रातो मच्छिन्द्रनाथको रथजात्रा सञ्चालन गर्न सुरक्षा मापदण्डसहितको खाका तयार

 भदौ ९, २०७७ मंगलबार १०:२:४२ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोना सङ्क्रमणका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा संचालन गर्नको लागि सुरक्षा मापदण्ड सहितको खाका तयार भएको छ ।  कोरोनाका कारण रथजात्रा अनिश्चित भइरहेको अवस्थामा रथयात्रासँग सम्बन्धित महत्वपूर्ण पूजा मात्र गर्ने गरी खाका तयार गरिएको हो ।

आउँदो असोज २ पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले रथयात्रा आउँदो असोज २ गतेसम्ममा सकाउनु बाध्यताका कारण मच्छिन्द्रनाथका पुजारी, ज्योतिषसहित सरोकारवाला गुथियारहरुले विधिमात्र पूरा गर्ने गरी रथयात्राका लागि खाका तयार गरेका हुन् ।

रथ तानिने  रुटमा  जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु, निषेधाज्ञा वा ५० मिटर वरपर मानिस नराख्ने व्यवस्थाको सुझावसहित भीडभाड नहुने गरी परम्परा,  धर्म र सांस्कृतिक दृष्टिले नगरी नहुने पूजा मात्र गर्ने गरी खाका तयार गरेको दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताउनु भयो । विगतमा साँझमा तानिने रथ यसवर्ष विशेष परिस्थितिका कारण बिहान तान्नको लागि खाकामा प्रस्ताव गरिएको छ ।

पुल्चोकबाट रथ तानेर गाःबहालमा पुर्याएपछि त्यहाँ गरिनु पर्ने वैष्णवी देवीको पूजा,  बन्धुदत्त बज्राचार्यका सन्तानहरुले गर्नु पर्ने गुरुपूजा र बसुन्धरादेवीको पूजा गरिने जोशीले बताउनु भयो । पूजापछि त्यही दिन नै  रथ तानेर सुन्धारा पुर्याइने लक्ष्य राखिएको छ । रथलाई मङ्गलबजारमा आधा घन्टा जति रोकेर मल्लराजाहरुबाट गरिनुपर्ने व्हखु नदी पार लगाउने पूजा गरेर सुन्धारा पुर्याइने खाकामा उल्लेख गरिएको  उहाँले बताउनु भयो ।

यसपालि रथयात्रा जति सक्यो त्यति छिटो सकाउनु पर्ने बाध्यता भएकोले पहिले गाःबहालबाट मंगलबजार हुँदै दुई दिन लगाएर रथ तानेर सुन्धारा पुर्याउँदै आएकोमा यसपालि एकदिनमा पुर्याइने लक्ष्य लिएको छ । रथ सुन्धारामा पुर्याएपछि बाराहीहरुले गर्नु पर्ने स्वस्ति होम गरेर भोलिपल्ट नै लगनखेलतिर तानिने छ । विगतमा सुन्धारामा रथ पुगेको ३ देखि ४ दिनभित्र लगनखेल पुर्याइने गरिन्थ्यो।

रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरे त्यही रात महाबली पूजा गरिने दैवज्ञ ज्यातिष कीर्तिमदन जोशीले बताउनु भयो। महाबली पूजा सकिनासाथ बिहान रथ तानेर थति टोलमा पुर्याएर बाराहीहरुको देवाली पूजा र रथ जावलाखेलतिर तानिने साइत हेरिनेछ ।

त्यस्तै परम्परा अनुसार कीर्तिपुरमा मच्छिन्द्रनाथको प्रसाद दिन पठाउने र साइतमा रथ जावलाखेलमा पुर्याएर त्यसको चौथो दिनमा मूर्तिलाई रथबाट निकालेर बुङ्गमती लैजाने गरी खाका तयार भएको उहाँले बताउनु भयो।

धेरै मानिसको भीड हुने छ्वयलाःभू,  भुज्या,  नरिवल खसाल्ने र भोटो जात्रालाई कटौती गरेर धार्मिक विधिअनुसार अनिवार्य पूजा मात्र गर्ने गरी  खाका तयार भएको पुजारी कपिलदेव बज्राचार्यले बताउनु भयो। खाकामा रथ तान्नको लागि ९० देखि १०० जना व्यक्तिलाई स्वीकृति दिने र रथ तान्ने व्यक्तिहरुले  आफ्नो स्वास्थ्य मापदण्ड  पूरा गरेर रथ तान्न दिने उल्लेख गरेको छ । स्वास्थ्य सुरक्षाको लागि चाहिने मास्क,स्यानिटाइजर र पञ्जाको व्यवस्थापनका लागि ललितपुर महानगरपालिकालाई अनुरोध गर्ने बज्राचार्यले बताउनु भयो।

त्यस्तै रथ तानिने रुटमा विजुलीको तारलगायत व्यवस्थित गर्ने, सडक मर्मतलगायतको कामका लागि समन्वय महानगरपालिकाले गर्नेछ भने रथ तान्नको  लागि आवश्यक जिन्सी तथा अन्य सामाग्री व्यवस्थापनको जिम्मा गुथि संस्थानले गर्ने उहाँले बताउनु भयो। त्यस्तै उहाँका अनुसार शान्तिसुरक्षाको सबै व्यवस्था जिल्ला प्रशासनले मिलाउनको लागि अनुरोध गरिनेछ।

यस खाकाअनुसार रोकिएको रथजात्रा संचालन गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री केपी शर्मा ओली,  गुथि संस्थान केन्द्रीय कार्यालयसहित ललितपुर शाखा,  जिल्ला प्रशासन कार्यालय ललितपुर,  ललितपुर महानगरपालिका लगायत विभिन्न निकायलाई पत्राचार गरिएको दैवज्ञ ज्योतिषी कीर्तिमदन जोशीले बताउनु भयो।

गएको चैत २७ गते रातो मन्छिन्द्रनाथको महा-स्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना सङ्क्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो। अहिले रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा राखिएको छ।    

अन्तिम अपडेट: चैत ३०, २०८०

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया