केही थान जिन्दगी

 भदौ ६, २०७७ शनिबार १३:१९:५१ | प्रज्ञा निराैला
unn.prixa.net

काठमाण्डाै - दिन ढलेर रात जागेको समय सूर्यले फिँजाएको क्रान्तिले विश्राम लिएर निशाले पालो पाएको बेला झमझम पानी परेर रातको मौनतालाई संगीतमय बनाइदिएको थियो।

रातमा चारो खोजी गुजारा गर्ने प्राणीहरु चुपचाप झोक्राएर रुखको आडमा बसेर गतिविधि नियाल्दै परिस्थितिको साक्षी बनिरहेका थिए । त्यही माहौलमा जङ्गलको बीचमा केही थान मानिसहरुको जीवनका केही दिनरातहरु एउटा छानामुनि गुजारा भइरहेका छन् । 

हेर्दा लाग्छ जीवनमा अब केही आशाहरु अनि गुनासाहरु बाँकी छैनन् । आफन्तको आशा अनि भरोसा पनि मरिसकेका छन् । कसैलाई सम्झन मन छैन । न उमंग छ न जोश जाँगर अनि भरोसा छन् केवल मर्न नसकेर बाँकी रहेको जीवन मात्र छ । हो यस्तै यस्तै केही भनिरहेझैं लाग्छ तीभित्र बाहिर गरिरहेका सासका संगीतहरुले ।

ती उच्छ्वासहरुले । म केही कुरा बुझ्न पाए पनि हुने नि जस्तो भावमा छटपटाउँछु अनि फेरि आफैंलाई सम्हालेर राख्छु यी सबैका भावना बुझेर म के गर्न सक्छु र परिस्थितिलाई सम्हाल्दै लामो सास फेर्छु । एउटा लहरमा सुतिरहेको एउटा शरीरबाट एउटा आवाज आउँछ ऐय्या मरेँ मारे मलाई लौ न के गुहार गुहार हुँ हुँ हुँ  । झसङ्ग भएर मेरो ध्यान त्यसतर्फ मोडिन्छ ।

निद्रामा नै त्यो असह्य पींडाको पुनर्बोध हुँदो हो । विचरा अहिलेसम्म त्यो गुहार मागेका मानिसहरुले उसलाई सहायता दिने कुनै समय आएको हुँदैन । केवल रमिता बनेर हेरिरहेको हुँदो हो समाज सायद । नजिकै रहेको एक थान शरीरको आवाजले उसलाई विथोल्छ ए चूप लागेर सुत् । निदाउन पनि दिन्न यसले ।

चिच्याउँदै गरेको आवाज घुक्क घुक्कमा पुगेर अड्किरहन्छ । अरु छेउमा बसेकाहरु भुत्भुताउँदै सुत्छन् । त्यो दर्दनाक आवाज आज पनि सहारा मागिरहेको छ तर उसलाई सबैले पागल भनी वास्ता गर्दैनन् । 

उसलाई यो हालतमा पुर्‍याउने बहादुरहरु के गर्दै होलान् । यो आवाजको क्रन्दनले अझै पनि जीवन बाँकी रहेको आभाष दिलाउँछ । अनुहारमा अलिकति जीवन जिउने आशा अनि जिजिविषा देखिन्छ । एकोहोरो सास फेराइका तरंगित आवाजहरु एकअर्कामा ठोकिएर सुमधुर संगीत लहराउँछ । त्यही संगीतले जीवनका अनुभूति अनि भोगाइका पाटाहरु उजागर गरिदिएको छ ।

एउटै धर्तीमा जन्मिएर पनि विभेदित हुनु परेको आक्रोश पोखिदिएको छ । सामान्य जीवनमा त कुनै कुराको वास्ता नगर्ने समाजले यो संगीतको मर्म बुझ्न नै कहाँ सकेको छ र । चाहँदा पनि चाहँदैन । चाहेर वा बुझेर पनि केही गर्दैन । केवल उसको यो अव्यक्त आवाजको आभाषलाई मधुर संगीत ठानेर मज्जा लिइरहेको छ । धर्तीको बोझ ठानेर दुत्कारिरहेको छ ।

म अनायसै सबैका अनुहार नियाल्न थाल्छु । सबैका अनुहारमा पोतिएका अक्षरहरुले जीवनको हरेक पाटालाई देखाइरहेका छन् । समाजबाट आवाज खोसिएर आवाजविहीन बनाइएका उनीहरुको अनुहारमा जीवन भोगाइका किताबका पानाहरु प्रष्ट देखिन्छन् ।

पढेर पढिसाध्य छैन, बुझेर बुझी साध्य छैन, केवल पाठकको खोजीमा रहेका र विश्लेषणको पर्खाइमा रहेका किताबहरु समाजमा केही सन्देश दिन तयार रहेका देखिन्छन् । 

