाटक, शोककाव्य, खण्डकाव्य र बाल कविताहरुमा यही कुरा झल्किन्छ । 

सकारात्मक सोच, कर्मप्रति प्रतिवद्धता र स्वच्छ जीवनशैलीले उहाँलाई सधैं स्फूर्त बनाइ रह्यो । उहाँका कयौं अजर अमर गीतहरुसँगै नवमन्जरी, मालती मंगले, हिमालपारि हिमालवारि, राजेश्वरी, राष्ट्र निर्माता, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी जस्ता कृतिहहरु नेपाल नेपालीहरुको मन मस्तिष्कमा रहिरहनेछन् । 

भौतिक रुपमा राष्ट्रकवि अब हामीमाझ हुनुहुन्न । उहाँलाई अब हामीले भौतिक रुपमा पाउने छैनौं । तर उहाँका कृतिहरुमार्फत उहाँ सधैँ हामीसँगै हुनुहुनेछ । उहाँले प्रकृति, राष्ट्र र मानवता जोगाउन दिएको सन्देश हाम्रो लागि मूल मन्त्र हुनेछ ।

 नेपाली भाषा साहित्य क्षेत्रमा उहाँले निर्माण गर्नुभएको सुन्दर बगैँचाले सधैं सुवास दिइरहनेछ । अर्थात राष्ट्रकवि सधैँ अमर रहनुहुनेछ । उहाँले गीतमा भन्नुभएजस्तै नेपाल रहेसम्म नेपाली रहनेछ र नेपाली रहेसम्म हाम्रो मानसपटलमा राष्ट्रकवि माधव प्रसाद घिमिरे र उहाँको कृतित्व रहिरहनेछ ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया