'सार्वजनिक गाडी व्यवस्थापन गर्न गृहकार्य थालाैं,  महामारीमा मात्रै होइन अरु बेला पनि काम लाग्छ'

 भदौ १३, २०७७ शनिबार १६:३४:४२ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ  - कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न भन्दै  चार महिनासम्म लकडाउन भयो । काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन चल्न थाले । तर सामाजिक दूरी, मास्क, स्यानिटाइजर अनिवार्य गरी गाडी चलाउन पाइने भने पनि  त्यसको कार्यान्वयन राम्ररी भएन ।

जोखिम बढेको भन्दै फेरि निषेधाज्ञा जारी भयो । अहिले अत्यावश्यक बाहेकका गाडी चलाउन पाइँदैनन् र चलेका पनि छैनन् । अब महामारीको समयमा सार्वजनिक गाडीलाई व्यवस्थित र सुरक्षित तरिकाले चलाउन के कस्ता कुरामा सुधार गर्न सकिन्छ भन्ने विषयमा उज्यालो सहकर्मी मल्लिका थापाले ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलसँग कुराकानी गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सार्वजनिक यातायातलाई कसरी सुरक्षित गर्न सकिन्छ ? 

सार्वजनिक यातायातमा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उचित व्यवस्थापन गर्न जरुरी छ । अरु देशको अभ्यास अनुसार नै हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाइरहेका छौं । विश्व स्वास्थ्य संगठनले पनि आफ्नो एउटा मापदण्ड बनाएको छ । एक अर्काबीच दुई मिटर भौतिक दूरी काय गर्नुपर्ने भनिएको छ । तर सार्वजनिक गाडीमा कम्तिमा १ मिटर दूरी कायम गर्न पर्छ । यस्तै यात्रु चढ्दा र ओर्लदा हातमा स्यानिटाइजर लगाउने व्यवस्था हुनु पर्छ । मास्क सबैले लगाउनु पर्छ । चालक र सहचालकले भने सकेसम्म पिपिइ लगाउने व्यवस्था हुनुपर्छ हाेइन भने मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । 

यसैगरी टिकट किनबेच गर्दा एक मिटर दूरी कायम गर्ने र यात्रुले पनि गाडी चढ्दा एक मिटर दूरी कायम गर्नै पर्छ । यस्तै हरेक ट्रिपपछि गाडी स्यानिटाइज गर्न सक्नुपर्यो । यस्ता सबै स्वास्थ्य सुरक्षाका मापदण्ड ठूलो बसको हकमा लागू हुनुपर्छ तर माइक्रो बस, ट्याम्पाे लगायतका साना गाडीमा भौतिक दूरी कायम गर्न नसकिने हुनाले अहिलेको  समयमा चलाउन हुँदैन । 


भिडभाड गर्न नहुने भएपछि महामारीको समयमा हामीसँग उपलब्ध सार्वजनिक गाडी कसरी व्यवस्थापन गर्ने त ?

यसको लागि सरकारसँगै नागरिक पनि जिम्मेवार हुनपर्छ । मानिसले हिँडडुल कम गर्नुपर्छ जसले गर्दा ट्राभल डिमाण्ड  कम हुन्छ । त्यसैले सरकारले नागरिकलाई अनलाइनबाट काम गर्न प्रोत्साहन गर्ने कार्यक्रम अघि सार्नुपर्यो । अहिले विद्यालय, क्याम्पस लगायतले गरिरहकेको अनलाइन पढाउने कामलाई निरन्तरता दिनु पर्यो । त्यसपछि सार्वजनिक यातायातको डिमाण्ड घट्छ र जति पनि गाडी उपलब्ध छन् ती गाडीले सेवा दिन सक्छन् । 

यसअघि नै यात्रुले  गाडीको ढोकामा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता थियो तर अब गाडीमा यात्रु कम राख्ने भएपछि उनीहरुलाई समस्या हुँदैन ?

यात्रुले सार्वजनिक यातायात चढ्दा अहिलेसम्म यो सेवा हो भन्ने अनुभूति नै गर्न पाएका छैनन् । राजधानी जस्तो ठाँउमा गुन्द्रुक कोचिएझैं कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । चालकले यात्रु नभरिएसम्म गाडी गुडाउँदैनन् । किनभने हामीसँग राज्यले निर्धारण गरेको समय तालिका छैन । एउटा स्टेसनबाट अर्को स्टेसन यतिबेलासम्म पुग्नुपर्छ भन्ने कुनै निश्चित तालिका छैन ।  

अहिलेको अवस्थामा पनि यदि गाडी चल्ने हो भने आफ्नो गन्तव्यका लागि समयमा पुग्नुपर्ने , काम गर्नुपर्ने बाध्यताले हामी हाम्रो पहुँचमा जुन सजिलो र छिटो हुन्छ त्यही चढ्छाैं । त्यसैले जबसम्म सरकारले सार्वजनिक यातायातमा लगानी बढाएर व्यवस्थित तरिकाले सञ्चालन गर्न सक्दैन तबसम्म यो भद्रगोलको अवस्था रहिरहन्छ । यात्रु नै मारमा पर्ने हो । त्यही भएर प्रणालीगत सुधार आवश्यक छ ।

काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा हटेपछि सार्वजनिक गाडी चलाउँदा वा चढ्दा के–के कुरामा ध्यान दिन पर्छ ?

हामीले रोग सङ्क्रमणको जोखिम कम गर्नका लागि गर्नसक्ने भनेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु नै हो । यसअघि पनि चारमहिना लामो लकडाउन खुलेपछि भद्रगोल तरिकाले नै गाडी गुडे । सुरुमा यात्रु नै चढेनन् गाडी खाली नै चल्यो । तर बिस्तारै भिडभाड हुन थाल्यो । न भौतिक दूरी कायम भयो न मास्क सही तरिकाले लगाइयो न त स्यानिटाइजर नै प्रयोग भएको देखियो ।​

निजी क्षेत्रबाट सञ्चालित प्राय सार्वजनिक गाडी नाफमुखि छन् । जति यात्रु आए पनि राख्ने प्रयास उनीहरुको हुन्छ । त्यसैले सार्वजनिक गाडीमा सरकारको पर्याप्त लगानी भएन । सरकारको लगानी हुन्थ्यो भने सरकारले ल्याएको नीति नियम पनि सजिलै पालना गराउन सकिन्थ्यो । तर भइदियो के भने, सरकारले नीतिनियम बनाउने निजी क्षेत्रलाई पालना गर्न लगाउने हुँदा धेरै अटेरी भए । नाफामुखिलाई कमाउने श्रोत घटाएर नियममा बाँध्नु त असम्भव नै हुन्छ । 

त्यही भएर अहिले बन्दको बेला छ, यो समयमा गृहकार्य गरेर व्यवस्थाप गर्दे लैजानुपर्छ । यो उपयुक्त समय हो, हामीले फेरि टार्यौ भने यातायात क्षेत्र सुधार्ने कुरा कल्पना मात्रै हुन्छ । जहाँसम्म रोग सङ्क्रमणको जोखिम कम गर्नुपर्ने कुरा छ, त्यसमा त स्वास्थ्य सतर्कतासँगै आफैले आफ्नो लागि नियम बनाउने अनि पालना गर्ने गर्नुपर्छ । 
 

तपाईंले भने अनुसार यातायात क्षेत्र सुधार्न सरकारले के गर्नुपर्छ ?

सुरुमा सरकारले कम्पनी बनाउनपर्छ । अनि अहिलेका व्यवसायिक यातायातलाई कम्पनीमा लैजाने र उनीहरुको लगानीको पनि सुनिश्चितता गर्ने काम राज्यले गर्नुपर्यो । राज्यको लगानी र निजी क्षत्रको लगानी एकीकृत गर्न सकियो भने यातायात व्यवस्थापन चुस्त बनाउन सकिन्छ ।

यस्तै कम्पनीको माध्यमबाट एकीकृत समय तालिका, एकीकृत योजना , एकीकृत टिकेटिङ सिष्टम नबनाएसम्म यातायात क्षेत्र व्यवस्थित हुँदैन । सार्वजनिक गाडी व्यवस्थापन गर्न ढिलो भइसक्यो । अहिले गृहकार्य थाले महामारीमा मात्रै होइन अरु बेलामा पनि काम लाग्छ ।

अन्तिम अपडेट: कात्तिक १, २०७७

मल्लिका थापा

उज्यालाेमा कार्यरत मल्लिका थापा सडक र सवारी विधामा कलम चलाउनु हुन्छ ।

तपाईको प्रतिक्रिया