पङ्खाको हावाले ती पानाहरुलाई फरर बनाएर पल्टाइदिन्छ । सबैका दर्दनाक कथा र कहानीले भरिएका ती किताब पढ्न सकिने जीवन गाथा नै छैनन् । उफ् ! एक तमासले मलाई पढिदिनका लागि आग्रह गरिरहे जस्तो लाग्छ । धेरै कथा धेरै व्यथा सुन्नै नसकिने, खप्नै नसकिने उच्चारण नै गर्न नसकिने यी जीवन कहानीका रुपहरु ।

भावुक बनाइदिने कहानीहरुका आग्रहमा म सबैका किताबका शीर्षक मात्र पढ्ने प्रयास गर्छु ।

'आफ्नै बाबुले बलात्कार गरी गर्भवती भएपछि घरबाट निकालिएकी छोरी' 

'आफन्तको साथ नपाएर गरिबीको चरम मारमा पर्दा गाउँलेले बोक्सी भनी लखेटिएकी सानी'

'छोराछोरीले उपचार गराइदिन्छु भनी शहरमा ल्याई अलपत्र पारिएका आमाबाबा'

'आफन्तको सामूहिक बलात्कारको शिकार भई सडकमा मरी भनी फालिएकी नारी'

'सडकमा रात बिताउने क्रममा रातभर बलात्कृत हुँदा पीडा खप्न नसकी बौलाएकी परी'

'पैत्रिक सम्पत्तिको स्वामित्व आफूमा सारी छोराछोरीबाट घर निकाला गरिएका मातापिता'

'बाबुआमाको अकर्मन्यताले जन्मिएर बेवारिसे बनेकी छोरी'

'श्रीमानद्वारा सौता ल्याई घर निकाला गरिएकी म'

'बाटोमा लुटिएर सडकमै जीवन निर्वाह गर्ने अठोट लिएर जीवन बिताइरहेको जीवन'

'दुर्घटनामा परि अपांगता भएपछि श्रीमतीले अलपत्र पारी छोडेको हर्के' 

'सुख खोज्दै सहरमा आउँदा सडकमा भौँतारिएको म'

'जँड्याह लोग्नेको लात खान नसकी मर्न भनी हिँडेकी शान्ति'

'रोजगारीको सिलसिलामा फसाइएको जीवन'

'धर्मका नाममा लुटिएको जीवन'

'विपतले उठिबास लगाएको जीवन'

'मर्न नसकेर बौलाएको एक थान जिन्दगी'

'श्रीमानको मृत्युपछि आफलिएकी म'

'आमा र बाबु छुट्टिएपछि अलपत्र परेकी नानी'

'जन्मदै सडकमा छोडिएको बालक'

'लहैलहैमा दुर्व्यसनीमा फसेको जीवन'

'कुलतले सडकमा पुर्याएको जीवन'
'सिमाना कटाइएको जीवन' 

आदिआदि.........

सबैका पानाहरु पल्टाएर सम्पूर्ण किताब पढ्ने हिम्मत ममा थिएन । यति भएर पनि अझै सन्तान लिन आउने आसमा बाँचिरहेका जीवनहरु देखेर मन अझै अमिलो भयो । उपन्यासका पात्रजस्ता लाग्ने यी वास्तविक पात्रलाई देखेर जीवनको परिभाषा खोज्न मन लाग्यो ।

कुकुरलाई दूध भात र मासु खान दिन सक्नेले पनि परिवारका सदस्यलाई त्यागेको देखेर मानवताको परिभाषा खोज्न बाध्य पार्यो । आफ्नै बानी व्यवहारले पनि कतिपय जीवनहरु भयावह अनिश्चिततामा धकेलिएका पनि देखियो ।

सबै मुहारका शीर्षकहरुले आफूलाई वाचन गरिदिन आग्रह गरिरहे जस्तो देखियो तर  मेरो धैर्यता छुटिसकेको थियो । हरेक जीवनका जटिलता र गहिराइले मलाई छोपिसकेको थियो । मेरो देशको एउटा कुनामा कसैको जीवनले केही चिजको याचना गरिरहेको थियो । हुनत न त्यहाँ कुनै संभावना देखेको थियो न आशा जीवित थियो तर पनि परिस्थितिले समृद्ध नेपाल सुखी नेपालीको अर्थ खोजिरहेको थियो । 

भुक्भुके उज्यालो भएसँगै भौतिक विकासले गिज्याइरहेको थियो । चिल्ला सडक, भव्य भवन, विलासी गाडी लगायतका भौतिक विकासको चङ्गुलभित्र केही सम्भ्रान्त वर्गको हातमा सामाजिक विकास जिंग्रिङ भएर ओइलाइरहेको थियो ।

उसलाई हेरेर कसैले गिज्याइरहेको थियो । विकासले फड्को मारिसकेको अवस्थामा यसको काम छैन । समाज समृद्ध भइसकेको छ । कोही जनता भोकै पर्ने छैन कोही नाङ्गै हुने छैन । बिचरा उ निरीह थियो चूपचाप थियो । तर परिस्थितिले विकासको परिभाषा मागिरहेको थियो । केही थान शरीरले जिन्दगी खोजिरहेका थिए ।

 

अन्तिम अपडेट: पुस २९, २०७८

तपाईको प्रतिक्रिया