‘परीक्षणको दायरा बढाएर मात्रै कोरोनासँग लड्न सकिँदैन’

 भदौ ११, २०७७ बिहिबार १०:३:२९ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ लगायत कोरोना भाइरसको सङ्क्रमण बढी देखिएका जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । देशभर सङ्क्रमितको संख्या बढ्दै जाँदा सरकारले गम्भीर बिरामीबाहेक अरुलाई सकेसम्म भर्ना नै नलिन अस्पतालहरुलाई भनेको छ । 

सबैको होम आइसोलेशनमा बस्न सक्ने अवस्था नरहेकोले लक्षण नभएका सङ्क्रमितलाई राख्ने आइसोलेशनको व्यवस्थापन गर्ने काम सरकारको हो । निषेधाज्ञाको यो समयमा सरकारले रोकथाम र नियन्त्रणका लागि आवश्यक रणनीति बनाएर काम अघि बढाउनुपर्ने हुन्छ ।  त्यसका लागि सरकारी प्रयास कस्तो छ ? टेकमान शाक्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीसँग कुराकानी गर्नुभएको छ ।

कोरोनाको सङ्क्रमण उच्च भएका जिल्लामा निषेधाज्ञा थपिने क्रम जारी छ । रोकथाम र नियन्त्रणका लागि यो बीचमा के के काम भयो ?

निषेधाज्ञा अहिले विभिन्न ठाउँमा थपिँदै छ । जहाँ कोरोना सङ्क्रमण बढ्दैछ, त्यो ठाउँमा निषेधाज्ञा गरिएको हो । यो समयमा एकातिर नागरिकले पालना गर्नुपर्ने नियम छ भने अर्कोतिर सरकारको तर्फबाट गर्नुपर्ने तयारीको कुरा छ । यो अवधिमा सरकारको तर्फबाट अस्पतालको सुदृढीकरण गर्ने, आइसोलेशन सेन्टरहरु थप गर्दै लैजाने कामहरु भैरहेका छन् ।

देशभर आईसीयू र भेन्टिलेटर कतिको पर्याप्त छ ?

देशभर आईसीयू २६ सयको हाराहारीमा छ । भेन्टिलेटर ९ सयको हाराहारीमा छ । भएकामध्ये सबै कोरोना सङ्क्रमितको प्रयोगमा आएका छैनन् । केही आईसीयू र भेन्टिलेटर अरु बिरामीका लागि पनि प्रयोगमा ल्याइएको छ । तर सङ्क्रमित बढ्दै गए भने भएका सबै आईसीयू र भेन्टिलेटरलाई कोरोना सङ्क्रमितका लागि मात्रै प्रयोगमा ल्याउनुपर्ने अवस्था आउन सक्छ । यसभन्दा बाहेक थप अरु पूर्वाधार तयार गर्ने कामहरु भैरहेका छन् ।

यति समयभित्रमा यति व्यवस्थापन गर्ने भनेर तयारी गर्नुभएको होला नि ?

हाम्रो पहिलो प्राथमिकता सङ्क्रमणको रोकथाम नै हो । जसरी अहिले आम नागरिकले दुःखकष्ट सहेर व्यवहारहरु गरिरहनुभएको छ, त्यही कुराहरुको निरन्तरता भयो भने सङ्क्रमण थप भयावह हुन पाउँदैन ।

यस्तो अवस्थामा हामीले अस्पतालहरुमा बेड थप्ने काम गरेका छौं । काठमाण्डौ उपत्यकामा मात्रै ६ हजार बेडसहितको व्यवस्थापन गर्ने तयारीसहित काम सुरु भएको छ । काठमाण्डौ उपत्यकाभन्दा बाहिरका अस्पतालमा पनि बेड विस्तार गर्ने, आइसोलेशन सेन्टर थप गर्ने लगायत कामहरु भैरहेको छ ।

सरकारले गम्भीर बिरामीलाई मात्रै भर्ना लिने भन्न थालेको छ । यसमा कतै न कतै हाम्रो पूर्वाधार कम छ, अहिलेको पूर्वाधारले मात्रै कोरोनासँग लड्न कठिन छ भन्ने संकेत त सरकारले नै दिइरहेको छ नि हैन ? 

हामीले सबैलाई पुग्ने गरी पूर्वाधार खडा गर्न सकिसकेका छौँ भन्न चाहिँ अलि गलत हुन्छ । हामीसँग स्रोत र साधन निक्कै कम छ । हामीसँग अहिले पैसा नै भए पनि सामान पाउन सक्ने अवस्था छैन । 

सरकारले सबै सङ्क्रमितलाई अस्पताल भर्ना नगर्नु भन्नुको अर्थ चाहिँ हामीसँग अस्पतालमा पूर्वाधार नभएर मात्रै भएको हैन । हामीले जति पनि सङ्क्रमितलाई अस्पताल ल्याएर राख्यौँ, उहाँहरु सङ्क्रमण पुष्टि भएपछि अस्पताल जानुभयो, १४ दिनसम्म अस्पताल बस्नुभयो, तर उहाँहरुबीच कुनै उपचार नै गरिएन । 

यही क्रम बढ्दै गयो भने अस्पतालमा रहेको धेरै ओगट्ने हुन्छ । जसले अरु सेवा लिनेहरुलाई समस्या बनाउँछ । स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित हुने क्रम बढ्नेछ । सबै सेवाहरु प्रभावित पार्ने भएकोले सङ्क्रमणको चक्र रोक्नका लागि पनि हामीले गम्भीरबाहेक अरुलाई सम्भावना छ भने होम आइसोलेशनमा बस्न आग्रह गरेका हौँ । कतिपय अस्पतालमा बस्नुभएका कोरोना सङ्क्रमितहरुले होम आइसोलेशनमै बस्ने आशय व्यक्त गर्नुभएकोले हामीले यस्तो सर्कुलर जारी गरेका हौँ ।

सरकारले पछिल्लो समय लक्षण नभएका तर सङ्क्रमण भएका, जसले सङ्क्रमण अरुलाई सार्न सक्ने सम्भावना हुन्छ, घरपरिवार र सम्बन्धित सङ्क्रमित व्यक्ति स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा सङ्क्रमणको चक्र रोक्न सक्ने गरी विभिन्न मापदण्डसहित गम्भीर खालका बिरामीलाई मात्रै अस्पतालमा भर्ना लिन भनेका हौँ ।

काठमाण्डौमा धेरै परिवार एउटा कोठा लिएर एकै ठाउँमा बसिरहेका छन् । ग्रामिण भेगमा पनि एक्लै/एक्लै बस्न धेरै कोठाहरु छैनन् । लक्षण नभएका कतिपय सङ्क्रमित व्यक्ति यी कारणले होम आइसोलेशनमा बस्न सक्ने अवस्था नै छैन । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने ?

लक्षण नभएका सबै कोरोना सङ्क्रमितलाई घरमै बस्नुस् भनेर हामीले बाध्यकारी अवस्था सिर्जना गराए कै छैनौँ । अस्पतालमा भर्ना गर्दा आफू बिरामी भएको महशुस गर्ने र मानसिक समस्याहरु आइपर्ने भएकोले पनि हामीले यस्तो निर्णय गरेका हौँ ।

कोही सङ्क्रमित व्यक्ति घरमा बस्दा स्वस्थ अनुभव गर्न सक्छन् भने उनीहरुलाई घरमै राख्ने भनिएको हो । जसको घरमा बस्न सक्ने अवस्था नै छैन भने त्यस्ता सङ्क्रमितहरुले हामीलाई स्पष्ट रुपमा भन्नुपर्छ, उहाँहरुलाई हामी व्यवस्थापन गछौँ । कुन आइसोलेशन सेन्टरमा उहाँलाई राख्दा ठिक हुन्छ हामी त्यही अनुसारको निर्णय गछौँ । 

अर्को कुरा भनेको सङ्क्रमित बढ्दै जाँदा सबैलाई राख्ने ठाउँको अभाव हुन सक्ने भएकोले पनि होम आइसोलेशनमै बस्न सक्ने अवस्था भएकाहरुलाई भर्ना नलिनु भनिएको हो । अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन भन्नेहरुलाई हामीले त्यतिकै छाडेका छैनौँ । व्यवस्थापन गरिरहेकै छौँ ।

होम आइसोलेशनमा बस्न मलाई समस्या छ, मलाई सरकारले नै व्यवस्था गरेको आइसोलेशनमा व्यवस्थापन गर्नुपर्छ भन्नेहरुका लागि अहिलेको पूर्वाधार कत्तिको सहज र पर्याप्त छ ?

अहिलेसम्म त हामीले व्यवस्थापन गरिरहेकै छौँ । पछिल्लो हप्तामा मात्रै हामीले थुप्रै ठाउँमा व्यवस्थापन गरेका छौँ । काठमाण्डौमा मात्रै ६ हजार सङ्क्रमितलाई राख्ने लक्ष्य प्राप्तिका लागि कामहरु भैरहेको छ । आवश्यकता अनुसार हामी व्यवस्थापन गर्दै जान्छौँ ।

अब परीक्षणको कुरा गरौँ न, अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाभन्दा पहिले र अहिले कत्तिको फरक काम गर्न सक्नुभएको छ ?

परीक्षण गर्ने भनेको शंकास्पद व्यक्तिहरुलाई नै हो । परीक्षण निक्कै महँगो छ । परीक्षणका लागि आवश्यक सबै सामग्री विदेशबाट ल्याउनुपर्ने हुन्छ । सङ्क्रमित व्यक्तिहरुको पहिचान सकेसम्म चाँडो गर्नुपर्ने हुन्छ । सङ्क्रमित सबैलाई आइसोलेट गरेर राख्न सक्यो भने सङ्क्रमणको चक्र रोक्न सक्छौँ ।

हामीले भने अनुसारको स्रोत साधनको उच्च प्राथमिकिकरण गरेर परीक्षण गरिहाल्नुपर्ने व्यक्तिहरुलाई परीक्षण गरिरहेका छौँ । हामीसँग अहिले ४२/४३ वटा प्रयोगशालाहरु छन् । केही प्रयोगशालाहरु छिट्टै सञ्चालनमा आउनेगरी जडान भैसकेका छन् । अहिले हाम्रो दैनिक परीक्षण गर्ने क्षमता २२ हजारको हाराहारीमा छ । दैनिक १२ हजारको हाराहारीमा परीक्षण भैरहेको छ । 

यतिका समयसम्म पनि सरकारले परीक्षणको दायर बढाउन सकेन भन्ने गुनासा पनि छन् नि ?

परीक्षण मात्रै सङ्क्रमण न्यूनीकरणको विकल्प होइन । परीक्षण, खोप र उपचार पनि होइन । जतिखेर नमुना लिइएको हुन्छ, त्यो समयमा कोरोना पुष्टि भएन भने शरीरमा भाइरस भएको तर सक्रिय नभइसकेको अवस्था पनि हुन सक्छ । नमुना दिएर फर्किएर आउने क्रममा बाटोमा सङ्क्रमण सरेको पनि हुन सक्छ । 

सबैले बुझ्नुपर्ने कुरा परीक्षणको दायराभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिएको छ कि छैन भन्नेमा केन्द्रीत हुनु नै निर्विकल्प उपाय हो । जुन खर्चिलो, जोखिम केही पनि छैन । एकले अर्को व्यक्तिलाई कोरोना सङ्क्रमितको नजरले हेरेर सजग बन्ने हो भने कोरोनाको सङ्क्रमण न्यूनीकरण गर्न सहज छ भन्ने लाग्छ । म फेरि पनि भन्छु की परीक्षणको दायरा बढाएर मात्रै कोरोनासँग लड्न सकिँदैन । 

पछिल्लो समय पहुँच भएका मानिसको घरघरमा गएर पीसीआर परीक्षण गर्ने अनि पहुँच नभएका व्यक्तिमा चाहिँ परीक्षणको पहुँच नै नपुग्ने गरेको गुनासो पनि आइरहेका छन् नि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठाउँ नै तोकेर बेलाबेलामा सार्वजनिक सूचना पनि सार्वजनिक गरिरहेकै छ । परीक्षण भन्ने कुरा गर्न मन लागेर गर्ने कुरा होइन । परीक्षण गर्नुभन्दा अगाडि या त्योभन्दा पछाडि पनि सङ्क्रमण हुन सक्छ भन्ने कुरालाई हामीले हेक्का राख्नुपर्छ । परीक्षण गर्नुपर्ने अवस्था हुँदा सम्बन्धित पालिकासँग सम्पर्क गरेर उहाँहरुले नेशनल टेष्टिङ गाइडलाइन भित्रको जोखिममा हुनुभएका व्यक्तिले परीक्षण गर्न सक्नुहुन्छ । 

नमुना परीक्षणका लागि तोकिएका सरकारी अस्पतालहरुमा पनि सम्पर्क गर्न सकिन्छ । जिल्ला स्वास्थ्य कार्यलय र स्थानीय स्वास्थ्य कार्यालयमा पनि सम्पर्क गर्न सकिन्छ । उहाँहरुले कहाँ जाने र कसरी परीक्षण गर्ने भन्नेबारे परामर्श गर्न सहयोग गर्न सक्नुहुन्छ । कसैको परीक्षण गर्ने र कसैको नगर्ने भन्ने बिल्कुलै हुँदैन र भएको जस्तो पनि लाग्दैन ।

‘कन्ट्याक्ट ट्रेसिङ’ को काम चाहिँ कसरी भइरहेको छ ? 

जोखिम अलि धेरै भएका ठाउँहरुमा ‘कन्ट्याक्ट ट्रेसिङ’ को कामलाई प्राथमिकता दिएका छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली नै बनाएर ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम गरिरहेका छौँ । ‘कन्ट्याक्ट ट्रेसिङ’ को काममा पनि पहुँच हुने र नहुने भनेर छुट्याएका छैनौँ । अझै पनि म परीक्षण नै सबैथोक होइन भनेर विश्वस्त पार्न चाहन्छु । 

परीक्षण गर्ने बित्तिकै अब कोरोना लाग्दैन, कोरोनाबाट मुक्ति पाएँ भन्नु नै गलत छ । परीक्षण धेरै गरेर राज्यको खर्च मात्रै बढाउने भन्दा पनि हाम्रा व्यवहार सुधार गरेर नै कोरोनालाई जित्न सकिन्छ । कोरोना सङ्क्रमण जुनसुकै समयमा पनि हुन सक्छ भनेर आफ्ना व्यवहारहरु सुधार गरौँ भन्न चाहन्छु । 

अन्त्यमा, साढे ३ महिनासम्म आम नागरिकले सास्ती खेपे पनि लकडाउनको समयलाई त्यति उपलब्धिमूलक बनाउन सकेनौँ । निषेधाज्ञाको समयलाई उपलब्धिमूलक बनाउन के गर्दै हुनुहुन्छ ?

कोरोनाले कसैलाई पनि छाड्दैन । निषेधाज्ञा अथवा लकडाउन जे गर्दा पनि आम नागरिकलाई गाह्रो चाहिँ पक्कै भएकै छ । तर त्यो गाह्रो हामी सबैको फाइदाका लागि हो भनेर बुझौँ । केही समय सास्ती खेपेर भए पनि वातावरण सहज बनाउनुपर्छ भन्ने हो । मानिसको आवतजावतलाई नियन्त्रण गर्न नसकेको भए सङ्क्रमणको रुप निक्कै ठूलो भैसकेको अवस्था हुन्थ्यो । 

एकातिर सङ्क्रमणको चक्र रोक्नुपर्ने छ भने अर्कातिर जिम्मेवार निकाय र पदाधिकारीहरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुदृढीकरण गर्दै लैजानुपर्ने, चाहिने सामानहरुको व्यवस्थापन गर्दै लैजानुपर्ने अवस्था छ । हामीले आवश्यक सबै पाटोलाई मिलाएर लैजाने काम गरिरहेका छौँ । 

तर सङ्क्रमणको दर हाम्रो तयारीभन्दा बढि हुन्छ कि भन्ने डर पनि छ । सङ्क्रमणको दर र हाम्रो तयारीको अनुपात मिल्दै जान सक्यो भने चाहिँ कोरोनाविरुद्धको लडाईं विस्तारै विस्तारै जित्दै जान सक्ने अवस्था हुन्छ । त्यसैका लागि हामी लागि परेका छौँ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया