कोरोना कहरमा पीडित मनोविज्ञान

 भदौ १३, २०७७ शनिबार ८:४०:२३ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - कोरोनाका कारण कांग्रेसका काठमाण्डौ महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष गोविन्द रञ्जितको निधन भएको सूचनासहित नेपाली कांग्रेसका जिल्ला सभापतिले श्रद्धाञ्जली दिँदै फेसबुकमा पोष्ट गरेपछि त्यसलाई आधिकारिक ठानेरै होला क्षणभरमै सामाजिक सञ्जाल श्रद्धाञ्जलि सन्देशले भरिन पुग्यो । 

क्षणभरमै सयौँले आ-आफ्नै ढंगबाट श्रद्धाञ्जलि बाँडिसकेपछि जिज्ञासुहरुको प्रश्नको जवाफ दिँदादिँदै बाध्य भएर केन्द्रीय सदस्य रहेका ध्यानगोविन्द रञ्जितले पार्टीको आधिकारिक लेटरप्याडमै मृतक आफ्नो मामाको छोरा (भाइ) रहेको स्पष्टीकरणसहित शोक सन्देश निकाल्नु भयो । 

यसबीच उहाँहरु जिल्ला सभापति र केन्द्रीय सदस्यमाथि कति दबाब पर्यो होला भनेर अनुमान गर्न मात्रै सकिन्छ । तर सिक्काका दुई पाटामा हुने अकाट्य सत्यझैँ यस दूर्भाग्यपूर्ण दुःखद् समाचारबाट पनि एउटा नयाँ सञ्चार सन्देश दिन सफल रह्यो । 

त्यसपछिका दिनमा कोरोना सङ्क्रमितहरुका नाम गोप्य राख्नैपर्ने अनिवार्यता हट्न पुग्यो । नभन्दै त्यसपछिका दिनमा कोरोना सङ्क्रमितका साथै निधन हुनेहरुका नाम पनि बिस्तारै सार्वजनिक हुन थालेको छ । अब त उपप्रधानमन्त्री, गृहमन्त्री, सांसददेखि खर्बपतिसम्मका नामहरु सङ्क्रमितका रुपमा सार्वजनिक हुन थालेका छन् । 

निधन भएका गोविन्द जन्मजात कांग्रेस हुनुहुन्थ्यो । काठमाण्डौको मजिपात टोलमा वीर गणेशमानका अनुयायीका रुपमा २०१५ सालभन्दा अगाडि नै एक जमात् शूरवीर युवाहरु कांग्रेसी भएका थिए । त्यस जमातमा दुर्गादास रञ्जित, विष्णु नेपाली, तःभाई रञ्जितहरु युवा अगुवा भएर २०१५ सालमा सम्पन्न प्रथम आमनिर्वाचनमै नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएका गणेशमान सिंहको चुनाव प्रचारमा लागेका थिए । 

दुर्गादास चुनाव प्रचार सचिव नै बन्नुभएको थियो भने गणेशमान सिंह मन्त्री हुँदा स्वकीय सचिव पनि हुनुभएको थियो । ०१७ साल पुस १ गतेका दिनमा तत्कालीन राजा महेन्द्रले संसदीय प्रजातान्त्रिक व्यवस्था भंग गरेर सैनिक बलमा शासन सत्ता हत्याएको घटनापछिका दिनमा भएका विभिन्न विरोध प्रदर्शनमा भाग लिएर ती सबै युवाहरु जेल परेको र विभिन्न यातना भोगेको “नेपालको राजनीतिक दर्पण” मा गृष्मबहादुर देवकोटाले उल्लेख गर्नुभएको छ । यो युवा जमातकापछि त्यही टोलका ध्यानगोविन्द रञ्जित पनि थपिनुभएको थियो । 

ध्यान गोविन्दको दोस्रो पुस्तापछि कांग्रेसको भूमिगत शैलीको गतिविधिमा मजिपात टोलबाट तेस्रो पुस्ताका रुपमा गोविन्द देखा पर्नुभयो । तात्कालीन शाही नेपाल वायुसेवा निगमका प्रख्यात मेकानिक्स वसन्त रञ्जितका माइलाप पुत्रका रुपमा गोविन्द राजनीतिक जमातमा परिचित हुँदै गएका थिए । 

तिनै रञ्जित परिवारले राजधानीको नयाँ सडकमा रहेकाे पीपलबोट अगाडि एउटा चर्चित “यति भोजनालय” सञ्चालनमा ल्याएपछि देशभरीका कांग्रेसीहरुको भेटघाट र भोजन गर्ने केन्द्र त्यहीँ हुन पुग्यो र त्यसबाट झनै जनसम्पर्क बढ्न पुग्यो । अहिले कांग्रेसका नेता भएकामध्ये थोरै नयाँ पुस्ताकाले मात्रै त्यहाँ भोजन नगरेका होलान् । 

०४६ सालको जनआन्दोलनपछि पुनस्र्थापित भएको बहुदलीय प्रजातान्त्रिक व्यवस्था अन्तर्गत भएका स्थानीय निर्वाचनहरुमा पटक-पटक वडाध्यक्षका लागि प्रत्याशी भएका गोविन्द कहिल्यै विजयी हुन सक्नुभएन । तर स्थानीय पार्टी नेतृत्वमा भने कायम रहनुभयो । दुई कार्यकाल ध्यानगोविन्द रञ्जित संविधानसभाको सदस्य हुँदा उहाँका स्वकीय सचिव भएर जिम्मेवारी पूरा गरेका गोविन्दले आफूलाई वडाध्यक्ष भन्दामाथि कहिल्यै सोच्नुभएन । 

कोरोनाका कारण गोविन्दको निधन भएको अप्रत्याशित खबर पढेपछि शिक्षक सुन्दर पन्तले लेख्नुभएको छ-“जीवनभर कांग्रेस कांग्रेस भनेर हिँड्नु भयो, चारतारे झण्डाले सम्मान गर्न सकिएन ।” यी शब्दहरुका भावले वर्तमानमा आममानिसका मुटुमा शूलले झैँ घोचिरहेका छन् । कोरोना पीडित भएर मृत्युवरण गर्नु कति पीडादायक हुने रहेछ भनेर यसले महशुस गराइरहेको छ । 

यसरी सङ्क्रमित र सङ्क्रमणका कारण निधन हुनेका नाम सार्वजनिक भएसँगै समाजमा सङ्क्रमितहरुप्रति हेरिने दृष्टि र भेदभावमा पनि बिस्तारै परिवर्तन आउने सम्भावना पनि देखिन थालेका छन् । सङ्क्रमित हुनु कुनै अपराध होइन भन्ने कुरा बुझेर समाजमा सङ्क्रमणबाट मुक्त भएर फर्केकालाई पहिले जस्तै सामान्य व्यवहार गर्नुपर्ने चेतनाले पनि व्यापकता लिनुपर्ने देखिन्छ ।

यसतर्फ पालिकाका निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारीपूर्ण विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । त्यसो भएमा पीडित मनोविज्ञानमा पनि हिनताबोध हट्दै जाने देखिन्छ । नेपाली कांग्रेसका कार्यकर्ता रहेका गोविन्दको मात्रै होइन, यतिबेला धार्मिक तथा सांस्कृतिक विरासतलाई निरन्तरता दिँदै आएको समाजका अन्य क्षेत्रका अगुवाहरुबाट पनि पीडादायी मार्मिक भावनासहितका अभिव्यक्तिहरु सुन्न पाइन्छन् । 

मृत्युपछि मृतकका परिवारलाई शव प्राप्त नहुनु र त्यस्तो परिस्थितिले गर्दा परम्परागत संस्कार र काजकिरिया पनि गर्न नपाइनु जस्ता मार्मिक गुनासाले वृद्धावस्थामा पुगेका ज्येष्ठ नागरिकहरुलाई आँशु झार्न बाध्य पारिरहेको छ । 

यसै सन्दर्भमा नेपाल हस्तकला महासंघका भूतपूर्व अध्यक्ष इन्द्र बहादुर शाक्यको गुनासो पनि त्यस्तै थियो । कोरोना सङ्क्रमणबाट निधन भएका पीडितको दाहसंस्कार बेवारिसे अवस्थामा नगरी उनीहरुको पनि सद्गत सामाजिक दूरी र आचार पालनासहित धार्मिक र सांस्कृतिक रुपमा सम्पन्न गर्न दिइनु पर्दछ भन्ने उहाँको जोड रहेको छ ।  

रोजगारीका लागि खाडी मुलुकमा रहेर कोरोनाका कारण मृत्युवरण गर्न बाध्य धेरैजसो नेपाली नागरिकहरुका पार्थिव शरीर महिनौँसम्म देख्न नपाउँदा र स्वदेशमा नपुग्दा मृतकका परिवारजनमा कस्तो मानसिक अवस्था भयो होला भनेर अनुमान पनि गर्न सकिन्न ।

कोरोना पीडितहरु दिन दुई गुना, रात चार गुनाका दरले बृद्धि भैरहेको वर्तमान अवस्थामा पीडितहरुका मनोविज्ञान बुझेर नीति निर्माण गर्ने र यसैअनुरुप व्यवहारमा कार्यान्वयन गर्नेतर्फ सरकार र सम्बन्धित अन्तर्राष्ट्रिय सरोकारवाला संघ-संस्थाहरुले ध्यान नदिनु निश्चय नै विडम्बनापूर्ण छ । 

अन्तिम अपडेट: असोज २२, २०७७

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया